सरस्वती टीका बहुमुखी क्याम्पसको भवन शिलान्यास

पोखरा, ४ बैशाख – पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित सरस्वती टीका बहुमुखी क्याम्पसको निर्माणाधिन भवन शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज एक कार्यक्रमकाबीच क्याम्पस भवनको शिलान्यास गरे । कार्यक्रममा प्रमुख जिसीले आँफूहरू राम्रो पोखरा निर्माणको अभियानमा जुटेको बताउँदै निर्माणाधिन भवनको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भौगोलिक विकटता भएका स्थानलाई विकासका लागि समेट्दै महानगर अघि बढेको उल्लेख गर्दै उनले विकासलाई निकट ल्याउने र निकटलाई राम्रो बनाउने लक्ष्यका साथ आँफूहरू कृयाशिल भएको स्पष्ट पारे ।
पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले यस क्षेत्रमा उच्च शिक्षाको समग्र उन्नयनका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।
सबैको साथ र सहयोग भएमा निर्माणाधिन भवनलाई चाँडै नै सम्पन्न गर्न सकिने उनले उल्लेख गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पीताम्बर पौडेलले सबैको साथ र सहयोगमा २०६९ सालदेखि क्याम्पस अघि बढेको बताउँदै निर्माणाधिन भवनलाई समयमा नै सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य भएको उल्लेख गरे ।
क्याम्पस प्रमुख युवराज लामिछानेले हालका लागि करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको जानकारी दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष टुकराज भण्डारी, संस्थापक सदस्य केशव आचार्य, पूर्व क्याम्पस प्रमुख डिल्लीराम बराल, भोजराज आचार्य लगायतले आ आफ्ना धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology