पर्यटनमन्त्रीे योगेशको दायित्व

कास्कीका होनाहार युवा नेता रवीन्द्र अधिकारीको दुखद निधनपछि रिक्त रहेको पर्यटनमन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । हवाई दुर्घटनामा रवीन्द्रको निधनपछि सो मन्त्रालय लामो समयसम्म खालि नै रहेको थियो । रवीन्द्रले आफू मन्त्री हुँदा पर्यटन मन्त्रालयमा केही सकारात्मक कामहरुको थालनी गरेका थिए । उनी क्रियाशिल त थिए नै, दूरदर्शिता पनि उनको गुण थियो । जनअपेक्षा अनुरुप काम गर्न सक्नु र कामको परिणामप्रति ध्यान दिनु उनको खुवी थियो । रवीन्द्र रहेनन् । उनको अभाव अहिले पनि खड्किएको छ । उनले शुरु गरेका योजनाहरु कार्यान्वयनले सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्नेछ ।
अब यो जिम्मेवारी योगेशको काँधमा आएको छ । ताप्लेजुङबाट राजनीतिमा उदाएका योगेश तत्कालीन एमालेभित्रका केही क्षमतावान नेतामध्ये पर्थे । उनले तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियूको अध्यक्षको जिम्मेवारी पनि सफलापूर्वक सम्पन्न गरे । स्पष्टवक्ताको छवि बनाएका उनी पहिलो पटक सांसद भएका हुन् । चुनावी प्रचार कार्यक्रममा नै उनलाई मन्त्री बनाउने वचन दिइएको थियो । पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा योगेशले मन्त्री बन्ने अवसर भने पाएनन् । योगेशलाई मन्त्री नबनाइएकोमा केपी ओलीको आलोचना समेत भयो । तर, अहिले भने योगेशलाई केपी ओलीले आफ्नो मन्त्रीमण्डलको प्रभावशाली मन्त्रालय थमाएका छन् । अब योगेशलाई यो अवसरको सदुपयोग गर्दै आफूलाई अब्बल सावित गर्नुपर्ने चुनौति रहेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको तिथी नजिकिँदै गर्दा यसको तयारी भने सुस्त देखिएको छ । कागजमा भ्रमण वर्ष घोषणा गरेर मात्रै लक्ष्य प्राप्ति हुने होइन । यसको लागि व्यापक तयारी गर्नुपर्छ । विश्व बजारमा नेपालको प्रचार गर्नु, नेपाल आउन पर्यटकको बसाई लम्ब्याउनु र नेपालको आफ्नै ध्वजाबाहक विमानलाई विभिन्न गन्तब्यमा पु¥याउनु पर्ने अहिलेको आवश्यकता हो । नेपाली ध्वजाबाहकलाई अहिले युरोपियन युनियनले कालो सूचीमा राखेको छ । कालो सूचीबाट बाहिर ल्याउन सकिएन भने यसले समग्र पर्यटन उद्योगमा असर पार्ने निश्चित छ । अत ः मन्त्रीको रुपमा योगेशले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । समस्याहरु धेरै छन् । नीतिगत निर्णयदेखि विमास्थल निर्माणका कामहरु समयमै सम्पन्न गर्नु पनि अर्को महत्वपूर्ण काम हो । यी सबै काम गर्नको लागि अब सुस्त गति क्षम्य हुँदैन । दिन नजिकिँदै गर्दा अब युद्धस्तरमा तयारी थाल्नुपर्छ । योगेशले गर्नुपर्ने पहिलो काम नै यही हो । यसका साथै पर्यटनलाई आर्थिक सम्वृद्धिको आधार बनाउने दिशामा पनि गर्नुपर्ने कामहरु धेरै छन् । नेपालको पर्यटन उद्योगले कूल ग्राहस्थ उत्पादनमा दिएको योगदान अहिले पनि न्यून नै छ । पर्यटनमा गरिएको लगानीको तुलनामा यसले राष्ट्रको अर्थतन्त्रलाई पनि योगदान दिनुपर्छ । राष्ट्रको अर्थतन्त्रलाई योगदान दिन सक्ने बनाउन नेपालले खर्चालु पर्यटक भित्र्याउने अभियान थाल्नुपर्छ । आएका पर्यटकहरुलाई यहीँ अड्याउन सक्नुपर्छ । योगेश युवा हुन् । उनीसँग देशले ठूलो अपेक्षा राखेको छ । बढी आशा गरिएका नेताका रुपमा योगेशले जनअपेक्षा पूरा गर्न त्यति नै बढी सक्रियता देखाउनु जरुरी छ । रवीन्द्रको उत्तराधिकारीको रुपमा उनले जनअपेक्षा पूरा गरुन् सफल कार्यकालको शुभकामना!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology