पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकारहरु आन्दोलित

पोखरा, ५ वैशाख -पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पोखरासहित देशभरका पत्रकारहरु आन्दोलित बनेका छन् । समाचार लेखेकै कारण विद्युतीय कारोबार ऐनको फन्दामा पारिएका गिरी यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका छन् ।
आन्दोलनकै क्रममा बुधबार पत्रकार महासंघ कास्कीको अगुवाईमा पत्रकारहरुले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशहासन र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिए । धर्नाको क्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारलाई विद्युतीय कारोबार ऐनको सहारामा धुनामा राख्नु निन्दनीय भएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दुई तिहाईको सरकारले विद्युतीय कारोबार ऐन खारेज नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । पत्रकारलाई हत्कडी लगाइएकोमा कडा आपत्ति प्रकट गर्दै उनले पत्रकारको मनोबल गिराउन यस्तो प्रपञ्च रचिएको जिकिर गरे ।
यसैबीच नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनका ४७ र ४८ दफा खारेजी तथा पत्रकार गिरीसहित पक्राउ गरिएका पत्रकारको रिहाई माग गर्दै आन्दोलनको घोषणा गरेको छ । महासंघका महासचिव रमेश विष्टका अनुसार विद्युतीय कारोबार ऐनको सोही दफाको प्रयोग गर्दै पटक–पटक पत्रकार पक्राउ गरिएकोले महासंघले आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार बिहीबार गृह र सूचना तथा सञ्चार मन्त्रालयमार्फ बिरोध पत्र बुझाउनुका साथै सबै जिल्लाहरुको धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । महासंघको यो निर्णय अगावै कास्की शाखाले भने बुधबार नै धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology