`

नेकपा सचिवालय : दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी

  • प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी पार्टी सचिवालयलाई दिएका छन्।
  • काठमाडौं, २५ भदौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी दिइएको जानकारी दिए। ‘दल दर्ताका लागि महासचिवलाई जिम्मेवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने। निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। २०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकोले नेकपाले उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो।
    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी पार्टी सचिवालयलाई दिएका छन्। चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि भएको जनाउँदै ओलीले बैठकमा राष्ट्रपति सीको भ्रमणको तयारी भइरहेको बताएका हुन्।
    ‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नै राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको हो, राष्ट्रपति सी चाँडै नेपाल आउने अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने। तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ मंगलबार बेइजिङ फर्केका छन्।
    चीनका विदेशमन्त्री वाङ फर्केको भोलिपल्ट प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा गरेको ब्रिफिङबाट अब राष्ट्रपति सीको नेपाल भ्रमण सुरनिश्चित भएको ठानिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले भारतसँगको पेट्रोलियम पाइपलाइनको उद्घाटन, सिंगापुरमा भएको आफ्नो उपचारसहितका विषयमा सचिवालयलाई जानकारी गराएका थिए।
    प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै बुधबारको बैठक छोट्याइएको सचिवालय सदस्यहरूले बताएका छन्। ‘प्रधानमन्त्री ओली अझै पूर्ण रुपमा ठिक भैसक्नु भएको छैन, पछिल्ला केही विषयमा जानकारी गराएर अन्य विषयमा प्रवेश नै नगरि बैठक सकियो,’ सचिवालय ती सदस्यले भने। सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि बुधबार पहिलो पटक सचिवालयको बैठक बसेको हो। ओलीकै अध्यक्षतामा बसेको बैठकमा माधवकुमार नेपालसहितका नेताहरु उपस्थित भएका थिए।
    ‘बाहिरबाट हेर्दा माधवकुमार नेपाल र ओलीबीच सम्बन्ध राम्रो नभएको जस्तो देखिन्छ तर भित्र त्यस्तो समस्या छैन, सम्बन्ध सौहाद्रपूर्ण नै छ’, सचिवालयका सदस्य भन्छन्, ‘दुवै नेताहरु छलफलमा सहभागी हुनु भएको थियो र बोलचाल पनि भयो।’ प्रधानमन्त्री ओली र नेता नेपालबीच भदौ ५ गतेको बैठकमा चर्काचर्की भएको थियो।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology