विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाऊँ

नेपालको पुरानो त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो जन्मोत्सव मनाएको छ । २०१६ साल असार ३० गते स्थापनाका दिन नवमी तिथी थियो । त्यही तिथीलाई आधारमान्दै जन्मोत्सव मनाउँदा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली प्रमुख अतिथी बनेर विश्वविद्यालय पुगे । ६० औँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको लागि हिलाम्ये बाटोमा रातो कार्पेट बिच्छ्याइयो । असारको प्रतिक मान्ने हो भने हिलो छुनु पवित्र नै हो तर अहिले देखिएको दृष्यले त्यसो भन्दैन । विश्वविद्यालय बूढो हुँदैगर्दा तन्नेरी बन्नुपर्नेमा थलिँदै गएको छ । यसका प्राज्ञिक गतिविधिहरु शुन्यप्राय रहेका छन् भने विश्वविद्यालय राजनीतिक भागबण्डाको अखडा बन्न पुगेको छ । शिक्षाको गुणस्तर खस्केको छ । विश्वविद्यालयको जग्गा अतिक्रमण भएको छ । प्राज्ञिक प्रमाणपत्रहरु किनबेच भएका घटनाहरु सार्वजनिक भएका छन् । समग्रमा विश्वविद्यालय टेक्नै नहुने ठाउँ जस्तो भएको छ । धन्न प्रधानमन्त्री तथा कुलपतिले हिलो भने छोएनन् । हिलोमै कमल उम्रन्छ भन्ने मान्यता राख्दा आशा गर्ने ठाउँ होला तर विश्वविद्यालय अब गन्हाउने केन्द्र बन्न पुगेको छ ।
त्यसो त, विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा दिएको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । अहिले सरकार र नीति निर्माण तहमा रहेका अधिकांश व्यक्तिहरु यही विश्वविद्यालयबाट दिक्षित भएका छन् । शैक्षिक उन्नयनमा त्रिभुवन विश्वविद्यालय आफैमा जिउँदो इतिहास पनि हो । तर, इतिहास भँजाएर खान सकिँदैन । विश्वविद्यालय प्राज्ञिक थलोबाट कुकृत्यका कर्मभूमि बनेपछि त्यसको उपादेयता आफैमा सकिन्छ । यस अर्थमा हेर्ने हो भने, विश्वविद्यालय अब अवशानको दोसाँधमा उभिएको छ । यहाँ प्राज्ञिक कर्महरु हुन छाडेका छन् । राजनीतिक भर्तिकेद्र बनेको विश्वविद्यालयलाई सेवा आयोगको कुकर्मले झनै थलिन बाध्य बनायो । अयोग्यहरु विश्वविद्यालयमा पसे । योग्यहरु बाहिरिने अवस्था बन्यो ।
नेपाली शब्दकोषले विश्वविद्यालयलाई विश्वका विभिन्न विषय वा विभिन्न किसिमका शास्त्रको उच्चकोटिको शिक्षा शिक्षा प्रदान गर्ने सर्वोच्च निकाय भनेको छ । हुनुपर्ने त्यही हो । तर, यहाँ विश्वस्तरको शिक्षा त के कुरा, नेपाललाई चाहिने जनशक्ति पनि उत्पादन हुन छाडेको छ । गुणस्तर यति खस्केको छ कि, अब त्रिभुवन विश्वविद्यालयका उत्पादनहरुलाई नै अवहेलनाको दृष्टिले हेर्न थाएिको छ । किर्ते गरेर उत्तीर्ण भएको आरोप खेप्नुपर्ने अवस्था सृजना भएको छ । कुनैबेला विश्वका थुप्रै विश्वविद्यालयसँग समन्वय र सहकार्य गरेको यो शिक्षाको धरोहरलाई अहिले विदेशीले पनि पत्याउन छाडेका छन् । अनुसन्धान पद्दतिमा झण्डै पूर्णविराम लागेको छ ।
विश्वविद्यालयका देशैभर आंगिक क्याम्पसहरु छन् । मुल नै सङ्लो नभएपछि त्यसबाट बग्ने पानी शुद्द हुन सक्दैन । केन्दको रोगले अन्य क्याम्पसहरुलाई पनि गाँजेको छ । खासगरी शिक्षामा भएको राजनीतिकरण र भागबण्डाले नेपालको शिक्षा पद्दति नै भताभुङ्ग पार्ने लक्षण देखाएको छ । यो रोगको बेलैमा निदान गर्न नसके नेपालको पुरानो शैक्षिक केन्द्र पतन हुने निश्चित छ । अत ः कम्तिमा अबचाहिँ शिक्षालाई राजनीतिबाट टाढा राख्नु परेको छ । देशबाट यतिबेला हजारौँ विद्यार्थीहरु पढ्नकै लागि पलायन भएका छन् । राम्रो विश्वविद्यालय विद्यार्थीको चाहना हुन्छ । धनी बनेका देशहरुको उदाहरण हेर्ने हो भने पनि गुणात्मक शैक्षिक पद्धतिले नै उनीहरुको गरीमा उँचो भएको छ । यो सत्यलाई मननगर्दै विश्वविद्यालयलाई पुन ः प्राज्ञिक थलो बनाउने अभियान छिटो थाल्नुपर्ने भएको छ । नाममात्रैका विश्वविद्यालय स्थापनाले केही हुँदैन भन्ने कुरा पनि अब सरोकारवालाले बुझ्नैपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology