`

बाबु यसरी पढ है…

मेरो छोरा हिम्मत थापा मगरलाई लगातार अध्ययनमुलक र शिक्षामुलक टिप्स लेख्ने काममा ध्यान दिँदा समय व्यवस्थापन गर्न गाह्रो भए जस्तो लागे पनि समाजका थुप्रै विद्यार्थीहरुका लागि अनुशरण योग्य भएको प्रतिक्रिया पाएको छु । फेसबुकमा प्रतिक्रिया, लाइक, शेयर गरेको संख्याले लेखन शिपलाई बढवा दिन टेवा मिलेको छ । छोराका शिक्षक शिक्षिका, साथीहरुलाई सिकाईको ज्ञान सारभुतमा गहिराईमा पुगेको छ । सुझावका श्रृङखलामा थप टेवाका लागि उत्प्रेरणा मिलेको छ ।
अध्ययन गर्ने कुरा प्रत्येक दिन ३० वटा सामान्य ज्ञान जानकारीमा लिएपछि थप दोश्रो दिन ३० वटा, तेश्रो दिन ३० गर्दै नियमित गर्दै मासिक हिसाब गर्दा नौ सय वटा सामान्य ज्ञान जानकारी हुन्छ । एवंम तरिकाले वर्ष दिनलाई नियमित गर्दै जाने हो भने लगभग आधारभुत धेरै विषयको जानकारी हुन्छ । भाषा, इतिहास, भुगोल, संस्कृति, आर्थिक, सूचना र प्रविधि, जिवनी, साहित्य र कला, अन्तराष्ट्रिय सूचना, संचार, अभिलेख, राजनीति, कानुन, धर्म, दर्शनशास्त्रका विषयमा प्रशस्त आधारभुत शिक्षा हासिल हुन्छ ।
छोरा हिम्मत तिम्रो हजुर बाबा लाल बहादुर थापा लगनशिल कृषक हुन् । भेडा गोठालाको अनुभव गर्न बिदाको दिनमा बाजेसँग बनमा जाऊभन्दा जान मन नगर्ने छोराले कृषक, भरिया, श्रमको मूल्य सबैको अनुभव गर्नमा चुक्नु हँुदैन । जसरी छोराको बाजेसँग हसिया, खुर्पेटो, नाम्लो सधै साथमा रहन्छ । कृषकका लागि जस्तै विद्यार्थीका साथमा पुस्तक, कापी र कलम साथमा लिएर ज्ञान र शब्दको भण्डारलाई फराकिलो बनाउनुपर्दछ । महिलाको घाँटीमा सिक्री, माला, पोते गलामा भए जस्तै समुन्नत भविष्य निर्माणका लागि छोराको साथमा कहिल्यै नछुट्ने गरी पुस्तक, कापी, कलम हुनुको विकल्प छैन । गाउँघरमा भारतीय लाहुरे थुप्रै छन् । नेपाल प्रहरी, सेनाको कथा, अनुभव काम लाग्न सक्दछ । उच्च प्रशासक, शिक्षित जनशक्तिको विचार र सोचको संगतलाई सञ्जालमा उभ्याउनुपर्दछ ।
छोराको भविष्य र सोच विस्तार अभियानलाई उज्यालो दिने रात्रीकालीन टर्चलाइटलाई जस्तै लिनुपर्दछ । फराकिलो र जति अगाडी गयो त्यति नै संभावित भविष्य देख्ने संवाहक बन्नका लागि हुनुपर्दछ । तिम्रो पदचापलाई पछ्याउने खालको हुनु पर्दछ । जिन्दगीलाई पानीले भरिएको सिसाको गिलासको रुपमा विश्लेषण गर्ने हो भने बाबा, आमा, बाजे, बज्यै, शिक्षक, शिक्षिकाहरुले २५ प्रतिशत मात्रा पानी भरीदिने हो बाँकी गिलासलाई विचार, लक्ष्य, उद्धेश्य गर्नका लागि पानीरुपी लगनशिलता, अनुशासन, परिश्रम, प्रेम, संर्घष, उर्जा, शक्ति, लगाव, सम्बन्ध, अध्ययन विस्तार गरी सफलता हासिल गर्नका लागि गरी भरि गिलास भर्ने काम छोराको नै हो ।
साँच्चै भन्दा यो रिसाउला, उ रिसाउला, फलानालाई खुशी पार्छु, यसलाई खुशी पार्छु भन्दा भन्दै जिन्दगीले आफै खुशी हुन बिर्सिदोरहेछ । त्यसैले छोरा हिम्मत भविष्यको दिनमा आफु खुशी हुने कार्यमा दैनिकमा रुपमा लाग्नु पर्दछ । साथै अरुका लागि नराम्रो कहिल्यै नसोच्नु है, यदि कसैले अरुका लागि नराम्रो सोच्छ त्यो सोच उसको लागि कर्म हो भने नराम्रो नसोच्नु नै असल धर्म हो भन्ने बुझनु है । विद्यालयमा शिक्षकहरु धेरै होलान । ति शिक्षकहरुमध्ये जसले आफुलाई किसान जस्तै सम्झी विद्यार्थीको मस्तिष्कमा ज्ञानको ज्योति निरन्तर छरिरहन्छ । शिक्षक एउटा गोठालो जस्तो होस ताकी असल नागरिक बनाउनको लागि हर विद्यार्थीहरुको क्रियाकलापको निगरानी गरिरहोस् । शिक्षक विद्यार्थीहरुको नोकर जस्तै हर कुराहरु विद्यार्थीको मान्ने खालको होस । शिक्षक एउटा सुसारे जस्तै होस किनकी विद्यार्थीको सरसफाइमा पुर्ण रुपमा ध्यान दिइरहोस् । शिक्षक एक माली जस्तै होस किनकी विद्यार्थीको भविष्यमा आउने बाधा अड्चनलाई काटछाट गरि सुन्दर बनाउनको लागि अथक रुपमा प्रयास गरिरहने शिक्षकको सधै आवश्यकता महसुश गरिराख्नु पर्दछ ।
शुरुवातमा व्यक्ति समाजको परिवारमा जमिन्छ । बाबा आमाको छोरा वा छोरीको रुपमा चिनिन्छ । परिवारमा काकाकाकी, बाजेबज्यै सँगको सहकार्य र सम्बन्धमा बाँधिन्छ । परिवारको मायाबाट झाँगिदै समाजमा प्रवेश गर्दछ । समाजको संस्कृति, शिक्षा, व्यक्तित्व विकास गर्दै गाउँभन्दा फराकिलो जिल्लामा अध्ययन, अवसरका लागि प्रवेश गर्दछ । जिल्लाबाट फराकिलो सोच र विस्तारका लागि अञ्चल, क्षेत्र, प्रदेशहुँदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा परिचित हुन्छ । हिजो कुनै दिनमा नेन्शल मण्डेला, अब्राहम लिंकन, थोरो, महात्मा गान्धी, माओत्सेतुङदेखि जोसुकै गाउँ परिवारका सदस्य नै थिए । त्यसैले पहुँच र विस्तारका लागि व्यक्तित्व विकास गर्नमा सकारात्मक सोच, अबिरल यात्रा निसंकोच बढावा दिनको लागि हरदम लाग्नुको विकल्प छैन ।
अहिलेका बालबालिकाहरु फिल्म, कार्टुन, सिरियल नहेरेको भेटाउनै गाह्रो छ । अभिभावकहरु इन्टरनेट, सूचना प्रविधिको प्रयोगले बिग्रेका छन् भन्ने जमातको संख्या बढदो मात्रामा पाइन्छ । कार्टुन, सिरियलले ग्रस्त भै खाली मोबाइलमा मात्र आँखा गाँड्छ । कोही साथीसंगीसँग बोलचाल गर्दैन । एकोहोरोपनाको विकास भएकोले चिन्ता व्यक्त गर्दछन । म त छोरा हिम्मतलाई के भन्न चाहान्छु भने जति वटा हिन्दी, नेपाली, अंग्रेजी, चाइनिज वा जुनसुकै फिल्म हेरेपनि त्यसको बदलामा एउटा असल पुस्तक किनेर अध्ययन गर । फिल्म हेरेर समय बर्बाद गरेको समयको सट्टामा मन परेको पस्तक अध्ययन गर्नमा समय खर्च गरी प्रतिफल हासिल गर्नमा योजना बनाउनु पर्दछ । कार्टुन, सिरियल निर्माण गर्नका लागि समेत थुप्रै किताब नै अध्ययन गर्नुपर्छ भन्ने जबसम्म बुझदैनौ तबसम्म पुस्तकमा अभिरुची बढाउन सक्दिैन । पुस्तकमा लगाब बढेमा संघर्ष, पिडा, दुःख, दर्द, व्यथाले उत्प्रेरणा लिने मात्र हो । तर कसरी सुखी, खुसी, आन्नदमय जिवन जिउने भन्ने साहित्य विश्वभर नै कम मात्रामा पाइन्छ । त्यसका बारेमा विचार मन्थन, विश्लेषण गर्ने तिम्रा साथीभाइसँग समेत हो है छोरा हिम्मत बाबु । संसारमा दुःखको संगीत, गीत नै बढी मात्रामा बिकाउ भएको पछिल्ला घटनाक्रमले छर्लङ पारेको छ ।
समाजमा साधु, सन्त, भिक्षुले याचना स्वरुप भिक्षा, दान कमलदनुमा माग्दछन् र जिविका गुजार्न लालयित हुन्छन् । कुनै साधु सन्तले आशीवार्द समेत दिनपछि पर्दैनन् । छोरा हिम्मतले भिक्षा, दानरुपी शिक्षा, सोच, विचार, उपदेश, अर्ती, शिप, ज्ञान, उत्प्रेरणा, सचेतना, अधिकार, कर्तव्य, क्षमता विकासका अमृतवाणी रुपी तौर तरिका र शिप माग्नुपर्दछ । ताकी मानव जिवनका लागि अनुभव सिद्ध ज्ञान पाउन बहुत गाह्रो छ । छोरा हिम्मतले यो पनि बुझ कि संसारको सबैभन्दा सस्तो चिज हो सल्लाह । एक जनासँग मागेमा सयौबाट मिल्छ भने संसारको सबैभन्दा महंगो चिज भनेको सहयोग हो । सयौसँग माग्नुहोस बल्लबल्ल एउटाबाट मात्र मिल्छ । त्यसैले चाकडी, चाप्लुसी, खुराफातीलाई तिलान्जली दिई सम्मान, इज्जत, इमानका रहने सहयोग लिन र सम्मानित सुझाव लिन कहिल्यै नचक्नु है हिम्मत बाबु ।
जिन्दगीमा अगाडी बढ्नलाई धेरै कुराहरु आवश्यक हुन्छ तर पछाडी पर्नलाई वा दुर्गतीमा पर्नको लागि अल्छीपना भए काफी पुग्दछ । अल्छीपनालाई धकेल्नका लागि उर्जा, सोच विकास गर्नु नै छोरा हिम्मत थापा मगरका लागि उपयुक्त मानिन्छ । सकारात्मक विचारधारा, कार्यशैली, जीवनशैली हुनु नै समुन्नत विकासको पहिलो खुड्किलो हो । मान्छे सुख र खुशीको खोजीमा मान्छे घर बदल्छ, कपडा बदल्छ, काम बदल्छ, पेशा बदल्छ, सिद्धान्त बदल्छ, साथीभाई बदल्छ, कसै कसैले त देश समेत बदल्छन् । फेरी पनि मानिस दुःखी, निराश नै हुन्छन् । सोच, स्वभाव बदलेर खुशी हुनमा कम मात्राको मान्छेको ध्यान पुगेको हुन्छ । मान्छेले खाना खाएन भने दश पन्ध्र दिनसम्म बाँच्दछन्, पानी पिएन भने पाँच सात दिनसम्म बाँच्दछ, सास फेरेन भने एक वा दुई मिनेटसम्म बाँच्दछ जबकी विचार प्रक्रिया रोकिदिने हो भने क्षणभर पनि बाँच्न सक्दैन भन्ने राम्रोसँग बुझनुपर्दछ ।
त्यसैगरी पैसाले भन्छ मेरो पछि लाग, सबै कुरा बिर्स । जवानीले भन्छ मेरो पछि लाग सबै बिर्स । भविष्यले भन्छ, मेरो लागि काम गर सबै कुरा बिर्स । तर सकारात्मक सोचले भन्छ, मेरो पछि लाग म तिमीलाई सबथोक दिनेछु भन्छन् । त्यसैले सकारात्मक सोच विचार, शैलीलाई पछ्याउने शिलशिलामा लाग्नु पर्दछ भन्ने मलाई लागे जस्तै छोरा हिम्मतलाई र दिदी रुयासा थापा मगरलाई बुझाउनु पर्ने दायित्व समेत हुन आउँदछ ।
मानव बौद्धिकता भन्ने पुस्तकमा रुसी लेखक लियो टोल्सटयले साँच्चै बौद्धिक व्यक्तिले आफना विचार प्रकछ गर्नका लागि सरल भाषाको प्रयोग गर्दछ भनेका छन् । सोलाई तिमीले व्यवहारमा उतानुपर्दछ । त्यस्तै विश्वास गरेर बाँच्ने कलालाई बुझ्नु भनेको असंख्य अप्ठयारा र बेकार प्रश्नहरुको उत्तर दिनुभन्दा अत्यन्तै ज्ञानी हुनु हो भनेका छन् । विश्वमा पाइने सबै पुस्तकहरु अध्ययन गर्न सकिदैन र खराब पुस्तकले तपाईको खोजीलाई साँघुरो बनाउने मात्रै होइन मस्तिष्कलाई नै स्तब्ध पार्दछन् भनी व्याख्या गरेका छन् । भूतकालबाट पीडित भई पश्चातापमा पर्नुको बदालामा भविष्यमा हामीको पहुँचमा नभएको भविष्यकालसँग पिरोलिनु भन्दा असल जिवनको सन्तुष्टी वर्तमान कालमा राम्रो गर्नु नै जीवनका लागि सधै राम्रो रहनेछ भनेका छन् । सो को विस्तारमा राम्रोसँग विश्लेषण र विवेचना गर्ने काम छोरा हिम्मतको नै हो । सोको लागि वर्तमान समयको अधिकतम भन्दा अधिकतम तरिकाले सदुपयोग गर्नु पर्दछ भन्दा सबैका लागि राम्रो नै होला ।
एक शिक्षकले विद्यार्थीको प्रकृती थाहा पाउनै पर्छ भन्ने प्रसिद्ध भनाई प्लेटोले रहेको छ । असल विद्यार्थीले शिक्षिकको प्रकृती समेत थाहा पाउनु पर्दछ । ज्याक रुसोले विद्यार्थी एउटा पुस्तक हो जसको पन्ना–पन्ना शिक्षकले पढ्नुपर्छ भनेका छन् । छोरा हिम्मतलाई पढाउने, सुझाव सल्लाह दिने शिक्षक, अभिभावकहरु पुस्तक जस्तै बृहत अनुभव, ज्ञान, बुद्धिले भरिएका छन् । सकारात्मक सोचले त्यसलाई आफनो जिवनमा उपयोग हुने गरी प्रयोगमा ल्याउनु पर्दछ है भन्ने मात्र हो । बाँकी रहेका सल्लाह र सुझावहरुलाई आगामी श्रृङखलामा लेख्ने नै छु । थुप्रै विद्धानको भनाइ, पुस्तकहरु अध्ययन गर्न बाँकी रहेका छन् । जब डाँकाले धनीबाट लिन्छ, सरकारले गरिबबाट लिएर धनीलाई क्षतिपूर्ति प्रदान गर्दछ भन्ने लियो टोल्सटोयको भनाईको सार तत्व बुझनका लागि धेरै समय नलगाउ है भन्दै यो श्रृङखला अन्त गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology