नेपालको पर्यटन हामीले सुरु गरेकै हैन : मन्त्री लम्साल

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल आफ्नो बोलीकै कारण विवादमा आउँछन् । संविधानसभा सदस्य समेत भइसकेका उनको बोलीले कहिलेकाहिँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजना पनि धरापमा पर्छ । खासमा विकास कास्कीको ‘पावरहाउस’ सँगको नाताले बलिया छन् र उनको भनाईलाई यहाँका मुख्यमन्त्रीले पनि काट्न सक्दैनन् । उनै मन्त्रीसँग हामीले पर्यटन र उनले गरेका कामबारे लामो कुराकानी ग¥यौँ । प्रस्तुत छ, ढोरपाटनकर्मी वासुदेव मिश्रले  उनीसँग गरेको  कुराकानीको सम्पादित अंश ।

मन्त्रीज्यू, पर्वतको जन्म, विद्यार्थी राजनीतिदेखि संविधानसभा सदस्य अनि प्रदेशको जिम्मेवार मन्त्रीको रुपमा पाउँदा आफैलाई कस्तो लाग्छ ?
म सानैदेखि राजनीतिमा चासो राख्ने । कलेजमा पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा रहेँ । लगत्तै २०५४ सालमा स्थानीय निकायको जिम्मेवारी सम्हालेँ । अनि २० वर्ष जिल्ला नेतृत्वमा रहेँ । १० मुख्य जिम्मेवारी नै सम्हालेँ । त्यसपछि संविधानसभा सदस्य भएँ । आफैले बनाएको संविधान कार्यान्ययन गर्ने निकायमा पनि म पुगेँ । अहिले समयले मलाई आफैले बनाएको संविधान कार्यान्वनय गर्ने ठाउँमा ल्याइपु¥याएको छ । हामीले संविधान बनाउँदा सिंहदरबारमा रहेका धेरै अधिकार प्रदेश र स्थानीय निकायमा पु¥याउने, मुलुकमा एकात्मक शासनले पछाडि पारेका कुराहरुलाई पनि तल्लो तहमा ल्याउनको लागि ठूलो प्रयत्न ग¥यौ । समावेशितालाई स्थापित गर्ने, गरिबी अन्त्य गर्ने,सबै भाषाभाषी, जातजातिहरुको सन्तुलित विकास गर्ने र जनतालाई नजिकबाट सेवा दिने उदेश्यले संघीयता स्थापित गरेको हो । र, त्यसलाई कार्यान्वयन गर्न पाउनु पनि ठूलो कुरा हो । फर्केर हेर्ने हो भने, २०५९ र २०५४ सालमा स्थानीय निकायमा काम गर्नेहरुमध्ये हामी ५८ जना संविधानसभामा निर्वाचित भएका थियौँ । ती ५८ जनामध्ये थोरै मात्र अहिले प्रदेशसभाको कार्यकारिणी निकायमा छौँ । त्यसकारण पनि मलाई के कुरामा खुसी लागेको छ भने, काठमाण्डौमा बस्ने मान्छेको मानशिकता कस्तो हुन्छ,स्थानीय निकायमा काम गर्नेहरुको विकासप्रति कति हुटहुटी छ भन्ने मलाई थाहा छ अनि त्यसलाई कसरी लिङ्क गर्नुपर्छ भन्ने अवसर मैले पाएको छु ।
मन्त्रीज्यू, विकासको हुटहुटीको कुरा गर्नुभयो, म अघिल्लो चैत ( २०७४ ) १२ गतेको कुरा गर्दैछु, मन्त्रीको रुपमा त्यहाँदेखि हालसम्म तपाईंले गर्नुभयो के त ?
हामीले करिब १५ महिनामा धेरै काम ग¥यो । तपाईँ सिँहावलोकन गर्नुहोस् । त्यसो त जनताका आंकाक्षाहरु संवोधन भएनन् होला । हामी मन्त्री भएर आउँदा मन्त्रीका गाडी थोत्रा थिए । मन्त्रीको क्वार्टर थियो, क्वार्टरमा पानी थिएन । केही मन्त्रीहरु होटलमा बस्नुप¥यो । मलाई वन मन्त्रालयको खरदार बस्ने कोठमा लगेर राखियो । मैले त्यही दिन मसँगै गएका कर्मचारीलाई पानी छैन भने बाल्टिन ल्याउनुहोस् भनेँ । मैले त्यहीँ बस्ने व्यवस्था मिलाएँ ।अघिल्लो सरकारले प्रदेश सरकार बनेपछि मन्त्री हुन्छन्, क्वार्टर चाहिन्छ, गाडी चाहिन्छ भन्ने कुनै तयारी नगरेकोले त्यसो भएको हो ।
यसलाई यसरी बुझौँ, म मन्त्री हुनासाथ मैले मेरो गाडी चेञ्ज गरेँ, मेरो क्वार्टर बनाएँ अनि आलोचकहरुले त सबैभन्दा पहिला मन्त्रीले आफ्नो भत्ता बढाए भनेर पनि बुझ्छन् ?तपाईँ जसरी बुझ्नुस् न ! त्यो हालतमा भएकोलाई कसरी व्यवस्थापन गरियो ? मन्त्री भएपछि काम गर्नलाई संयन्त्र पनि चाहिन्छ होला नि ? हामीले सेवा सुविधालाई प्राथमिकता दिएका छौँ कि हामीले सेवालाई प्राथमिकता दिएका छौँ ? हेरेर मूल्याङ्कन गर्नुहोस् न ! अहिले मलाई के कुरामा दुःख लाग्छ भने, सत्य कुरा छ, राम्रो कुरा छ भने तयो हुन्छ र भनेर हेर्छ । नराम्रो कुरा छ भने रातारात सामाजिक सञ्जलमार्फत संसारभर पुग्छ । हामीलाई केस्राकेस्रा केलाएर हेर्नुृहोस् न ! के यसरी समाज सही बाटोमा जान सक्छ ? इमान्दारिता र निष्ठाबाट बल पैदा हुन्छ । जनताप्रति उत्तरदायी भएकाले नै शीर ठड्याएर हिँड्न सकिन्छ ।
महत्वाकांक्षा ठूला छन्, काम पनि गर्नु भएको छ तर गति सुस्त छ नि !
यो बीचमा हामीले धेरै कानून बनायौँ । हामीले २५ कानून र एक सय कार्यविधि बनाएर काम गरिरहेका छौँ । हिजो हिँडेको बाटोले सुखी नेपाली सम्वृद्ध बनाउन सक्दैनौँ तर हिजोको ट्रयाक पनि छाड्न सक्दैनौँ । हामीले हिजोको ट्रयाकबाट चल्दै आएका योजनालाई नयाँ ट्रयाकमा ल्याउनु परेको छ । हामीले दीगो विकासको लक्ष्य प्राप्ति गर्नुछ । हामीले दिँदै आएको शिक्षा अरबमा रोजगार गर्न जाने खालको छ । पर्यटन र उर्जा अनि कृषि विकास अहिलेको सम्भावना हो । हामीसँग प्राविधिक शिक्षालयहरु छैनन् । हामीलाई कृषि पढाउने, पर्यटन पढाउने, इञ्जिनियर बनाउने अनि विज्ञान र प्रविधिको रिसर्च गर्ने विश्वविद्यालयको खाँचो छ । त्यसको लागि पूर्वाधार बनाउनुपर्छ । विकासको पहिलो पूर्वाधार शिक्षा हो । ज्ञानले विज्ञानको आविष्कार ग¥यो, विज्ञानले प्रविधिको जन्म दियो । प्रविधिले नै विकास सम्भछ । हामीले यो १५ महिनामा त्यही काम गरेका छौँ । के अहिले विकासले बाटो समातेको जस्तो लाग्दैन ?
उद्योगको क्षेत्रमा के गर्नुभयो ? विषयगतरुपले हेरौँ न ।
गण्डकी प्रद्रेशमा भएका ८५ वटा स्थानीय तहको आवश्यकता र सम्भावना हेरेर स्थितिपत्र सार्वजनिक गरेका छौँ । हिजो त्यहाँ भएका उद्योगहरुलाई उद्योगग्राममा ल्याउने व्यवस्था मिलाउँदैछौँ । त्यहाँ जमिन कसरी प्राप्त गर्ने, त्यहाँ पानी र बिजुली कसरी पु¥याउने अनि त्यहाँ कसरी उद्योगग्राम बनाउने भन्ने तयारीमा छौँ । यो काममा हामीले स्थानीय तहसँग सहकार्य गर्दैछौँ ।
वनमन्त्रीको रुपमा केही ऐन पास गर्नुभयो तर काम भएन भन्ने आरोप छ नि !
निरन्तर चलेका काम भएका छन् । नयाँ काम गर्न लागिरहेका छौँ । बजेटमा पनि केही कुरा आएका छन् । हामीले कानून बनायौँ । ऐन, नीति र कार्यविधि नभए के काम गर्ने ? तपाईँले सोचेजस्तो काम गर्न लागेकै छौँ ।
मन्त्री हुँदा त यस्तो गर्छु भन्ने सपना थिए होलान् नि ।
त्यही त, सपना पूरा गर्न त कानून चाहियो नि ! अब काम हुन्छ ।
रामसार क्षेत्र संरक्षणमा नै तपाईँ चुक्नुभयो हैन र ? फेवाताल संरक्षण पनि त्यसमै पर्छ नि !
सीमाङ्कन हुनासाथ सबै काम हुन्छ । काम भइरहेको छ, हल्ला गर्ने काम मात्रै नभएको हो । केही पनि भएको छैन भनेर तपाईँले किन भन्ने ?
तालको किनारामा मापडण्ड नै मिचेर झण्डापार्क बनाउने घोषणालाई नै काम भन्ने ?
पोखरा आउने पर्यटक पहिला फेवाताल हेर्न आउँछन् । उनीहरु होटलमा गएर फ्रेस भएर निस्कने तालमा हो । अहिले संसारभर के हुन्छ भने, जुनसुकै मान्छे जहाँ गए पनि, तपाईँ टोरेन्टो नै पुगे पनि, फोटो खिचिन्छ । त्यो फोटो हेरेर मेरो साथी टोरेन्टो पुगेछ भन्ने थाहा हुन्छ । थाइल्याण्ड जानुहोस्, भित्तामा पतैया भनेर लेखेको हुन्छ, त्यो देखेपछि तपाईँले पनि साथी थाइल्याण्ड पुगेछ भन्ने थाहा पाउनुहुन्छ । पोखरा पुगेपछि आन्तरिक पर्यटन वर्षमा ताल, हिमाल र भण्डा देखिनेगरी पार्क बनाउन लागेको हो । त्यो ६५ मिटरको कुनै संरचना हैन, पार्क हो । यो प्रदेश सरकारले नबुझेर गरेको हो र ? सीमसार क्षेत्रलाई आक्रमण गर्न गरेको हो र ? त्यसै गलत हिसाबले व्याख्या गर्नुहुन्छ ? त्यो फेवातालको किनारामा बन्ने पार्कमा बसेर पर्यटकले नेपाली भण्डासहित फोटो खिचाउने हो । त्यहाँ घर बन्ने होइन । त्यो पर्यटकीय पूर्वाधार नै हो । त्यहाँ काउण्टर बनाउने भनिएको रेकर्ड राख्न हो । शुल्क लिन होइन । जाने मान्छेलाई शौचालय बनाउने भनिएको हो । ६५ मिटर सीमा क्षेत्रभित्र भए पनि त्यो संरक्षणकै लागि हो ।
त्यहाँ पार्कको कुरा गर्नुभयो, फालिएका कोमागाने, बसुन्धरा पार्कचाहिँ के हुन्छ ?
ती सबै हुन्छन् । हामीले डिपिआर पनि तयार पारेका छौँ । राम्ररी,सबै ठाउँबाट ती ठाउँमा फुटटे«ल जोडिन्छ, ६५ मिटरभन्दा उता बफर जोन राखिन्छ । त्यहाँ कुनै संरचना बन्दैन । व्यक्तिकै भए पनि त्यहाँ कुनै भौतिक संरचना बन्दैन । ताल प्राधिकरण बनाउँदैछौँ, त्यसले काम गर्छ । एकैपटक हामीले मात्रै बनाउन नसकौँला, एक वर्षमा नसकिएला तर ३÷४ वर्षमा त पक्कै होला नि ।
फेवातालसहितका तालका परियोजना अगाडि सारिएको छ तर ती परियोजनाहरु आफू नजिकका मान्छेलाई ठेक्का दिने र त्यसलाई भजाँएर खाने तयारी पनि छ भन्ने आरोप छ नि !
त्यस्तो कहाँ छ, एउटा मात्र उदाहरण दिनुहोस् त ! हामी खुला सूचना गरेर, आह्वान गरेर गरिएको छ,त्यस्तो कहाँ गरिएको छ ? त्यसै तपाईँले हल्ला गरेर हुन्छ ? तपाईँ आफै केही पनि भा’छैन भन्नुहुन्छ अनि यसोउसो पनि गर्न लाग्यो भन्नुहुन्छ ?
झण्डापार्कमा शुल्क तिर्नुपर्ने हैन । त्यसलाई व्यवस्थित पार्क बनाउने भनेको हो । त्यसको व्यवस्थापन गर्न प्रक्रियाबाट गरेको हो । तपाईँ ट्वाइलेट गए सफा गर्ने मूल्य त पर्यटकले तिर्नुपर्ला नि । सरकारले गर्दै मात्रै भन्ने अनि कसैले केही पनि नतिरे कसरी सम्वृद्धि प्राप्त हुन्छ ? आखिर संसारभरका पर्यटकीय ठाउँहरुमा पनि त शुल्क लिइन्छ नि । त्यहाँको खर्च त्यहीँबाट उठाउने हो । पर्यटक रेकर्ड राख्न पनि काउण्टर चाहिएको हो । त्यहाँ ठूलो संरचना बन्दैन ।
झण्डापार्कको कुरा गर्दा बसुन्धरा पार्क र कोमागाने पार्कको काम कहिले हुन्छ ?
ती सबै व्यवस्थित गर्छौँ । ६५ मिटरको टुंगो लाग्नेबित्तिकै सबै काम गर्छौँ । हामीले सीमाङ्कनको लागि राम्रो पिलरको डिजाइन पनि गरेका छौँ । प्रत्येक पिलरबाट फुटटे«ल जोडिन्छ । त्यहाँ व्यक्तिको जग्गा भए पनि केही संरचना बनाउन पाइँदैन । तालको किनारामा पनि फुटटे«ल हुन्छ । अब ताल प्राधिकरण बन्छ । एकवर्षमा १ सय मिटर बन्ला बिस्तारै बन्दै जाला नि ।
कुरा फेवातालको मात्रै हैन, तिलिचोदेखि टौवातालसम्मको कुरा हो । सबै पोखरी कुण्ड र तालको व्यवस्थापन गर्ने हो । पोखरामै रहेका सबै ९ वटा ताल म घुमेको छु । ती ताल हुन् कि जालोले छोएिको पोखरी हो जस्तो छ । अब यहाँ हरियो वनले के गरेको छ, नगरपालिकाले के गरेको छ, कुन खोलाको बालुवा आएर मिसिएको छ भन्ने हेर्नुछ । अहिले मानिसमा उत्साह कस्तो छ हेर्नुहोस् त । मन्त्रालयले डिपिआर बनाइदिओस् भन्नेछ ।
मन्त्रीज्यू , विदेशी पर्यटकको तथ्याङ्क राख्न सुरु भएको छ । अहिले आएका विदेशी पर्यटकको तथ्याङ्कले हामीले २०२२ मा लक्ष्य लिइएजति पर्यटक आउलान् ?
हो, तथ्याङ्क राख्न सुरु गरिएको छ । अहिले शाश्वतधाममा २५ लाख पर्यटक गएका छन् । त्यहाँ भएको विद्युतीय मेसिनले त्यो तथ्याङ्क राखेको हो । अहिले हामीले लिएको लक्ष्य त पूरा भएको छ, कटिसकेको छ । खासमा संख्यामा हामी जति पनि पु¥याउन सक्छौँ । पर्यटकको बसाई लम्याउने कुरा, पूर्वाधार बनाउने कुरा र खर्च गर्ने कुरा सबैभन्दा ठूलो समस्या हो । अहिले एउटा पर्यटकले दैनिक ५३ डलर खर्च गर्नुहुन्छ,बढीमा तीनदिन बसाई छ र त्यसलाई कसरी बढाउने, पर्यटकलाई दैनिक २ सय डलर खर्च गर्ने कसरी बनाउने भन्ने समस्या हो ।
पर्यटकको बसाई लम्ब्याउने योजना कसरी बनाउनु भएको छ र पोखरालाई केन्द्र बनाएर यो प्रदेशका सबै ठाउँमा पर्यटक कसरी लैजाने ?
गण्डकी प्रदेशका सबै जिल्लाका पर्यटकीय केन्द्रको हामीले पहिचान गरेका छौँ । केही पर्यटकीय गन्तब्य पहिल्यै स्थापित पनि छन् । यहाँका ८५ वटा स्थानीय निकायहरु छन् । विशेषगरी यहाँ आउने पर्यटकहरुको आकर्षण हिमाल हो त्यसपटि ताल, हिमाल, गुफा र त्यसपछि जंगलसफारी र हण्टिङ हो । त्यो ढोरपाटनमा छ । त्यसपछि यहाँको आकर्षण मठमन्दिर हो, देउराली हो, मौलाहरु हुन्, भन्ज्याङहरु हुन् । पोखरा त स्वर्गीय आनन्द लिने ठाउँ हो,पोखरा । म तपाईँलाई एउटा कुरा भनौँ वेलायतका एकजना प्रोफेसर आफ्नो जीवनमा ६८ पटक अन्नपूर्ण पदयात्रामा आउनुभयो । विश्वविद्यालय बिदा भयो कि उहाँ यहाँ आइहाल्नुहुन्छ । हाम्रा बच्चा बिदामा मामाघर गएजस्तो । त्यो कुरा हामीले प्रचार गर्न सकेनौँ । हामी केही सचेत मान्छेले पढेर थाहा पायौँ । यसको प्रचार हुनुपर्छ । हामीले हाम्रा कुरा बेच्नै सकेका छैनौँ । हाम्रो गर्विर्लो गण्डकीमा माथि हेर्नुहोस्, हिमाल टलतल खुलेको हेर्न पाइन्छ, तल हेर्नुहोस् निलो पानीको दह हेर्न पाउनुहुन्छ । वरिपरि हरिया डाँडा हेर्न पाउनुहुन्छ । बिहानको सूर्योदय हेर्नुहोस् साँझको सूर्यास्त हेर्नुहोस्, के छैन यहाँ । यहाँ जंगली जनावरहरु खुल्लारुपले हिँडेको हेर्न सकिन्छ ।
भएको कुरा बेच्न नसकेको हो हामीले ?
व्यवस्थापन गर्न नसक्या । आजभन्दा ५० वर्ष अघि पनि हामी आफैले सुरु गरेको पर्यटन हो र ?विदेशीले भनेपछि गरेको हो । विदेशीको पछिपछि दौडिएका हौँ हामी । अहिले पनि हामीसँग व्यवसायिक सोच छैन अहिले पनि अतिथी देवो भव ःभन्दै उनीहरुको सेवा गरेर पैसा खर्च गराउन सकेका छैनौँ । अहिले हामीले ३ सय होमस्टेको स्थापना थालेका छौँ । गाउँमा पर्यटक जाँदा भोकै बस्न नपरोस् र गाउँका मान्छेले गाउँमै रोजगारी पाउन् भनेर यो गरिएको हो । होटलको प्ूर्वाधार सिजनको लागि मात्रै हुन्छ । हाम्रो समावेशी समाजमा भएको विविधतामा एकता होस् भन्ने पनि हो ।
३ सयमध्ये मुस्किलले आधा पनि होमस्टेको चल्दैन भन्छन्, पर्यटन बुझेकाहरुले, तपाईँले भकाभक कार्यकर्तालाई १० लाख बाँड्यो भन्छन् त ?
को हो त्यस्तो हेर्न जाने मान्छे हेराउन जान्ने मान्छे ,अनि चल्दैन भन्ने ? कसरी हामीले खुरुखुरु बाँडेका छौँ । हामीले कार्यविधी बनाएका छौँ । हाम्रो कार्यविधि नै बलियो छ । मेरो कार्यकर्तालाई पैसा बाढ्ने छ कि कार्यविधि कठोर छ ? हामीले जसलाई पैसा दिएका छौँ, उनीहरुले निष्ठाले काम गरेका छन् । अहिले लगेकामध्ये एउटाले मात्रै दुरुपयोग गरेको कुरा आयो भने म जवाफ दिन्छु । हामीले जे दिएका छौँ, त्यहाँ इमान्दारिता र निष्ठाले काम गरेका छन् । कसैले व्यक्तिगत काम गरेका छैनन् । पार्क व्यवस्थित गरेका छन् । बिजुली लगेका छन् । सामुदायिक भवन बनाएका छन् । यसले राष्ट्रिय अर्थतन्त्र र विकासलाई पनि टेवा दिएको छ ।
त्यसले प्रतिफल देला त ?
तपाईँले मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । जुन बेला,२०५१ सालमा हामीले आफ्नो गाउँ आफै बनाऊँ भन्ने नारासहित काम गरेका थियौँ । होमस्टेले पनि यस्तै गर्छ । विकासको मूल फुटाउँछ , यसले रोजगारी सृजना गर्छ । गाउँगाउँका होमस्टेमा कति मान्छे पुगेका छन्,तपाईँले हेर्नुहोस् त!आज काठमाण्डौबाट मान्छे गाउँगाउँका होमस्टेमा कति मान्छे पुगेका छन् ? तपाईँलाई थाहा छ ? त्यो हिमाल, गुफा, ताल हेर्नका लागि,जैविक विविधता हेर्नका लागि मान्छेहरु आउँछन् ।
तर, प्रचारमा कमजोर छ भन्छन् नि ?
प्रचारको कमी हैन,पूर्वाधारको कमी हो,पोखराको हकमा त्यो पनि हामी मिलाउँदै छौँ ।
कनेक्टीभिटी पनि होला नि ?
हो, समस्या छ तर हामी मिलाउँदै छौँ । हामीले केही मागेका छैनौँ, काठमाण्डौबाट पोखरा आउने बाटो दुई घण्टाको बनाइदिनुहोस्, यहाँ एयरपोर्ट बन्दैछ, त्यो समयमा नै पूरा हुने वातवरण बनाइदिनु भो भने हाम्रो माग हो । हामी विदेश जाँदा २ सय किलोमिटर २ घण्टामा पार गर्छौ, हामी काठमाण्डौबाट पोखरा आउँदा किन ६ घण्टा ? किन दिनभरी लाग्ने ? हामीलाई एडिबी ( एसियाली विकास बैंक) ले भैरहवाबाट पोखरा आउने बाटो २ घण्टाको बनाइदिए केही चाहिँदैन । हामी यहाँबाट सातै प्रदेशमा हवाई सम्बन्ध कायम गर्दैछौँ । चाइनिजलाई हामी गाडीबाटै यहाँ ल्याउँदैछौँ, इण्डियनहरुलाई सहजै ल्याउन सक्यौँ भने पर्यटन भनेर हामी धेरै टाढा जानै पर्दैन ।
मन्त्रीज्यू, पोखरा रातभर खोल्ने वातावरण कहिले बन्छ ?
नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि,पर्यटकको बसाई लब्याउनको लागि , उनीहरुलाई खुसी बनाउनेको लागि, उनीहरुलाई हसाउँनको लागि हामीले पर्यटन व्यवसायमा धेरै व्यवस्थापन गर्नुछ । मलाई होटल व्यवसायीको गुनासो आएको छ, काठमाण्डौबाट पोखरा आउँदा बाटोमा सानो घटना हुन्छ, घण्टौँ बाटो रोकिन्छ र उनीहरु मध्यरातपछि पोखरा आउँछन् । यहाँ आएपछि पर्यटकले खानै पाउँदैनन् । उनीहरु छोटो समयको लागि आएका हुन्छन् । छोटो समयको लागि आएका पर्यटकले कहाँ के गर्ने ? यसको लागि पर्यटकको लागि २४सै घण्टा खुल्ला हुनुपर्छ भन्ने हो । त्यसको लागि नेचर, कल्चर, एडभेञ्चर र रिक्रियसन के चाहिन्छ,दिनुपर्छ भन्ने हो । उनीहरुले खर्च गर्नेगरी वातावरण होटल व्ययवसायीले निर्माण गर्नुप¥यो । हामीले गर्ने पर्यटन व्यवसाय अनि यो पनि गर्न पाउँदैनस्, त्यो पनि गर्न पाउँदैनस् भन्न कसरी मिल्छ ? यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर छेकेर पर्यटन व्यवसाय हुन्छ ?हाम्रो पर्यटन व्यवसायभ भनेको माथिल्लो तलामा बस्ने, बीचकोमा होटल राख्ने र तल्लो तलामा स्कूल चलाउने तालको छ । एउटा पर्यटक आएर नाच्न खोज्यो भने,बाहिर हिड्न खोज्यो भने पुलिसले रोकेर हुन्छ अब ?त्यसको लागि एउटा एरिया नै छुट्याइदिने, त्यहाँ पर्यटकहरु रातभर रमाउन् ।
भनेको बहुचर्चित इन्जोय जोन ?
पर्यटकहरुलाई रातभर मनोरञ्जन दिने कुन नराम्रो कुरा हो ? पर्यटकलाई आउनुहोस्,हामीकहाँ फाइभस्टार छ, थ्रि स्टार राम्रो होटल छ भन्न हुने अनि उनीहरुलाई मनोरञ्जन दिन किन नहुने ? कानूनले बर्जित गरेका कुरा, कानूनले रोकेका कुरा केही पनि हुँदैन । तर, कानूनले व्यवस्थापन गरेका कुरा गर्न पर्यटन व्यवसायीले पाउनुपर्छ । इन्जोय जोन भनेर के बुझ्नुभो तपाईँले ? त्यहाँ कुनै पनि समय होटल बन्द हुँदैन । त्यहाँ सुरक्षाको प्रबन्ध हुन्छ र तपाई रातभर मज्जाले रमाइलो गर्न पाउनुहुन्छ भन्ने कुरा भन्न पाइँन्न ।
यो जोन कहाँ बन्छ ?
पोखरामै बन्छ । पोखराको वरपर बन्छ र त्यो ठाउँ हामी खोज्दैछौँ ।
आन्तरिक पर्यटन वर्षको काम सुस्त देखिएको छ नि ?
अहिले गति लिएको छ । भदौबाट नेपालमा १५ लाख पर्यटक आउँछन् । भारतका सम्मानीय प्रधानमन्त्री मुक्तिनाथ आउँदा नै यहाँ हजारौँ पर्यटक आएका छन् । काठमाण्डौैमै भएका ६० लाखमध्ये केही पर्यटक यहाँ आए हामीलाई पुग्छ ।
ब्राण्डिङ कसरी गर्ने ?
हामीले ह्यापी मुडमा जानकारी दिनुप¥यो । राम्रो मुखले पोखरा आएकालाई ढोरपाटन लैजानुप¥यो । त्यहाँ राम्रो छ भन्नुप¥यो ।
अन्त्यमा तपाईको कार्यकाल पाँचवर्षे नै होस् भन्ने कामना गर्दै त्यो पाँच वर्षमा तपाईँले नै घोषणा गरेका कतिवटा काम बनेका हुनेछन् होला ?
विकास र शिक्षा प्रक्रिया हो । पाँचवर्षपछि तपाईले सोचेभन्दा बढी भयो भन्ने वातावरण बन्छ र त्यो बेला तपाईँले सोध्नुभयो भने म भन्न सक्छु, हामीले धेरै ग¥यौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology