नेपालको ‘चेरापुञ्जी’पोखरामै कम वर्षा !

पोखरा,३० असार – तराई क्षेत्रमा वर्षातपछिको विपतले जनधनको क्षति हुँदा पोखरामा भने अघिल्लो वर्षको तुलनामा तीनगुणा कम वर्षा भएको छ । गतसाल जुलाई ६ मा २४ घण्टाको अन्तरालमा पोखरामा मात्रै २०० मिलिमिटर वर्षा भएको थियो । तर, यो सिजनमा पोखरामा सबैभन्दा बढी ६ जुलाईमा ७० मिलिमिटर वर्षा भएको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराको, फिल्ड कार्यालय पोखरा विमानस्थलको तथ्यांक छ ।
अहिले भने जुलाई १४ बितिसक्दा पोखरामा जम्मा २०० मिलिमिटरकै हाराहारीमा वर्षा भएको छ । पोखरामा जुलाईमा मात्रै यसअघिका वर्षमा ९४० मिलिमिटर वर्षा हुने गरेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख राजाराम ढकालले जानकारी दिए । पछिल्लो २४ घण्टामा विराटनगरमा १२० मिलिमिटर वर्षा हुँदा पोखरामा ३७ मिलिमिटर मात्रै वर्षात भएको छ ।दैनिक वर्षा हुने पोखरामा जुलाईमा ०.१ मिलिमिटर भन्दा पनि कम पानी परेको कार्यालयको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा वर्षा किन कम भयो त ?
कार्यालय प्रमुख राजाराम ढकाल भन्छन, ‘मौसम कमजोर हुँदै गएको छ, तर पनि जुलाईका अझै दुई हप्ता बाँकी छन्, २÷३ दिनमा मौसम फेरि सक्रिय हुनसक्छ, विभागले पनि पश्चिमी क्षेत्रमा मौसम सक्रिय हुने जनाएको छ ।’उसो त, २०१५ को जुलाई ३१ मा चारघण्टामै २८९ मिलिमिटर वर्षा भएको तथ्यांक पनि छ । तसर्थ, जुलाईको अन्त्यसम्ममा यसअघिका वर्षमा झैँ ९४० मिलिमिटर वर्षा हुनसक्ने सम्भावना रहेको उनी बताउँछन् । अघिल्लो वर्षको तुलनामा कम वर्षा हुनुको कारण प्रि–मनसुन पनि हो । ‘जनवरीदेखि नै पोखरामा राम्रै पानी प¥यो, अहिलेपनि वर्षात भईरहेकै छ, वर्षा हुनुपर्ने जति सक्रिय नभएतापनि कम भने भन्न मिल्दैन ।’ उनले भने ।
पोखरामा तुलनात्मक रुपमा कम पानी परेतापनि सेती नदीलाई भने जोखिमको रुपमा नै हेरिएको छ । ‘अलिकति भारी वर्षा हुनासाथ सेतीमा पानीको बहाव बढ्छ, त्यसको सतर्कताको लागि भने पूर्वसूचना ‘अर्ली वार्निङ’ दिइन्छ, जिल्ला प्रशासन कार्यालय कास्की, मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विज्ञान विभागमार्फत सूचना प्राप्त गर्न सकिन्छ ।’ उनले भने ।
सेती नदीमा २०६९ वैशाखमा आएको बाढीका कारण २८ जनाको ज्यान गएको थियो भने ४२ जना बेपत्ता भएका थिए । यस्तै, २०७२ मा लुम्ले र भदौरेतामागीमा पहिरोका कारण २१ जनाले ज्यान गुमाएका थिए ।जल तथा मौसम विज्ञान विभागले गण्डकीका कालीगण्डकी, मोदीखोला, सेती, मर्दीखोला, चेपेखोला, बुढीगण्डकी, लाङटाङ खोला नजिकका बस्ती र बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेको छ । वर्षातका कारण गण्डकी क्षेत्रका सडकहरु अवरुद्ध भएतापनि अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन् । बेनी–कोराला सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सीमामा पर्ने काभ्रेभिरमा पहिरो जाँदा यसपटक पनि सडक अवरुद्ध हुनपुग्यो । गतसाल पनि सोही ठाउँमा पहिरो जाँदा ३ दिनसम्म सडक अवरुद्ध हुन पुगेको थियो ।यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा पहिरो जाँदा यो राजमार्ग पनि अवरुद्ध प्राय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology