गण्डकीका अर्थमन्त्रीको गाउँबाट मुख्यमन्त्री नमूना कृषि गाउँ परियोजनाको उद्घाटन

पोखरा, ११ चैत – गण्डकी सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना सुरु गरेको छ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार तनहुँको भिमाद–९ भानुमती, पाथर्दीबाट परियोजना सुरु भएको घोषणा गरे । परियोजनाअन्तर्गत गण्डकीका ११ जिल्लाका ३६ ठाउँलाई समेटेको छ ।
प्रदेश सरकारले गरिबी निवारण र रोजगारी सृजनाको लागि आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नै मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना घोषणा गरेको थियो । संयोग नै मान्नुपर्छ, गण्डकीका अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको यो योजनाको सुरुवात उनकै निर्वाचन क्षेत्रबाट भयो । परियोजनाको एकमुष्ठ उद्घाटन गरिएको तनहुँको भिमाद–९, भानुमती अर्थमन्त्री किरणको वडा हो । यो ठाउँ बयर जातका उन्नत बाख्राको लागि प्रख्यात मानिन्छ । बजेट वक्तव्यमार्फत उनले यो परियोजनाको लागि १० करोड ८० लाख बजेटको विनियोजन गरेका थिए ।
प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुनेगरी विभिन्न जिल्लाका ३६ वटा स्थानीय तहलाई नमूना परियोजनाको लागि छनौट गरेको थियो । नमूना कृषि परियोजनाका लागि कास्कीका ६,म्याग्दी, पर्वत,लमजुङ, मनाङ र मुस्ताङका २÷२ तथा तनहुँ, स्याङ्जा,गोरखा,बाग्लुङ र नवलपुरका ४÷४ वटा क्षेत्र पहिचान गरिएका थिए । असल कृषि अभ्यास,लैंगिक तथा सामाजिक समावेशीकरण,पर्यावरणीय खेती,दीगो कृषिको लागि यान्त्रिकरण,समानुकुलित प्रविधिको प्रयोग, जलवायु समानुकुलित प्रविधि,प्राङ्गारिक कृषि एवं सहसिकाई कार्यक्रम बनाउने सर्तसहित ती स्थानीय तहमा परियोजना लागु भएको हो । परियोजनाअन्तर्गत पहिलो चरणमा नमूना गाउँलाई ३० लाख रुपैयाँ प्रदान गरिएको छ । नमूना गाउँमा कम्तीमा ५० घरधुरी समेटिएका छन् । बाह्रैमहिना यातायात सुविधा, कृषि तथा पशुजन्य उत्पादनको व्यवसायीकरणको सम्भावना , जैविक विधिताको प्रवद्र्धन, र कृषि पर्यटनको सम्भाव्यता भएको स्थान छनोटको गरिएको गण्डकीको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको मंसिरमा कार्यविधि बनेपछि यो परियोजना संचालनको बाटो खुलेको थियो । एक निर्वाचन क्षेत्रमा एक नमूना गाउँ बनाउने योजना भए पनि अहिलेलाई प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाएर ३६ वटा ठाउँको छनौट गरिएको हो ।
त्यस्तै, सरकारी तथा गैरसरकारी क्षेत्र सञ्चालित यस्तै प्रकृतिका कार्यक्रमसँग समन्वयको सम्भावना भएको, स्थानीय तह, समुदायको चासो र योगदानको प्रतिबद्धता, गाउँ अधिकांश घरधुरीहरूको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित रहेको र पिछाडिएका समुदाय, महिला तथा युवा लक्षित कार्यक्रमको सम्भावना भएको ठाउँमा नै यो परियोजना लागु भएको गण्डकीको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । छनौट भएका सबै परियोजनाको तनहुँबाट उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जाँगरिला र पौरखी हातहरुलाई सघाउन यो परियाजना थालिएको बताए । उनले पशुपालन, तरकारी, पंक्षी मत्स्य तथा नगदेवालीमार्फत नमूना फार्म स्थापना गर्ने गाउँले किसानको हितका लागि सबै किसिमको सहयोग दिने प्रतिवद्धता व्यक्त गरे । निर्वाहमुखी कृषिलाई व्यवसायमा रुपान्तरण गर्नुपर्नेमा उनको विशेष जोड थियो ।
आफूले बजेट वक्तव्यमार्फत घोषणा गरेको कार्यक्रम आफ्नै गाउँबाट उद्घाटन हुँदा असाध्यै खुसी देखिएका गण्डकीका अर्थमन्त्री किरण गुरुङले पूँजी निर्माण र भौतिक विकासको साथमा हरेक क्षेत्रको सामाजिक र साँस्कृतिक विकास हुनुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले यो कार्यक्रमले गाउँबाट सहर झर्ने क्रम रोकिने आशा राखे ।
कहाँ–कहाँ संचालित छन्, नमूना कृषि गाउँ परियोजना ?
कृषि गाउँका लागि कास्कीबाट कास्की क्षेत्र नम्बर १ को (क) मा पर्ने रुपा गाउँपालिका वडा नम्बर ३ को पोल्याङ, कास्की क्षेत्र नम्बर १ को (ख)मा पर्ने मादी गाउँपालिका वडा नम्बर ११ वारचोक र तोगी नमूना कृषि गाउँका लागि छनौट भएका छन् । कास्की क्षेत्र नम्बर २ को (क) मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित दोविल्ला र कास्की क्षेत्र नम्बर २ (ख) मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित जोगिमणी गाउँ नमूना कृषि गाउँका लागि छनौट भएका छन् । त्यस्तै, कास्की क्षेत्र नम्बर ३ को (क) मा पर्ने माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ भलाबोट घाचोक र कास्की क्षेत्र नम्बर ३ (ख) मा पर्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुर गाउँ कृषि गाउँका लागि छनौट भएका छन् । पर्वतबाट पर्वत क्षेत्र नम्बर १ (क) मा पर्ने कुश्मा नगरपालिका वडा नम्बर १ पाङ्ग र पर्वत क्षेत्र नम्बर १ (ख) मा पर्ने फलेवास नगरपालिका वडा नम्बर १० को कुर्घा गाउँ छनौट भएका छन् ।
कृषि गाउँका लागि बागलुङबाट बागलुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँ र बागलुङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवा गाउँ छनौट भएका छन् । यसैगरी बागलुङ क्षेत्र नम्बर २ को (क) मा पर्ने ताराखोला गाउँपालिका वडा नम्बर ५ करिमेला गाउँ र बागलुङ क्षेत्र नम्बर २ को (ख) मा पर्ने निसीखोला गाउँपालिका वडा नम्बर ५ मसलगाउँ पनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् । स्याङ्जाबाट स्याङ्जा क्षेत्र नम्बर १ को (क) मा पर्ने विरुवा गाउँपालिका वडा नम्बर २ श्रीडाँडा अर्चल गाउँ र स्याङ्जा क्षेत्र नम्बर १ को (ख) मा पर्ने फेदीखोला गाउँपालिका वडा नम्बर २ तल्लो कुडुले तथा सोहि गाउँपालिका वडा नम्बर १ रामकोट पनि छनौट भएका छन् । यसैगरी स्याङ्जा क्षेत्र नम्बर २ को (क) मा पर्ने भिरकोट नगरपालिका वडा नम्बर ८ स्थित ओकादी पञ्चासे र स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा पर्ने चापाकोट नगरपालिका वडा नम्बर ५ सिमगाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।
कृषि नमूना गाउँका लागि तनहुँबाट तनहुँ क्षेत्र नम्बर १ (क) मा पर्ने भानु नगरपालिका वडा नम्बर ११ बाँसखर्क, लामस्वाँरा तथा काफलस्वाँरा गाउँ र तनहुँ क्षेत्र नम्बर १ (ख) मा पर्ने आँबुखैरेनी–४ भागे गाउँलाई छनौट गरिएको थियो । यसैगरी तनहुँ क्षेत्र नम्बर २ को (क) मा पर्ने शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ९ स्थित भातडाँडा तथा शुक्ला गण्डकी १२ लिलाचोक र तनहुँ क्षेत्र नम्बर २ को (ख) मा पर्ने भिमाद नगरपालिका ९ भानुमती गाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका थिए ।
म्याग्दीमा म्याग्दी क्षेत्र नम्बर १ को (क) मा पर्ने बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तथा सुर्केमेला र म्याग्दी क्षेत्र नम्बर १ को (ख) मा पर्ने मंगला गाउँपालिका वडा नम्बर २, ३ र ५ पनि यो परियोजना सुरु भएको छ । यसैगरी, मुस्ताङ क्षेत्र नम्बर १ को (क) मा पर्ने लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ र मुस्ताङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्थित स्याङ्ग नमूना परियोजना संचालित गाउँ हुन् ।
मनाङबाट मनाङ क्षेत्र नम्बर १ को (क) मा पर्ने नाशो गाउँपालिका वडा नम्बर ७ र ८ स्थित तिल्चे र मनाङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने डिस्याङ गाउँपालिका वडा नम्बर ४, ६ र ८ छनौट भएका छन् भने गोरखाबाट गोरखा क्षेत्र नम्बर १ को (क) मा पर्ने गण्डकी गाउँपालिका १ स्थित चेपाङबस्ती बडडाँडा र गोरखा क्षेत्र नम्बर १ को (ख) मा पर्ने भीमसेन गाउँपालिका वडा नम्बर ५ बगुवा रिठेपानीपनि छनौट भएका छन् । यसैगरी गोरखा क्षेत्र नम्बर २ को (क) मा पर्ने पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित दोभान ¥याले र गोरखा क्षेत्र नम्बर २ को (ख) मा पर्ने वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ स्थित सिमलसोति तथा राङरुङ गाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् । कृषि नमूना गाउँका लागि लमजुङबाट लमजुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने दोर्दी गाउँपालिका वडा नम्बर ८ स्थित पुरानेद्वार बजार र लमजुङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने क्होँलासोंथर गाउँपालिका वडा नम्बर ४ स्थित भुजुङ गाउँ छानिएका छन् । नवलपुरबाट नवलपुर क्षेत्र नम्बर १ को (क) मा पर्ने देवचलुी वडा नम्बर १६ स्थित बाह्रकोल र नवलपुर क्षेत्र नम्बर १ को (ख) मा पर्ने बुलिङटार वडा नम्बर ५ स्थित भदौरी, लापाक तथा आमडाँडा गाउँ छनौट भएका छन् । यसैगरी नवलपुर क्षेत्र नम्बर २ को (क) मा पर्ने मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नन्दपुर, सितापुर तथा सेरी र नवलपुर क्षेत्र नम्बर २ को (ख) मा पर्ने मध्यविन्दु नगरपालिका वडा नम्बर ६ स्थित बरुवा तथा हर्दिया गाउँ कृषि नमूना गाउँका लागि छनौट भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology