साग र पोखरा

नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद ( साग)को तयारीमा छ । चालु अंग्रेजी वर्षको डिसेम्बर १ देखि सुरु हुने १० दिने महाकुम्भलाई सफल बनाउन पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । दक्षिण एसियाली सहयोग संगठन ( सार्क ) कोमामा रहेको बेला हुने खेलकुद प्रतियोगिताको आयोजकको रुपमा नेपाललाई कम्तिमा सार्क राष्ट्रहरुलाई एकपटक एकै ठाउँमा उभ्याउने मौका मिलेको छ । नेपाल सार्कको पनि अध्यक्ष हो । सार्क नजिकिँदे गर्दा पूर्वाधार निर्माणका कामहरु समयमै सम्पन्न नहुने हो कि भन्ने चिन्ता बढेको छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको राष्ट्रिय खेलकुद परिषदले समयमै काम सक्ने प्रतिवद्धता व्यक्त गरेको छ । यो प्रतिवद्धता व्यवहारमा उत्रिए विश्व खेलकुद रंगमञ्चमा नेपालको छवी केही उज्यालो बन्ने निश्चित छ । नत्र, नेपालको खेलकुदमा भएको चरम राजनीतिकरण,गुटबन्दीलगायतका रोगबारे सारा विश्वको खेलकुद जगत नै जानकार छ नै ।
सागसँग पोखरा र गण्डकी प्रदेश जोडिन पुगेको छ । सागका केही खेलहरु पोखरामा आयोजना हुने निश्चित भएको छ । ह्याण्डबल, भारोत्तोलन, आर्चरी, प्याराग्लाइडिङ र ट्रायथोलन पोखरामा आयोजना गरिने यसअघि नै निश्चित भएको हो भने महिला फुटबल र महिला क्रिकेट पनि पोखरामा आयोजना हुने सम्भावना रहेको छ । तर, पूर्वाधारको हालत भने पोखराको पनि लाजमर्दो नै छ । पोखरा रंगशालामा प्याराफिटसहितको फुटबल मैदान तयार हुँदैछ । मैदान बनाउने क्रममा त्यसको घाँसे मैदान नै कृतिम बनाउने निर्णय भयो । तर, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले त्यो निर्णय उल्ट्याए । पोखराजस्तो ठाउँमा प्राकृतिक घाँसे मैदान बनाउने भन्दै त्यहाँ बिच्छ्याइएको गिट्टी निकाल्न थालिएको छ । खेल सुरु हुने बेलासम्म प्राकृतिक घाँसे मैदान तयार हुने हो कि नहुने हो भन्नेमा द्धिविधा छ तर समयमै बन्ने अपेक्षा गरिएको छ । अन्य खेलहरुको लागि पनि मैदान तयार हुँदैछन् । कामको गतिलाई लिएर शंका जनाए पनि उत्साहको कमी छैन । त्यही उत्साहको बलमा पोखराले आफूलाई दिइएको जिम्मेवारी राम्रैसँग पूरा गर्नेछ भन्ने आशा गरिएको छ ।
खेलकुद आयोजनाले खेलको विकास मात्र हुँदैन ,पर्यटन प्रवद्र्धनमा पनि सघाउँछ । पोखरामा केही खेल आयोजना हुने भएपछि निश्चय पनि पोखराको प्रवद्र्धन हुन्छ । यहाँ आउने खेलाडी, अफिसियल र दर्शकको माध्यमबाट सार्क देशमा मात्रे पोखरा र गण्डकी प्रदेशको सौन्दर्यबारे जानकारी पस्कन सकिन्छ । त्यति मात्रै नभएर संचारमाध्यमले खेल गतिविधिबारे जानकारी दिँदा स्वभाविक रुपले पोखराको पनि प्रचार हुन्छ । त्यसैले समग्र गण्डकी प्रदेश र पोखराको लागि यो ठूलो अवसर हो । आफूलाई प्राप्त अवसरको सही सदुपयो गर्दै खेलको र पूर्वधारको स्तारेन्नति, पोखराको प्रचारको अवसरलाई भरपुर सदुपयोग गर्न खेल सम्बद्ध संघ÷संस्था, सिंगो गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले मेहनत भने गर्नैपर्छ । थला परेको नेपाली खेलकुदलाई सही मार्ग देखाउन र खेलकै माध्यमबाट पोखराको प्रवद्र्धन गर्ने काममा कहिँकतै खोट देखिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology