तलब भत्तामै खर्च हुन्छ स्वास्थ्यको बजेट : मन्त्री यादव

पोखरा, ११ चैत – उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको लागि कूल बजेटको कम्तिमा १० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । उनले चालु आर्थिक वर्ष २०७५÷०७६ मा स्वास्थ्य मन्त्रालयलाई ४.४ प्रतिशतमात्र बजेट विनियोजन भएकोमा ४ प्रतिशत त तलब भत्तामै खर्च भएको खुलासा समेत गरे ।
‘बाँकी बजेटले स्वास्थ्य क्षेत्रमा केही गर्न नसकिएको हो, यो क्षेत्रले फड्को मार्न नसकेको हो’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई सेवा सुरु गर्दै उनले भने,‘यो क्षेत्रमा गैरसरकारी र दाताहरुबाट पनि लगानी अभिबृद्धि गर्नुपर्छ ।’
देशलाई २१ हजार डाक्टर चाहिए पनि १४ सय डाक्टरको भरमा स्वास्थ्य क्षेत्र चलेको बताउँदै उनले भएको जनशक्ति र साधनको अधिकतम् प्रयोगमा जोड दिए । उनले काठमाण्डौं पछिको गुणस्तरीय स्वास्थ सेवा, सुविधा सम्पन्न र पठन पाठन तथा अनुसन्धान हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सरकार जुटिरहेको जानकारी दिए ।
एम आर आई सेवाको उद्घाटन पश्चात प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री यादवले सरकारी अस्पतालहरुमा उपकरण छिटो बिग्रने र मर्मत गर्न नसक्ने किन हुन्छ भन्ने प्रश्न पनि गरे । ‘उही समयमा सरकारी र निजी अस्पतालमा सुरु हुने उपकरणमध्ये निजीमा चलिरहने र सरकारी थन्केर बस्नुको अर्थ के हो ?’, उनको प्रश्न थियो ।
पोखरामो बगरमा मुटु केन्द्र स्थापना गर्ने जग्गमा आवाश्यक भवन, उपकरण र जनशक्तिका लागि पहल हुने बताउँदै उनले यो वर्ष डिपिआर तयार गरी बहुवर्षीय योजनामा समावेश गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology