मस्तिष्कघात ? कसरी बच्ने ?

मानव मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई (कार्यगत असक्तता) चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ । मस्तिष्क घात भएका अधिकांश बिरामीलाई पक्षघात पनि प्रायः हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा जस्ता नामले पनि सम्बोधन गरिन्छ । हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्क घात अस्पतालहरुको सघन उपचार कक्ष (आइसियु) प्रवेश र विश्वव्यापी शारीरिक असक्तता प्रमुख कारण पनि हो । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड पचास लाख मानिस मस्तिष्क घातको शिकार हुन्छन् । जसमध्ये पचास लाख मानिस यही रोगका कारण यो लोक छोड्न बाध्य छन्भने ५० लाख शारीरिक अशक्त भएर नारकीय जीवन जीउन बाध्य छन् । बाँकी रहेका पचास लाखमध्ये १५÷१६ लाख चिकित्सकीय सेवापश्चात् सामान्य जीवनमा फर्किएका छन् । ३४÷३५ लाख सामान्य शारिरीक अशक्तता साथ बाँचिरहेका छन् । अप्रत्याशित रूपमा अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश शारिरीक अशक्तता भई परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने हुन्छ । यो समस्याको मुख्य कारण भने मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ ।
मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खरगतको थक्का जमेर वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक तत्व र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्क घात भनिन्छ । मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रोसेसिङ एकाई पनि मस्तिष्क नै हो । मस्तिष्क घात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा ज्यानै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन् ।
कसलाई हुने सम्भावना बढी रहन्छ ?
उमेर ढल्किएका ५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएका, उपरोक्त रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अति ब्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्त सञ्चार प्रणाली सम्बन्धि समस्या, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ । यसबाहेक रक्तस्राव सम्बन्धी समस्या, जस्तै– घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधी खाने महिलाहरु, परिवारमा मस्तिष्क घातका इतिहास भएकाहरु, टाइप ’ए’ व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्क घात ज्यादा गरेको पाईन्छ ।
मस्तिष्क घातका लक्षणहरु
अचानक सहनै नसक्नेगरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्लिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुनु मस्तिष्क घातका लक्षण हुन् ।
मस्तिष्क घात आपतकालीन स्थिती भएकाले माथि उल्लेखित लक्षण देखिने बित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सकियो, त्यति नै धेरै बचाउन वा अशक्तता कम गराउन सकिन्छ । मस्तिष्क घातको आपतकालीन अवस्था सम्हाल्न न्युरोलोजिष्टहरुको टिम नै चाहिन्छ भने रेडियोलोजिष्ट र प्याथोलोजिष्टहरुको पनि उत्तिकै भूमिका हुन्छ । घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआइ, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलर जस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त तथा मूत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ । आपतकालीन व्यवस्थापनका लागि सघन उपचार कक्ष हुन नितान्त जरुरी छ । घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितीका आधारमा औषधी वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ ।
मस्तिष्क घातपछिका समस्या
सघन तथा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन । बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन्भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका शारिरीक अशक्तता देखापर्छ । मस्तिष्क घातले आघात पुर्‍याएको स्नायु केन्द्रको स्थिती र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृति देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो । अन्य समस्यामा एकापट्टिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरण शक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मक रूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छ ।
उपचाार
आपतकालीन उपचारपश्चात मस्तिष्क घात फेरि हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ भने घातपछि देखिएको विकलाङ्गताको निवारण गर्न पुर्नस्थापना नितान्त जरुरी छ । सही समयमा पुर्नस्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनबाट बचाइ दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ । पुर्नस्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङ स्टाफ, स्पिचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्य र सहयोगीहरुको सामूहिक प्रयास हो । एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापी जस्ता उपचार स्थिती हेरेर सघन उपचार कक्षबाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । प्यारालाइसिस भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुर्नस्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ । केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको शारीरिक अशक्ततालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरिथरिका थेरापी र विधि प्रयोग गर्छन् । तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मसल स्ट्युमुलेसन, तेल मालिस, अकुपञ्चर, गेट–ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसावको सम्हार, नर्सिङ केयर जस्ता उपचार पर्छन् ।
सावधानी तथा बच्ने उपाय
–४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जाँच गराउने गरौं । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खाऔं वा जीवनशैली परिवर्तन गरौं । औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्ने नगरौं । –धूमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगरौं । –शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौं । –नियमित हल्का व्यायाम गर्ने बानी बसालौ तर जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नुहुँदैन । –स्वस्थ्यकर खाना खासगरी मसिनो मीठोभन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिऔं । तेल, घिउ, बोसो जस्ता चिल्ला पदार्थ कम खाऔं । भिटामिन (इ) युक्त खाद्य्पदार्थ खानामा अवश्य समावेश गरौं । –तनावलाई बिदाई गरौं । विश्रामलाई र मनोरन्जनलाई आत्मासाथ गरौं । भावनालाई वशिभूत गरौं । जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भएकाहरुले जीवनशैली परिवर्तन गरौं । –चिसोबाट जोगिऔं । चिसोमा रक्तनलीहरु साँघुरिएर रक्तचाप बढ्न गई मस्तिष्क घातको समस्या ज्यादा देखिन्छ । –मष्स्तिक घातका जोखिम मानिने शारीरिक समस्या, जस्तै– नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलाटेसन जस्ता समस्या बेलैमा निवारण गर्नतिर लागौं । –हरियो साग सब्जी र भेज खानामा जोड दिनुपर्छ । घिउ खाँदै नखाने, तेल एकदम कम खाुपर्छ । खसीको मासु कम खाने, सकभर नखाएको राम्रो । कुखुराको मासु पनि कम खाने । अब रोग अनुसार हेर्ने हो भने प्रेसर, सुगर, कोलस्ट्रोलको नियमित चेक गर्ने यस्ता कुरामा ध्यान दिने समयमा स्वास्थ्य परीक्षण गर्ने हो भने ८० प्रतिशत मस्तिष्क घातबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology