ट्राफिक प्रहरी कार्यालय बागलुङमा तीन महिनामा चौध लाख राजश्व संकलन

बागलुङ, २९ जेठ – चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चौध लाख राजश्व संकलन गरेको छ । नियम विपरित चलेका २ हजार ३ सय १७ सवारीलाई कारवाही गरी ट्राफिकले उक्त राजश्व संकलन गरेको हो । गत चैतदेखि जेठको अन्तिम सातासम्म ट्राफिक नियम उल्लंघन गर्नेहरुको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै पिकअप भ्यान, जीप तथा कार छन् । सवारीचालक अनुमति पत्र नभएको, समयमा नविकरण नगरेको, क्षमताभन्दा धेरै यात्रु राखेको, सवारी चलाईरहेका बेला मादक पदार्थ सेवन गरेको र मोबाईल फोन प्रयोग गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको थियो ।

१ हजार २ सय १५ पिकअप भ्यान, जिप तथा कार कारवाहीमा परेका थिए । उनीहरुबाट ७ लाख २७ हजार ५ सय रुपैयाँ जरिवाना रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुकबहादुर बिकले बताए । कारवाहीमा पर्नेमध्ये दोस्रोमा मोटरसाईकल चालक रहेका छन् । मोटरसाईकलमा सवारी दर्ता प्रमाणपत्र नभएको, सुरक्षा सामग्री हेलमेटको प्रयोग नगरेको, सवारी चालक अनुमतिपत्र नबोकेको लगायतका ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरिएको थियो । मोटरसाईकल चालकलाई जरिवाना गर्दै प्रहरीले ३ लाख ७६ हजार राजश्व संकलन गरेको छ । त्यस्तै माल सामान बोक्ने १ सय ५९ ट्रक कारवाहीमा परेका छन् ।

उनीहरुबाट ९३ हजार ५ सय राजश्व संकलन भएको बिकले बताए । लामो तथा छोटो दुरीमा चल्ने १ सय ३२ वटा बस कारवाहीमा परेका छन् । उनीहरुलाई जरिवाना गर्दै प्रहरीले ७१ हजार ५ सय राजश्व संकलन गरेको छ । कारवाहीमा परेका २ सय ५३ ट्याक्टरबाट १ लाख ३८ हजार ५ सय रुपैयाँ जरिवाना उठाईएको थियो । ट्राफिक प्रहरीका अनुसार कच्चि सडकमा गुड्ने पिकअप भ्यानले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण कारवाहीमा पर्ने गरेका छन् । सिट क्षमताभन्दा बाहिर ढालामा यात्रु बोक्ने र झुण्डिएर यात्रा गराउने गरेका कारण पनि पिकअप भ्यान तथा जिपलाई कारवाही गर्ने गरिएको छ । पछिल्लो तीन महिनामा सबैभन्दा धेरै बैशाख महिनामा ८ सय २७ सवारी कारवाहीमा परेका छन् । जेठमा ७ सय ५० र चैत महिनामा ७ सय ४० सवारी कारवाहीमा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology