प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा पुर्वाधार निर्माण

म्याग्दी, २७ जेठ-  समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दिरमा पुर्वाधार निर्मााण गरिएको छ ।
मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिका धुरीमा पुजा गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरि गाउँपालिकाको आर्थिक सहयोगमा पुर्वाधार निर्मााण गरिएको हो ।
मालिका गाउँपालिकाको १४ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग र स्थानिय उपभोक्ता समितिको १ लाख ५९ हजार एक सय २४ रुपयाँ गरी १५ लाख ९९ हजार एक सय २४ रुपैयाँ लागतमा आयोजना निर्माण गरिएको उपभोक्ता समितीका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए ।
उनका अनुसार मालिका परिसरमा रेलिङ सहित सिढि ,सतल तथा पक्की पर्खाल सहितको घेराबार गरिएको छ । आयोजना निर्माण संगै देश भरिका श्रद्धालु भक्तजन प्रत्यक्ष रुपमा लाभान्वीत हुनेछन् ।
ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल मालिकामा पुजाआजा गर्न आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरि पुर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताए । उनले मालिका गाउँपालिकाको मात्र नभई जिल्लाकै ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल भएको जानकारी दिए ।
मालिकामा सुविधा सम्पन्न पुर्वाधार निर्माण नहुँदा पुजा गर्न आउने श्रद्धालु तथा भक्तजनहरुले सास्ती व्यहोर्नु परेकाले मालिकामा पुर्वाधार निर्माणमा जोड दिएको अध्यक्ष रोका मगरले बताए । साथै मालिकामा पुजाआजा एवम् घुम्न जाने श्रद्धालु,भक्तजन तथा पर्यटकलाई लक्षित गरि वडा नं ७ र वडा नं ६ बाट सडक निर्माण सुरु भएको अध्यक्ष रोका मगरको भनाई छ ।
मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठी पुर्णिमा र भाईटिका र बाला चर्तुदशिमा पुजाआजा सहित मेला लाग्ने गर्दछ । मालिकाको पुजाआजा ,दर्शन र भाकल गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology