`

समृद्धिका लागि स्वास्थ्य

  • (ढोरपाटन दैनिकको १६औं बार्षिकोत्सव विशेष)
  • विश्व स्वास्थ्य संगठनका  अनुसार, स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक तवरबाट तन्दुरुस्त हुनु पनि हो । स्वास्थ्य मानव पुँजीमध्येको एक महत्वपूर्ण पुँजी हो । आजभोलि, स्वास्थ्य र सम्पती दुवै एक–आपसको परिपूरक मानवीय पुँजीका रूपमा वृद्धि भइरहेको छ । स्वास्थ्यमा खर्च र आर्थिक वृद्धिबीचको सम्बन्धको नीतिले सिंगो राष्ट्रको नेतृत्व गरेको हुन्छ । यदि नीति निर्माणको क्रममा नीतिगत त्रुटि भएको खण्डमा राष्ट्रिय रूपमा ठूलो समस्या निम्त्याउँछ । त्यसकारण, नीति निर्माणकर्ताहरूले स्वास्थ्य खर्चलाई लागतका रूपमा नभई लगानीका रूपमा हेर्नुपर्दछ । जब कुनै समुदायको स्वास्थ्य क्षेत्रमा सम्पूर्ण आर्थिक नीतिहरूको योजना बनाउँछ, सरकारहरूले स्वास्थ्यलाई आफ्नो राष्ट्रिय योजनाहरूका रूपमा प्राथमिकताका साथ लगानीको क्षेत्रका रूपमा लिनुपर्दछ । नागरिकको राम्रो स्वास्थ्य अवस्था अधिकार र उद्देश्य मात्र होइन, यो आर्थिक वृद्धि र प्रतिस्पर्धात्मकताको महत्वपूर्ण निर्धारक पनि हो ।
    स्वास्थ्य र समृद्धि
    कुनै पनि राष्ट्रको समृद्धिको प्रमुख आधार भनेकै स्वास्थ्य हो । स्वस्थ नागरिकबिना राष्ट्र समृद्ध हुने कुराको कल्पना पनि गर्न सकिँदैन । जापान, अमेरिका, युरोप, रसियालगायतका विकसित मुलुक वा तीव्र विकासको चरणमा रहेका अन्य मुलुकमा विकासको प्रमुख आधार भनेकै सबल स्वस्थ्य, सेवा र सुविधा नै हुन् । स्वास्थ्य क्षेत्रमा गरेको लगानी र उपलब्ध स्वस्थ जनशक्तिकै कारण प्रगति गर्न सकेका छन् । हामीकहाँ पनि समृद्धिको बहस व्याप्त छ साँच्चिकै समृद्धि ल्याउनु छ भने स्वास्थ्य क्षेत्रमा लगानी गर्न राज्य र सरोकारवाला अन्य निकायले कन्जुस्याइँ गर्न हुँदैन । अघिल्ला वर्षहरूमा कुल केन्द्रीय बजेटको ७ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्यको बजेट अहिले करिब ४.४ प्रतिशतमा छ । घट्दो बजेटले कसरी हुने हो आधारभूत स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य क्षेत्रको उन्नति र समृद्धि ?
    सफलतालाई कायमै राख्न ः

    अघिल्ला केही वर्षमा स्वास्थ्य क्षेत्रमा नेपालमा निकै ठूला उपलब्धि भएका छन्, अन्तर्राष्ट्रिय समुदायले मुक्तकण्ठले प्रशंसा र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएका छन् । धेरै विकासशील राष्ट्रका लागि हामी उदाहरणीय भएका छौँ । पोलियो, कुष्ठरोग उन्मूलन, क्षयरोग, औलो, कालाज्वर नियन्त्रण, मातृशिशु मृत्युदर, नवजात शिशु मृत्युदर, बालमृत्युदरमा कमी, परिवार नियोजन, खोपको कभरेज आदि विषयमा भएको उपलब्धि साँच्चै उल्लेखनीय छन् । हामीले यी उपलब्धि जोगाउनु छ र थप उपलब्धि हासिल गर्नु छ । देश राजनीतिक संक्रमणमा छ भनेर स्वास्थ्यलाई सामान्य ढंगले लिन र बेवास्ता गर्न अनुचित हुन्छ । उपलब्धि शून्य भए देशमा समृद्धि आउँदैन, फलस्वरूप देश उल्टै पछाडि धकेलिन्छ । हाम्रा नागरिक स्वस्थ छन् र त जापान, अमेरिका, अस्ट्रेलिया, युरोप आदि देशमा जता गए पनि अध्ययन गर्न पाएका छन् । गल्फ, कोरिया, आदि देशमा गएर कमाउन पाएका छन्, देशलाई रेमिट्यान्स पठाउन सकेका छन् । जनशक्ति स्वस्थ र बलियो नभए न त कृषि न त कामदारले नै काम गर्न सक्छ र देशको प्रगति गर्न नै सक्दछ । मानसिक स्वास्थ्य, वृद्धि विकास नभए देशको सर्वाङ्गिण उन्नति हुन सक्दैन । त्यसैले, स्वास्थ्यलाई सबै तहका सरकार र नीति निर्माताले प्राथमिकतामा राख्नु अति आवश्यक छ । हरेक पालिकामा १५ शय्याको एक अस्पताल बनाउने लक्ष्य छ । अब अस्पताललाई शय्याअनुसार होइन, सेवाअनुसार वर्गीकरण र शय्या जनसंख्याअनुसार निर्धारण गर्न आवश्यक छ ।
    स्वस्थ्यचौकी, अस्पतालमा पनि जनसंख्याका भरमा फरक–फरक जनशक्ति हुन सक्छन् । त्यस्तै प्राइमरी, सेकेन्डरी, टर्सियरी र स्पेसलाइज अस्पताल हुन जरुरी छ । इल्ः सर्भे गरी दक्ष जनशक्तिको निर्धारण गरी प्रदेशअनुसार कर्मचारी व्यवस्थापन गर्दा दुर्गममा दरबन्दी भई सुगममा बस्ने वा दुर्गममा जान नमान्ने समस्या कम रहन्छ । आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा र विशेषज्ञ सेवा परिभाषित गर्दै जनस्वास्थ्य, खोप, सुरक्षित मातृत्व, बिमा ऐनसँग नीतिसम्मत पार्दै त्यसको उपलब्धता र आर्थिक पाटोको निक्र्योल गर्न जरुरी छ । छात्रवृत्ति, बढुवा, तालिम, विदेश भ्रमणमा भूगोल, मोलाहिजा मात्र नभई अन्य सूचकको विकास गरी मापक बनाई पारदर्शिता ल्याउनु आवश्यक छ ।
    अझै हामीले गर्न धेरै बाँकी छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम एकातिर सबैको पहुँचमा आइसकेको छैन भने अर्काे त्यसको प्रभावकारिता कमजोर छ । जनताको कम लगानीमा धेरै स्वास्थ्य सेवा दिनका लागि सरकारले स्वास्थ्य बिमालाई प्राथमिकतामै राखेर काम गर्न जरुरी छ । बिरामीको इच्छाभन्दा जरुरत र आवश्यकताका आधारमा बिमितलाई फाइदा हुनुपर्छ । होइन भने २५०० तिरेर ५० हजारको सेवा लिन सबै जागरुक भए सरकारको ढुकुटीको अवस्था त त्यही हो र कहिलेसम्म सरकारले धान्ने हो ?
    सरकारको आमा सुरक्षा कार्यक्रम निःशुल्क छ, तर आज पनि घरमै सुत्केरी गराउने महिलाको संख्या उल्लेखनीय छ । घरमै सुत्केरी हुँदा हुने जोखिमका बारेमा जनचेतनामूलक कार्यक्रम पर्याप्त छैन । दिइने सुविधाको पनि प्रभावकारितामा प्रश्न उठ्ने गरेका छन् । केन्द्रसँग समन्वय, निःशुल्क औषधिको उपलब्धता, स्वास्थ्यका विभिन्न कार्यक्रमबारे चनाखो भएर बस्न जरुरी छ ।
    देश संघीयतामा गएको छ, काम गर्दा प्रदेश र स्थानीय तहका अधिकार पनि हनन नहुने गरी मिलाउनुपर्ने भएकाले संघलाई गाह्रो भएको छ । तथापि, केन्द्रले प्राविधिक सहयोग नगरे प्रदेश र स्थानीय सरकारले मात्रै गर्न सक्ने र धान्न सक्ने अवस्था छैन । पहिलेदेखिकै समस्या, अव्यवस्था र प्रणालीको अभाव ज्युँकात्युँ भएकाले सोचेअनुसार संघले काम गर्न सकिरहेको छैन । अहिले स्वास्थ्यको ३० प्रतिशत बजेट स्थानीय र ७ प्रतिशत बजेट प्रदेशमा छ । स्थानीयको सिफारिसमै केन्द्रले समन्वयको र नेतृत्वको काम गर्ने हो ।
    स्वस्थ जनशक्तिको भूमिका
    स्वस्थ जनशक्ति मानिस अर्थात् जनतामा रहेको शक्ति या काम गर्न सक्ने क्षमता नै जनशक्ति हो । संगठन सञ्चालन र व्यवस्थापनका लागि जनशक्तिको भूमिका अपरिहार्य र महत्वपूर्ण छ । कुनै पनि संगठनको चलायमान र सबैभन्दा महत्वपूर्ण साधन भनेको मानव साधन नै हो । किनभने संगठनका हरेक साधनको परिचालन मानव संसाधनले नै गर्दछ । अत मानव संसाधन नै संगठनको लक्ष्य प्राप्तिको प्रमुख आधार हो । जसका लागि स्वस्थ जनशक्ति आवश्यक पर्छ ।
    समृद्धिका लागि स्वस्थ परिवारको भूमिका
    जब पारिवारिक सम्बन्धमा बिचलन सुरु हुन्छ तब तनाव सिर्जना हुन्छ । तनावले निद्रा बिग्रिन्छ । अनिन्द्राको कारण ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, माइग्रेन, डिप्रेसनजस्ता रोग देखा पर्दछन् । रोगका कारण समय र पैसाको क्षति हुँदा परिवारमा आर्थिक बिचलनको प्रवेश हुन्छ । यससँगै पारिवारिक सम्बन्धमा दरार मात्र पैदा हुँदैन, आरोप–प्रत्यारोप अविश्वास र झै–झगडासमेत हुन्छ । यसकारण पारिवारिक स्वास्थ बिग्रन्छ । पारिवारिक स्वास्थ निरन्तर रूपमा बिग्रदै गएको अवस्थामा समय र पैसाको मात्र क्षति होइन, व्यक्ति लागुऔषध तथा हत्याहिंसाको बाटोतर्फ फस्न पुग्दछ अकालमा ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना हुन पुग्छ । आत्महत्याका घटना वृद्धि हुन्छन् । जापानमा हुने संसारकै बढी आत्महत्याका घटना हुन् या त युरोप अमेरिकामा घट्ने मास सुटर घटना नै किन नहुन् यी सबै घटनाका पछाडि पारिवारिक सम्बन्धको बिचलनले ठूलो भूमिका निर्वाह गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
    अशिक्षा गरिबी अभाव र अन्यायबाट जब मानिस प्रताडित हुन्छ, जब–जब मानिसले आफ्नो रुचि र क्षमताभन्दा बढी र बाहिरको काम गर्न थाल्छ तब आर्थिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सक्दैन यति मात्र होइन, परिवार साथीभाइ नाता सम्बन्धमा समय कम दिने एक्लो र एकान्त मन पराउने बानीले उसमा तनावको सिर्जना हुन्छ । तनावमा सम्पादन भएका कार्यको प्रतिफल कम गुणस्तरको हुँदा कार्य सम्पादनमा ह्रास आउँछ । व्यक्ति परिवार, साथीभाइ, नातासम्बन्धमा असहयोगका कारण आफू समस्यामा परेको धारणा विकास गर्दै उनीहरूप्रतिको दृष्टिकोण नै नकारात्मक बनाउन पुग्छ । तनावको वृद्धि परिणामस्वरूप विविध रोगका लक्षण देखा पर्छन् । उपचारका लागि अस्पताल जानुपर्ने उपचारमा परिवारका अन्य सदस्यसमेतको साथ चाहिने कारण समग्र परिवारका सदस्यको कार्यसम्पादनमा ह्रास आउँछ । यसको प्रत्यक्ष प्रभाव पारिवारिक अर्थ व्यवस्थामा पर्छ । एकातर्फ समय व्यवस्थापन आर्थिक चुनौती थपिँदै जाँदा पारिवारिक असमझदारी मनमुटाव आरोप–प्रत्यारोप असहयोग बढ्ने अर्कोतर्फ पारिवारिक नियन्त्रण गुम्न सक्ने कारण छोराछोरी कुसंगत र कुलतमा फस्ने अवस्थाले पारिवारिक स्वास्थ बिग्रिँदै जान्छ ।
    सक्षम पारिवारिक नेतृत्व पनि कम चुनौतीको विषय होइन । राजनीतिक रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तित्वको पारिवारिक मामला अध्ययन गर्दा पनि यस कुराको थप पुस्ट्याइँ हुन्छ । त्यसैले स्वस्थ पारिवारिक जीवनको महत्वपूर्ण पक्ष सक्षम पारिवारिक नेतृत्व पनि हो । असक्षम पारिवारिक नेतृत्वकै कारण परिवारका सदस्य असफल हुने सन्तानको काम र चिन्ताले तनाव सिर्जना हुने अनिन्द्रा, रोग आर्थिक क्षति, आरोप–प्रत्यारोप, अविश्वास, झै–झगडासमेत वृद्धि हुने हुँदा यावत् रूपले पारिवारिक स्वास्थ बिग्रिँदै जान्छ ।
    जबसम्म पारिवारिक सदस्यबीच असहयोग असमझदारी विद्यमान रहन्छ तबसम्म स्वस्थ परिवारको कल्पनासम्म गर्न सकिँदैन । स्वस्थ परिवारको निर्माणका लागि पारिवारिक सदस्यबीच सहयोग समझदारीको भावना वृद्धि नितान्त आवश्यक छ । नेपाली समाजको पितृसत्तात्मक पारिवारिक संरचना यसको अपवाद हुन सक्छ । चुलोचौका र घरभित्रको काम महिलाले मात्र गर्नुपर्ने घरबाहिरको काममा महिला संलग्न हुन नहुने सोचका कारण परिवर्तित जीवनशैली र पारिवारिक संरचनामा पितृसतात्मक सोचको हाबीले असमझदारी तथा तनाव सिर्जना हुने अनिन्द्रा, रोग, आर्थिक क्षति, आरोप–प्रत्यारोप, अविश्वास, झै–झगडासमेत वृद्धि हुँदा यावत् रूपले पारिवारिक स्वास्थ बिग्रिँदै जान्छ ।
    पारिवारिक सदस्यहरूबीच एक–अर्कालाई बुझ्ने र सम्मान गर्ने बानीको अभाव हुँदा बुझ्ने र सम्मान गर्ने प्रयास नहुँदा स्वस्थ परिवारको निर्माणमा अवरोध सिर्जना हुन पुग्दछ । परिवारका सदस्यहरूको सोचविचार, इच्छा र आकांक्षा अनि आनीबानी बुझेर काम गर्ने र एकले अर्काको कामको प्रशंसा गर्ने सम्मानजनक साइनो सम्बन्ध बोलीचाली स्थापित भएमा स्वस्थ परिवारको निर्माण हुन्छ ।
    पारिवारिक सदस्यमा एक–अर्काको आम्दानी खर्च र बचतको स्थितिका बारेमा जानकारी हुन आवश्यक छ । कसले कति आम्दानी गर्छ, कहाँ खर्च भइरहेको छ कसलाई समस्या परेको छ भन्ने जानकारीले सदस्यमा दायित्वबोध गराउँछ । लेनदेनमा पारदर्शिताले एक–अर्काप्रति विश्वासको वातावरण सिर्जना हुने कारण स्वस्थ परिवारको निर्माणमा आर्थिक हिसाब–किताबमा पारदर्शिताको भूमिकालाई पनि उच्च प्राथमिकतामा राख्न सकिन्छ ।
    आधुनिकीकरणको नाममा पारिवारिक, सांस्कृतिक बिचलन, देखासिकी, नक्कल, आडम्बर, तामसी भोजन, फेसन गहना, भोजभतेर र भेटघाटजस्ता कार्यले परिवारमा विकृति भित्रन्छ । पारिवारिक कलह सिर्जना हुन्छ । यसकारण पनि पारिवारिक स्वास्थ बिग्रिएर जान्छ । त्यसैले यस्ता विकृतिजन्य कुराबाट आफू र आफ्नो परिवारका सदस्यलाई टाढै राख्न सके पारिवारिक स्वास्थ बचाउन सकिन्छ ।
    यसरी स्वस्थ परिवारको निर्माणमा मनोवैज्ञानिक उपायको अवलम्बन बदलिँदो परिस्थितिमा अतिउपयोगी हुन सक्ने कारणले विश्वव्यापी रूपमा योग–ध्यानको माध्यमद्वारा मानिसको चेतना अभिवृद्धि गरी स्वस्थ परिवारको निर्माणमा सक्षम पारिवारिक नेतृत्व पारिवारिक सहयोग पारिवारिक सदस्यबीच एक–अर्कालाई बुझ्ने प्रयास, पारिवारिक सदस्यमा एक–अर्कालाई सम्मान गर्ने बानी हिसाब–किताबमा, पारदर्शिता, एक–अर्काप्रति विश्वासको वातावरण सिर्जना, सात्विक भोजन छलफल व्यायाम उचित परिश्रम सुमधुर पारिवारिक सम्बन्ध शिक्षा र प्रविधिको विकासमा नयाँसँगै पुराना पुस्ताको चासो र चाखमा अभिवृद्धि गरी जीवनशैलीमा आएको तीव्र परिवर्तनलाई समेत समायोजन गर्ने प्रयास भएमा निश्चित रूपमा हामीले स्वस्थ परिवार र समाजको निर्माणमा सफलता हात पार्न सक्छौँ । यसरी हरेक परिवारको स्वस्थताले प्रतक्ष्य रूपमा सिंगो देशको आर्थिक अवस्थालाई सबल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
    अन्त्यमा, स्वस्थ जनशक्तिले मात्र स्वस्थ र समृद्ध देश निर्माण गर्न सक्छ । जब, प्रत्येक परिवार, समाज र राष्ट्रका अधिकांश सदस्य स्वस्थ रहन्छन, तब मात्र सरकारको समृद्धिको नारा सफलीभूत हुन सक्छ । त्यसैले सरकारले स्वास्थ्यमा कम्तीमा १० प्रतिशत लगानी गर्न सके मात्र देशका नागरिक स्वस्थ हुन्छन् र देशमा समृद्धि आउँछ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology