ताराखोला गाउँपालिकामा किसानलाई सघाउन “म्यासेज बक्स”

बागलुङ, २८ साउन – किसानको सहायताका लागि जिल्लाको ताराखोला गाउँपालिकाले ‘म्यासेज बक्स’ पत्र मञ्जुसा सञ्चालनमा ल्याउने भएको छ । गाउँमा किसानले उत्पादन गरेका बस्तुको बजारका उपभोक्तासम्म सन्देश पुग्नेगरी ‘म्यासेज बक्स’ सञ्चालनमा ल्याउन लागिएको हो । गाउँका किसानले उत्पादन गरेको बस्तु खेर जाने र शहर बजारका उपभोक्ताले गाउँको उत्पादन प्रयोग गर्न चाहँदा चाहँदै नपाउने अवस्था रहेकाले स्मार्ट फोनमा प्रयोग हुने ‘म्यासेज बक्स’ सञ्चालनमा ल्याउन लागिएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख होम बहादुर थापाले बताए । नेपाल टेलिकमसँग सहकार्य गरेर सञ्चालनमा आउने ‘म्यासेज बक्स’ ले गाउँका किसानले उत्पादन गरेको कृषिजन्य बस्तु तथा सेवाको बिषयमा कृषि शाखालाई जानकारी गराउने छ । गाउँपालिकाको कृषि शाखाले उत्पादित बस्तु तथा सेवाको बिषयमा बजारका बिक्रेतालाई जानकारी गराएर कृषि उपजको बजारीकरणमा सहजता हुने छ । गाउँपालिकाभरि व्यवसायीक रुपमा कृषिजन्य उत्पादनमा संलग्न कृषकको नम्बर र बजारका क्रेताको नम्बर समेत राखेर सन्देश आदानप्रदान गर्न सकिने गरी ‘म्यासेज बक्स’ बन्ने थापाले जानकारी दिए ।
‘गाउँमा कयौं उत्पादनहरु बिक्रीका लागि हुन्छन् तर बजारको जानकारी नभएकाले त्यसै सडेगलेर गैरहेका छन्’ थापाले भने ‘हामीले समेत किसानले के कति फलाए भन्ने बिषयमा जानकारी नपाउने भएकाले ‘म्यासेज बक्स’ सञ्चालनमा ल्याउन थालेका हौं ।’ १ हजार ५ सयदेखि २ हजारसम्म मोबाईल नम्बरमा एकै पटक सन्देश पठाउन मिल्नेगरी बन्ने ‘म्यासेज बक्स’ले गाउँपालिकाका कार्यक्रमको बिषयमा किसानलाई जानकारी गराउन समेत सहयोग गर्ने थापा बताउँछन् ।
‘हामीले काम गर्दा गरेको अनुभवको आधारमा यो प्रबिधि प्रयोगमा ल्याउन थालेका हौं’ थापाले भने ‘आवश्यक प्रकृया पुरा गरेर छिट्टै सञ्चालनमा आउँछ ।’ किसान र कृषिका प्राबिधिकको बिचमा सन्देश आदानप्रदान गर्न समेत यो प्रबिधिले सहयोग गर्ने छ । सूचना पाउने नागरिकको अधिकार प्रत्याभूतीका लागि समेत ‘म्यासेज बक्स’ सहयोगी बन्ने थापाले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology