प्रकृति पूजौँ, सम्मान गरौँ

हिजो पूर्खाहरु ‘पृथ्वी शान्ति, वनष्पतय शान्ति, आकास शान्ति, पाताल शान्ति’ जप्थे । कम्तिमा प्रकृतिको अनधिकृत दोहन बञ्चित थियो । चराहरुले गुँड लगाउने र बच्चा कोरल्ले बेला शिकार खेलिँदैनथ्यो । माझीहरुले पनि माछाले फूल पार्ने बेला आफ्नो काम नै बन्द गर्थे । प्रकृतिको चक्र चलाउनको लागि उनीहरु कम्तिमा सचेत थिए । तर, अहिले समय बदलिएको छ । मानवीय जीवन एकांकी बन्न पुगेको छ । मानिस आफूलाई फाइदा हुने बाहेक अरु काम गर्नै छोडेको छ । उसलाई प्रकृतिको चक्रसँग कुनै सरोकार छैन, न त ऊ धर्मको नाममा बाँधिन्छ नत उसलाई कुनै सामाजिक बन्धनले नै छेक्छ । मानिस बेलगाम घोडाजस्तो बनेको छ । यसको असर प्रकृतिको दोहनमा देखिएको छ । अहिले प्रकृति दोहन यति सारो भएको छ कि, यही उपक्रम जारी रहे पृथ्वीको अस्तित्व नै संकटमा पर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।
प्रकृतिको अति दोहनको परिणाम यति डरलाग्दो छ कि, केही विद्धानहरुले त मानिसलाई सुरक्षित राख्ने हो भने अन्तरिक्षमा बस्ती बसाउन सmुझाएका छन् । अन्तरिक्षको बस्ती हाम्रो बसको कुरा हैन । नेपाल अन्तरिक्षमा बस्ती बसाउन समर्थ छैन । अर्कोतर्फ नेपालले त यही धर्तीमा भएको बस्ती सुरक्षित राख्न पनि सकेको छैन । बस्तीहरु अहिले असुरक्षित भएका छन् । प्रकृतिको अति दोहनले र प्रकृतिाथि अन्याय गरेकाले नै यो अवस्था आएको हो । पछिले क्रममा बाढी र पहिरोले देशमा ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरो हरेक वर्ष आउँछ । प्रकृतिको बिनासलाई रोक्न सकिँदैन तर क्षति कम गर्न सकिन्छ । अझ प्रकृतिलाई सन्तुलित राख्ने हो भने यो विपत्तिबाट मुक्ति पनि मिल्छ । तर, त्यसो हुन सकेको छैन । पछिल्लो समय भएको दोहनले गर्दा राजधानीदेखि पोखरा र मधेशमा पनि जनधनको क्षति भएको छ । मान्छेको बिचल्ली भएको छ । खासगरी पोखरा, काठमाण्डौजस्ता शहरहरुमा बाटोमा खोला बग्ने अवस्था सृजना भएको छ । आकाशबाट परेको पानी सोस्ने जमिन नै बाँकी नरहेपछि सानो पानी परे पनि त्यसले भयावह रुप लिन थालेको छ । वातावरणवीदहरुले यसलाई प्रकृतिमाथिको अपमानको रुपमा अथ्र्याएका छन् । पानी हिजो पनि पथ्र्यो, आज पनि पर्छ र सायद भविष्यमा पनि पर्ला । तर, उही प्रकृतिको पानीले विपत्ति सृजना गर्ने स्थिति भने हामीले बनाएका हौँ । जल जमिनमा छिर्न नपाएपछि बाटोमा बग्छ । अहिले शहरमा खालि जमिन देख्न मुस्किल भएको छ । खालि जमिन नहुँदा पानी सानो परे पनि त्यसले विपत्ति निम्त्याएको छ । बिग्रनु बिग्री सकेको छ । अब सच्याउन सकिँदैन । सच्याउने भनेको बानीलाई हो । बानी सच्याउनु भनेको प्रकृतिको सम्मान गर्नु हो । प्रकृतिको सम्मान गर्नु भनेको इको सिष्टमलाई मान्नु हो । इको सिष्टम बचाउँन अब राज्यले नै चासो लिनुपर्ने भएको छ । मानिस कानून, धर्म र आचरणमा नबाँधिने अवस्था आएपछि त्यसमा पनि लगाम लगाउनु पर्ने भएको छ । प्राकृतिक दोहन रोक्न नसके हाम्रा भावी पुस्ताले सुन्दर पृथ्वी देख्न पाउँदैनन् भन्ने बुझ्नु् परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology