आर्थिक वर्षको अन्तमा लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

म्याग्दी,२७ असार – आर्थिक वर्षको अन्त्यमा सयौं योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।
एउटा विद्यालयका प्रधानअध्यापकसंगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको विदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौं उपभोक्ता समितिले नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी रोकिएको छ ।
नगरपालिकाको प्रशासन तथा लेखा शाखामा भुक्तानी गर्नु पर्ने सयौं योजनाका फाईलको चाङ लागेको छ ।
बेनी नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार विधुतिय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका, २ भकुण्डेस्थित अर्जुन माध्यामिक विद्यालयका प्रधानध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदी विच बुधवार विवाद भएको थियो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शिर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगी सकेकोले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो ।
‘आर्थिक बर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पुरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर वील भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुव्र्यवहार भएछ’ प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद शर्माले भने, ‘विदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, संभव भैरहेको छैन । ’
लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफुमाथी दुर्ब्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मकालागि घर विदा मागेर निस्केपछि आर्थिक बर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाईल रोकिएका छन ।
नगरपालिकाले ६ लाख ५० हजारका दरले ३ वटा माध्यामिक विद्यालयमा ई–पुस्तकालयकालागी बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भुलवस’ तीन स्कुल हुनु पर्नेमा चार वटा स्कुललाई इ–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।
अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताए। ‘योजना सम्पन्न भएपछि पुरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ’ प्रअ खत्रीले भन्नुभयो ‘प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतसंग जाँदा उहाँले भुक्तानि दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि मैले ‘तपाइँलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुग्नुभएको हो,शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नविर्सनुहोस् भनेको हुँ ।’ प्रधानाध्यापक खत्र्रीले बताए ।
यस विषयमा प्रतिक्रिया माग्न लेखा अधिकृतसंग संचारसम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology