`

धर्तीलाई धेरै नसताउँ, भूकम्प गराइदेला !

  • हामी केले बनेका छौं? हाम्रो शरीर पनि तिनै ढुंगा, माटोको तत्वले बनेको होइन र ?
  • भर्खर जन्मेको शिशुमा अलिअलि मात्रै चेतना हुन्छ, उसलाई ठीक के हो, बेठीक के हो, थाहा हुँदैन। उसलाई आफ्नो शारीरिक र मानसिक आवश्यकता नै संसारको सबैथोक हो जस्तो लाग्छ। अनि त्यो पूरा नहुँदासम्म ऊ चुप लागेर बस्दैन। भोक लाग्यो, गाह्रो वा बिरामी भयो भने ऊ रुन्छ, अनि आमाले काखमा लिन्छिन् र उसका आवश्यकता पूरा गरिदिन्छिन्। उसलाई यो संसारमा आफूबाहेक कुनै चिज छैन र भए पनि ती सबै कुराको कुनै महत्व छैन जस्तो लाग्छ। उसको त्यो सोचाइ उसकी आमाले उसका हरेक अवाश्यकता पूरा गरिदिनाले अझ बलियो बनेको हुन्छ। उसलाई लाग्छ– उसले जे सोच्छ, जे माग्छ त्यो पूरा हुन्छ।
    आफ्नी आमालाई न त उसले आदर गर्छ न त उनको दु:ख नै बुझ्ने कोसिस गर्छ। उसको सोचाइमा आमा भेनेकी आफ्नो सेवा गर्ने वस्तु हुन्छिन्, जसमा उसको अधिकार छ। रिस उठ्यो भने उसले आमालाई पिट्छ, चिथोर्छ, स्तनका मुन्टा टोकिदिन्छ। तर आमा सहेर बस्छिन्। आमालाई असह्य नै हुन थाल्यो भने हप्काउँछिन्, एक/दुई झापट पनि लगाउँछिन्। तर फेरि आफ्नो अंगालोमा बाँधेर माया गर्छिन्, अनि उसका सबै आवशयकता पूरा गरिदिन्छिन्।
    ती सबै देख्दा उसलाई लाग्छ– आमा एक वस्तु हुन्, जुन उसको उपयोगका लागि र सेवाका लागि भगवानले पठाएका हुन्, ऊ नै सर्वश्रेष्ठ हो। उसले मात्रै सबै कुरा जानेको छ। ऊ मात्रै चेतनशील छ। आमा त निर्जीव वस्तु हुन्। यदि उसका अरू दाजुभाइ दिदीबहिनी पनि रहेछन् भने उनीहरू पनि उसका सामु केही होइनन्, त्यसैले आमाको माया उसले मात्रै पाउनुपर्छ, आमामा अरूहरूको कुनै अधिकार छैन। हामीले हेर्दा त्यो शिशुको चेतनालाई सीमित चेतनाको संज्ञा दिन्छौं, उसलाई अज्ञानी भनेर उसका क्रियाकलापहरू हेरेर हाँस्छौं, किनभने हामीलाई थाहा छ, हाम्रो चेतना त्यो शिशुको चेतनाभन्दा धेरै माथि छ।
    वैज्ञानिकहरूको परिभाषाअनुसार जीवित प्राणीको चेतना भनेको आफूभित्र र बाहिरको वातावरणबारे ज्ञान हुनु र त्यसअनुसार आफूलाई परिवर्तन गर्न सक्नु हो। त्यसैले पृथ्वीमा भएका सबै जीवित प्राणी जस्तै : बोटबिरुवा अनि जनवारहरू आफ्नावरपरका वातावरण अनुभव गर्न सक्छन् र त्यसअनुसार आफूलाई परिवर्तन गर्न सक्छन्। अर्थात् धेरथोर जति भए पनि तिनमा चेतना छ।
    नि:सन्देह, मानव जाति पृथ्वीमा भएका चेतनशील जीवमध्ये सबभन्दा विकसित हो। तर वैज्ञानिकहरूको चेतनाको परिभाषालाई मान्ने हो भने हामी बस्ने पृथ्वीचाहिँ एउटा निर्जीव अनि अचेतन डल्लो हो। ढुंगा, माटो, पानी, हावा र अन्य लाखौं वस्तुबाट बनेको यो डल्लोमा हामीद्वारा परिभाषित जैविक चेतनशीलताका कुनै पनि लक्षण देखिँदैन। न यसले अन्य जीवले जस्तो सास फेर्छ, न बच्चा जन्माउँछ न त यो मर्छ नै। न यसले कुनै भय वा आक्रमणबाट बच्न कुनै बुद्धिमानीपूर्ण प्रतिक्रिया नै देखाउँछ। तर वास्तवमा वैज्ञानिकहरूले गरेको चेतनशीलताको परिभाषा जैविक चेतनशीलता मात्रै हो।
    चेतना विभिन्न थरिका हुन्छन्। तर हामीले नबुझेको पनि हुन सक्छ। अवश्य पनि हामीले सोचेजस्तो जैविक चेतनशीलता पृथ्वीमा छैन। तर हाम्रो जैविक चेतनशीलताभन्दा नितान्त भिन्न प्रकारको चेतना पृथ्वीमा नहोला भन्न सकिन्न। जस्तो : पृथ्वीको पनि जन्म भएको हो, यसले पनि ब्रम्हाण्डमा हुने क्रियाअनुसार प्रतिक्रिया देखाउँछ अनि यो एकदिन मर्ने पनि छ।
    हामीले पढ्दै आएको कुरा हो- पौराणिक कथाहरूमा पृथ्वीलाई धर्ती माता भनेर पुजिन्थ्यो र अहिले पनि अधिकतर धर्म र समुदायमा पृथ्वीको पूजा गरिन्छ। पुरातन ग्रिकमा पनि पृथ्वीलाई ‘गैया’ भनिन्थ्यो जसको अर्थ हुन्छ धर्ती देवी। हामीले पत्ता लगाउन नसक्नुको अर्थ के होइन भने पृथ्वी साँच्चै अचेतन छ। हाम्रोजस्तो चेतनशीलता नहुँदैमा चेतनशीलता छैन भन्न मिल्दैन। बिरुवाको अर्कै चेतना हुन्छ, प्राणीको जस्तै पृथ्वीको पनि अर्कै किसिमकाे चेतना हुन सक्छ, जुन हाम्रो भन्दा धेरै गुणा उच्चस्तरीय हुन पनि सक्छ। उसो भए के हामी अझै पनि एक अचेतन आमाका चेतनशील सन्तान हौं भन्न मिल्छ ? सायद भर्खर जन्मेको शिशुले आफ्नी  आमालाई निर्जीव र अचेतन ठानेजस्तै हामीले पनि पृथ्वीलाई त्यस्तै ठानिहेका त छैनौं?

    एकपटक आफैंलाई नियालेर हेरौं- हामी केले बनेका छौं? हाम्रो शरीर पनि तिनै ढुंगा, माटोको तत्वले बनेको होइन र? तत्वको संरचना हेर्ने हो भने ९९ प्रतिशत मानव शरीर केवल ६ प्रकारका तत्वबाट बनेको हुन्छ- अक्सिजन, कार्बन, हाइड्रोजन, क्याल्सियम र फस्फोरस। बाँकी १ प्रतिशत शरीर अन्य तत्वहरू जस्तै : पोटासियम, गन्धक, सोडियम, क्लोरिन र म्याग्नेसियमले बनेको हुन्छ। अरू केही नगन्य मात्रामा अन्य तत्व पनि पाइन्छ। यौगिकका रूपमा हेर्दा हाम्रो शरीरमा पानी, प्रोटिन, बोसो, हाडका तन्तु र कार्बोहाइड्रेट हुन्छन्। पृथ्वीमा पाइने तत्वहरू हाम्रो शरीरमा पाइनेभन्दा धेरै प्रकारका हुन्छन्। पृथ्वीमा नभएका कुनै पनि पदार्थ हाम्रो शरीरमा छैन। अर्थात् हामी जे छौं, हाम्रो शरीरमा जे छ, सबै पृथ्वीकै देन हो। हामी धर्तीमा उत्पन्न हुन्छौं र यहीं विलिन हुन्छौं। हामी पृथ्वीका अंश हौं, अर्थात् हामी पृथ्वीका सन्तान हौं।
    अर्को कुरा, हाम्रो शरीर केले चलाउँछ त? उत्तर सजिलो छ– ऊर्जाले। अनि त्यो ऊर्जा कहाँबाट आउछ तरु ताप शक्तिबाट। अनि त्यही ताप शक्तिले विभिन्न रूप लिएर विद्युत चुम्बकीय शक्तिमा ढालेपछि त्यसबाट हाम्रो दिमाग चल्छ। त्यसैलाई हामीले चेतनशीलताको संज्ञा दिएका छौं। अब सोचौं– हाम्रो शक्ति र पृथ्वीमा भएको शक्ति। पृथ्वीमा भएको विद्युत चुम्बकीय शक्ति हाम्रो शरीरमा भएको शक्तिभन्दा अर्बौं /खर्बौं गुणा बढी होला।
    कतिपय वैज्ञानिकले अहिले भन्न थालेका छन्- सम्पूर्ण ब्रम्हाण्ड नै एउटा विशाल चेतनशील संरचना हो। अनि त्यसभित्रको पृथ्वी पनि चेतनशील हुने नै भयो, जस्तो : मानव शरीरभित्र रहेका हरेक कोषिकामा चेतनशीलता हुन्छ, अनि उनीहरूले आफ्नो त्यही सीमित चेतनशीलताअनुसार आफ्नो दैनिक काम गरिरहेका हुन्छन्। त्यस्तै यो विशाल ब्रम्हाण्डरूपीय चेतनशील संरचनामा पृथ्वी पनि एउटा सानो कोषिका मात्रै हो। अनि यसले पनि आफ्नो काम गरिरहेको होला। तर हामीलाई थाहा नभएको हुन सक्छ।
    जसरी आफ्नो चेतनशीलतालाई नै सबभन्दा ठूलो ठानेर अनि आफ्नी आमालाई अचेतन प्राणी सम्झेर सानो बालकले आफ्नी मातालाई दु:ख दिन्छ, त्यसै गरेर हामीले पनि धर्ती मातालाई दु:ख दिइरहेका छौं। उनको प्राकृतिक सुन्दरता मासेर मातालाई कुरूप बनाएका छौं। उनले सास फेर्ने हावा तथा पिउने पानी दूषित बनाएका छौं,  सूर्यका घातक किरणबाट हामीलाई बचाउने संरचना ओजोन तह प्वाल पर्न थालेका छौं। तर जसरी बिरामी आमाबाट निस्केको दूध पिउँदा शिशु पनि बिरामी हुन्छ, त्यसैगरी धर्तीलाई दूषित बनाउँदा त्यसमा बस्ने हामी बिरामी पर्छौं।
    हामीले जे गरे पनि पृथ्वीलाई दुख्दैन, यसलाई थाहा हुँदैन, त्यसैले यसमा जे गरे पनि हुन्छ, जति पिटे पनि हुन्छ, जति फहोर गरे पनि हुन्छ, जति वातावरण बिगारे पनि हुन्छ, अरू जीव सबैलाई हटाएर हामीले मात्र राज गरे हुन्छ भन्ने सोचेर हामी अन्धाधुन्ध पृथ्वीको वातावारणीय सन्तुलन बिगार्दै छौं, यसका अधिकांश पदार्थ दूषित बनाउँदै छौं। पृथ्वीमा भएका अरू जीवजन्तु जुन हाम्रा एउटै आमाले जन्माएका दाजुभाइ हुन्, तिनलाई मारेर आफूले मात्रै राज गर्दै छौं। अमेजनको जंगल जलाइरहेका छौं, समुद्री प्राणीहरूलाई प्लास्टिकका टुक्रा खान बाध्य पारेर मारिरहेका छौं, तर धर्तीले सहेर बसिरहेको छ।
    कहिलेकाहीं उसले चेतावनीका रूपमा विभिन्न प्राकृतिक विपद् ल्याइदिन्छ र हामीलाई केही दिनका लागि सोच्न बाध्य बनाउँछ। तर हामी केही दिनपछि फेरि आफ्नो पहिलेकै क्रियाकलाप दोहो¥याउँछौं र पृथ्वी दोहन गर्न थाल्छौं। बच्चा अलि बुध्दिमान भएपछि आमालाई दु:ख दिन अलि कम गर्छ र पछि आमाको माया, उनको महानता र चेतना बुझेपछि आमालाई माया मात्र होइन, सम्मान पनि गर्न थाल्छ। तर हामी यति धेरै चेतनशील हुँदा पनि हाम्रो धर्ती मातालाई दुःख दिन छोडेका छौनौं। तर अझ मूर्ख भएर उनको शरीरमाथि खेलिरहेका छौं।
    आफ्नो स्वार्थ मात्रै हेरेर भविष्यमा हाम्रा नानीहरूलाई पर्ने असर नसोचेर धर्तीलाई सताइरह्यौं भने उसले पनि कहिले भूकम्प, कहिले बाढी, कहिले सुनामी, कहिले अधिक जाडो, कहिले अधिक गर्मी गराएर हामीलाई चेतावनी दिन्छ र आफ्नो सन्तुलन कायम राख्छ। तर अति नै भयो भने आफ्नै सन्तान भए पनि मानव जातिलाई सही दिशामा डोर्‍याउन कठोर कदम नउठाउला भन्न सकिन्न। आफूलाई यहाँको राजाजस्तो ठानेर, आफ्ना दाजुभाइजस्ता अन्य जीवहरूको बेवास्ता गरेर आफ्नो मात्र स्वार्थ पूरा गर्न पृथ्वी मातालाई अझै दु:ख दिएर, रिस उठाएर उनलाई कठोर कदम चाल्न बाध्य पार्ने कि उनलाई आदर गरेर, उनको दु:ख बुझेर उनलाई सन्तुलित राखेर उनको अपार माया पाइराख्ने, सम्पूर्ण मानव जातिसामु अहिले सोचननीय विषय भएको छ। (आइटी विज्ञ डा. राजु अधिकारी हाल चीनको सांघाईमा कार्यरत छन्)
    नेपालखबरबाट

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology