`

गलकोटमा बस्ने मुस्लिम समुदायको बासपनि छैन, घाट पनि छैन

बागलुङ, २९ भदौ – हरेक समुदायको बस्ने बास र मृत्यु हुँदा अन्तिम संस्कार गर्ने घाट हुन्छ । तर बागलुङको गलकोटमा बस्ने मुस्लिम समुदायको बस्ने बास र मृत्यु पछिको घाट छैन । अस्थायी बसोबास भएपनि भाडामा बस्न सक्छन्, तर मृत्यु संस्कारका लागि सबैको स्थायी घाट चाहिन्छ । गलकोट नगरपालिकाको हटिया र हरिचौरका मुस्लिमहरुको भने बस्ने घर पनि छैन, घाट पनि नभएर अन्तिम संस्कारमा सास्ती खेप्ने गर्छन् ।

नेपालका अधिकांस जातजातीले खोला, नदीको बगरमा लगेर अन्तिम संस्कार गर्छन् । तर यहाँका अस्थायी बसोबास गरेका मुस्लिमलाई दाहसंस्कारका लागि जग्गा नहुँदा सास्ती परेको हो । आफ्नै घाट नभएपछि ५० किमी पश्चिमको गलकोटका मुस्लिमले सदरमुकाम स्थित कालीगण्डकी नदीमा ल्याएर अन्तिम संस्कार गर्न बाध्य छन् । अस्थायी बसोबास भएकोले अहिले सम्म गलकोट नगरपालिकाको हटिया र हरिचौरमा बस्ने मुस्लिमले घाट नपाएका हुन् । घाट नपाएपछि गाडिमा शब बोक्नुपर्ने र आफन्तहरु जिप चढेर आउनुपर्दा एक जनाको संस्कार गर्दा ५० हजार बढी खर्च हुने गरेको उनीहरुले गुनासो गरे ।

तोकिएको भाडा नदिएसम्म शव बोक्ने गाडि नपाउने, मलामीले पनि नियमित भन्दा दोब्बर भाडा तिरेपछि मात्र यात्रा गर्न पाउने भएपछि खर्च बढेको स्थानीय रहमत हकिमले बताए । उनीहरुले कालीगण्डकी नदी किनारमा ल्याएर शव गाड्दै आएका छन् । ‘बर्षौदेखि हामीले घाट मागेको कसैले पत्याएनन्’ हकिमले भने, ‘खोलाछेउ, पाखो जे भएपनि हुन्छ भनेका हौं, तर हामीलाई वास्तै गरिएन ।’ पोखरा बागलुङ राजमार्गको मालढुंगा नजिकै ल्याएर उनीहरुले अन्तिम संस्कार गर्ने गरेका हुन् ।

कालीगण्डकी नदीमा ल्याएपनि व्यवस्थित घाट छैन । हिन्दुहरुले जलाउने भएकोले दुर्गन्ध हुँदैन । मुस्लिमले भने शव गाड्ने चलन छ । हिउँदमा गाडेको शव बर्षातमा बाढीले उतार्ने गर्दा पानीमा दुर्गन्ध मिसिने गरेको छ । आर्थिक रुपमा सम्पनहरुले शव गाडेर सिमेन्ट लगाएर छाड्छन् । बिपन्नहरुले ढुंगाले छोपेर छाड्दा बर्षातमा शवहरु उत्रने गरेको हो । गलकोटमा भने ३३ बर्ष अघि मुस्लिमहरु गएर बस्न थालेका थिए । हटिया बजारमा मात्र २० घर मुस्लिम छन् । उनीहरुको आmफ्नै जग्गा पनि नभएकोले खोलाछेउमा छाप्रो बनाएर बसेका छन् ।

एउटै छाप्रोमा २ देखि ३ परिवार बस्ने गरेका छन् । उनीहरुको ३ देखि ७ जना सम्म बालबालिका समेत छन् । ३० जना बालबालिकाका लागि छाप्रोमै बारेर मदरसा पनि बनाएका छन् । मदरसामा एक शिक्षक राखिएको छ । उनीहरुको मदरसा व्वस्थापन र परिचयपत्र लगायतको काममा नगरपालिकाले सहयोग गरेको छ । ‘हामीले परिचयपत्र बनाएर चाडपर्व लगायतमा सहयोग गरेका छौं’ गलकोट नगरपालिका ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले भने, ‘सिमानाको हिसावले अर्कै वडामा छन्, तर नजिक भएकोले हामीले बेला बेला सहयोग गरेका हौं ।’ जग्गा व्यवस्थापनका लागि भने नगरपालिका भित्र सार्वजनिक जमिन नभएकोले गर्न नसकेको उनले बताए । बजार छेवैको खोला र बगर नभएकोले शव गाड्ने अनुमति भने दिन नसकेको उनले बताए ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि पनि जग्गा खोजी रहेको छ । उक्त जग्गा व्यवस्थापन भएमा उनीहरको मृत्यु संस्कारका लागि पनि जग्गा दिन सकिने नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘उहा“हरुको समस्या बारे हामी पनि गम्भिर छौं, तर नगरको फोहोर व्यवस्थापनको लागि समेत जग्गा पाउन सकिएको छैन’ गैह्रेले भने, ‘नगरपालिकाकै भवनका लागि जग्गा नभएर यो बर्ष घडेरी किन्न २ करोड बिनियोज गरिएको छ ।’ बर्षौदेखि बसेकोले उनीहरुको अन्यत्र पनि जग्गा र घर नभएको मदरसा व्यवस्थापन समितिका सदस्य कमालदिन मियाले बताए । पुख्र्यौली घर भने बलेवा स्थित अमलाचौर भएको उनले बताए । यहाँका अधिकांसले छाता बनाउने, चुरा बेच्ने र कस्मेटिक सामानको खुद्रा व्यवसाय गरेर बसेका छन् । खोलाछेउमा बसेकोले सरसफाई समस्या भएको स्थानीयले समेत गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology