पीडितको कुरा सुन्दै दुव्र्यसन छोडाउन आत्मबल बढाउँदै कास्की प्रहरी

पोखरा,२ साउन – कास्की प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका तर गम्भीर प्रकृतिका अपराध नगरेकाहरुलाई यही महिनाबाट सामाजिक सेवामा लगाउन थालेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ दर्जन व्यक्तिहरुलाई सुधारको लागि सामाजिक काममा लगाइएको छ । उनहरुलाई बृद्धाश्रमलगायतका ठाउँमा सेवा गर्न पठाइएको प्रहरीले जनाएको छ । यसैगरी,लामो दूरीमा चल्ने सार्वजनिक सवारी चालकहरुलाई छुट्ने समयमा मादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने, यात्रुहरुलाई यात्राको क्रममा सावधानी अपनाउन आग्रह गर्ने एवं लागूऔषध दुव्र्यसनीहरुलाई आत्मबल बढाउँदै ‘ म गर्न सक्छु’ भन्ने अभियान पनि चलाइएको कास्की प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
‘लागूऔषध दुव्र्यसनीलाई दुव्र्यसन छाड्न सक्छु भन्ने बनाउने र उनीहरुलाई गाली गरेर, कारवाही गरेर हैन कि आत्मबल बढाएर सुधार्ने हाम्रो लक्ष्य हो’, उनले भने,‘ कम्तिमा यो अभियानबाट १० प्रशितत मात्रै सफलता मिल्यो भने पनि ठूलो कुरा हुन्छ ।’ उनका अनुसार पक्राउ परेका लागूऔषध प्रयोगकर्ताहरु हिरासतमा बर्बराउने, चिटचिट पसिना आउने, अनायाशै उत्तेजित हुने र आफूजस्तै थुनुवाहरुसँग झगडा समेत गर्छन् । धुनेको केही दिनपछि भने उनीहरुको बानी बिस्तारै बदलिँदै जान्छ । बानी बदलिएपछि उनीहरुसँग प्रहरीले मनोसामाजिक परामर्श थाल्छ । ‘अहिले कस्तो छ, लागूऔषध नखाए पनि बस्न सकिँदो रहेछ कि सकिँदो रहेनछ ?’, आफूहरुले उनीहरुसँग सोध्ने गरेको बताउँदै प्रहरी उपरीक्षक कार्कीले भने,‘ तिमी १० दिन नखाई बस्न सक्छौँ भने अब कहिल्यै पनि नखाने हुनसक्छौ भन्दै उनीहरुलाई सकारात्मक तरिकाले सम्झाइँन्छ ।’ कास्कीमा लागूऔषध सेवन गर्नेहरुको संख्या ठूलो रहेको छ । गएको वर्षमात्रै प्रहरीले कास्कीबाट २ सय ५९ जना व्यक्तिलाई लागूऔषध कारोवारको आरोपमा पक्राउ गरेको थियो भने तीमध्ये १ सय ७० जनालाई मुद्धा चलाइएको थियो ।
यसैगरी प्रहरीले समुदाय प्रहरी साझेदारी कायमै राख्दै पीडितको घरमै पुगेर उनीहरुको पीडा सुन्ने काम पनि थालेको छ । ‘पीडकलाई कारबाहीको दायरामा ल्याए पनि पीडितको अवस्था के छ भन्नेबारे हामीले चासो दिएनौँ’, प्रहरी उपरीक्षक कार्कीले भने,‘ पीडितको कुरा सुन्ने र उनीहरुको पीडा कम गर्नु हाम्रो उदेश्य हो ।’
उनले कास्की प्रहरीले टोलटोलमा पुगेर प्रहरी सम्पर्क स्टिकर टाँस्ने काम पनि थालेको जनाए । घटना हुनासाथ प्रहरीलाई खवर गर्ने बानीको विकास गर्न, युवा पिँढीलाई सामाजिक संजाल र सूचना प्रविधिको सही उपयोगबारे सचेत बनाउने यो अभियानको उदेश्य रहेको छ । अहिले युवाहरुमाझ अन्तररंग सम्बन्ध कायम गर्ने र मनमुटाव हुनासाथ भएका सबै अन्तररंग सम्बन्धहरुका तस्वीर भिडियोहरु सामाजिक सञ्जालमार्फत छ्यापछ्याप बनाउने रोग देखिएको छ । ‘यस्ता सबन्धहरु बाहिरिँदा व्यक्तिहरुले आत्महत्यासम्मको प्रयास गर्ने अवस्था आएकोले हामीले यो अभियान चलाएका हौँ’, एसपी कार्कीले भने । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५ सयभन्दा बढी कार्यक्रम सम्पन्न गरिएको पनि उनले जनाए ।
लागूऔषध कारोवारीसँग पेनगन
पोखरामा कलमजस्तै लाग्ने पेनगन भेटिएको छ । लागूऔषध कारोबारको अखडा मानिएको पोखरामा असार २९ गते भने लागुऔषधसहित हतियार बरामद गरेपछि ’पेनगन’ को रहस्य खुलेको हो ।
प्रहरीले पेनगन र लागूऔषधसहित कास्कीकोटका सागर रानाभाटलाई पोखराको मासबारबाट पक्राउ गरेको छ । उनको साथबाट लागुऔषधसहित एक थान ’पेनगन’ र ०.२२ एमएमका सातवटा गोली पनि बरामद गरिएको थियो ।
यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेका रानाभाटसँग प्रहरीले १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरेको छ । रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजेपाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरामा भने,‘काठमाण्डौंपछि देशमै दोश्रोपटक पोखरामा पेन गन फेला परेको हो । पहिले हामीलाई यो ठाउँमा लागूऔषध कारोबारी भन्ने सूचना पाएपछि हामीले नेटवर्किङ, नेक्सस हे¥यौँ । सोही आधारमा रानाभाट पहिले पनि यस्ता गतिविधीमा संलग्न रहेको पाइयो, त्यसपछि खानतलासी गर्ने क्रममा ’पेनगन’ पनि भेटेका हौँ ।’ ‘पेनगन’ हेर्दा दैनिक प्रयोगमा आउने सामान्य पेनजस्तै आकारको देखिन्छ । फरक यति मात्रै छ कि, रिफिल हुने ठाउँमा स्प्रिङ र आउटरमा बुलेट राख्न मिल्छ । पेनको क्लिपले ट्रिगरको काम गर्छ ।
प्रहरीका अनुसार हलिउडका फिल्ममा प्रयोग हुने ’पेनगन’ले नजिकको दूरीबाट मान्छे मार्न प्रयोग गरिन्छ । एसपी कार्की भन्छन‘लागुऔषध कारोबारीले आफूले प्रयोग गर्न, धम्क्याउनको लागि, लागुऔषध कारोबार चलाउने उद्देशश्यका लागि प्रयोग गर्न राखेको हुनसक्छ ।’एसपी कार्कीले ब्याकग्राउण्ड, हिस्ट्री र ट्रयाक रेकर्डका आधारमा थप अनुसन्धान गरिने बताए ।यसअघि ०६८ साल असारमा ’पेनगन’सहित काठमाडौंबाट दुईजना युवा पक्राउ परेका थिए । संघीय राजधानी काठमाण्डौपछि पेनगन फेला परेको यो दोश्रो पटक हो । मुलुकमै दोश्रोपटक फेला परेको पेनगन नेपालमा नबन्ने र भारतीय नक्सलवादीहरुले प्रयोग गर्दै आएको प्रहरी अधिकारीले बताएका छन् । कास्की प्रहरी प्रमुख कार्की भन्छन्, ‘पेनगन कहाँ ल्याइएको ठ्याक्कै यकिनै गर्न सकिँदैन, अनुसन्धान गर्दैछौँ, तर नेपालमा भने यो बन्दैन ।’
अवैध सम्बन्ध लुकाउन पेशेबर हत्यारा प्रयोग गरी आफ्नै श्रीमतीको हत्या
कास्की प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा साली नाता पर्ने एक युवतीसँग सम्बन्ध जोडिएपछि पेशेवर हत्यारा लगाएर आफ्नै श्रीमतीको हत्या गर्ने व्यक्तिलाई पनि सार्वजनि गरेको छ ।
पोखरा–१५,कान्तिपुरचोकमा बस्दै आएका ३३ वर्षीय रमेश नेपालीले आफ्ना केही साथीको सहयोगमा भारतबाट हत्यारा बोलाएर गएको असार १ गते आफ्नै श्रीमती २७ वर्षीया लक्ष्मी नेपालको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि नाताले साली पर्ने २९ वर्षीय अनु नेपालीसँग सम्बन्धमा थिए । सो सम्बन्धबारे श्रीमतीले थाहा पाएपछि उनकी प्रेमिकाले नै रमेशसँग दिदीलाई ‘ साइड लगाउन’ आग्रह गरेकी थिइन् । अनुको आग्रहमा रमेशले पोखराको पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्दै आएका सर्लाही ईश्वरपुर–तिनघरिया स्थायी घर भएका २६ वर्षीय चित्राञ्जन साह र भोजपुर–५ घर भई पोखराको महेन्द्रपुलमा मोवाइल पसल गर्ने ३२ वर्षीय संजय शर्मासँग एक जना आइमाईललाई मार्नु प¥यो, सहयोग चाहियो भनेका थिए ।
अभियुक्तहरुका अनुसार रमेशले मानुपर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत भनेका थिएनन् । उनले ‘ मान्छे मारे राम्रो पैसा आउँछ’चाहिँ भनेका थिए । रमेशको आग्रहमा साहले भारत पुगेर ३ जना पेशेवर हत्यारा खोजेका थिए । पेशवर हत्याराहरु जेठ ३१ गते पोखरा आए । उनीहरुलाई पोखरामा एक होटलमा राखियो । होटलमा राखेपछि मारेर फाल्ने ठाउँको खोजी भयो । उनीहरुले पोखरा–२२ को कर्कले भन्ने ठाउँको जंगलमा लक्ष्मीलाई लैजाने र मानेै योजना बनाए ।
योजना अनुसार रमेशले पेशेवर हत्यारालाई पेश्कीस्वरुप १ लाख रुपैयाँ दिए । उनीहरुलाई पहिल्यै जंगलमा पठाइयो । रमेश भने खुट्टामा एलर्जी भएकी श्रीमतीलाई ‘जाऊँ घाउमा लगाउने जडिबुटी खोजौँ’ भन्दै जंगल लिएर गए । जंगलमा केही जडिबुटी खोजेजस्तो पनि गरे । त्यस्तैमा उनले अकस्मात मलाई पिसाब लाग्यो तिमी खोज्दै ( जडिबुटी ) घर भनेर आफू अर्के तिर लागे । त्यत्तिकैमा पहिल्यै जंगललमा लुकेका पेशेवर हत्याराले सलले मुख बाँधेर, घाँटी रेटेर लक्ष्मीको हत्या गरे अनि शब लुगासहित पुरेर हिँडे ।
हत्यापछि रमेशले ५ लाख रुपैयाँ हत्यारालाई दिए र बाँकी ४ लाख साहमार्फ पछि दिने भनेर हिँडे । पेशेवर हत्यारा आफ्नो बाटो लागे । रमेश भने आफ्नी श्रीमती हराएको उजुरी बोकेर बिलौनागर्दै जिल्ला प्रहरी कार्यालय पुगे । उनले श्रीमती खोजिदिन सार्वजनिक संचारमाध्यमसँग आग्रह पनि गरे । पछि लक्ष्मीकी आमाले पनि हराएकी छोरी खोज्न प्रहरीकहाँ निवेदन दिइन् । गहिरो अनुसन्धानमा लागेको प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ ग¥यो । पक्राउपछि पोल खोल्यो,‘हत्या रमेशले नै गरेको हो ।’ अहिले रमेशसहित साह र शर्मा थुनामा छन् । हत्यामा संलग्न भारतीयहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
आत्महत्या, बलात्कार बढ्दो
कास्की प्रहरीले बितेको एक वर्षमा १ सय २८ जनाले आत्महत्या गरेको जनाएको छ । आत्महत्या हतास मानशिकताको उपज भए पनि आत्महत्याको बढ्नुलाई प्रहरीले गम्भीर रुपमा लिएको बतायो ।
‘आत्महत्या बढ्नुमा सामाजिक कारणहरु हुनसक्छन्, हाम्रो समाज कता जाँदैछ भन्नेबारे अब हामीले अनुसन्धान गर्नुपर्ने भएको छ’, कास्की प्रहरी प्रमुख कार्कीले भने,‘ यो सामाजिक अध्ययनको विषय पनि हो ।’ उनले बलात्कार,ज्यामार्ने उद्योगसहित लागूऔषध दुव्र्यसनका घटना बढ्दै गएकोमा प्रहरी सचेत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology