`

‘नेचर, कल्चर र एडभेन्चर’ को सङ्गम हो गण्डकी प्रदेश

  • वातावरणको संरक्षण र विकासलाई सँगसँगै लैजान सकिन्छ भन्ने उदाहरण हामी दिनेछौँ ।
  • सबै प्रदेशहरू सुन्दर छन् । तर, गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ट गन्तव्य स्थल हो । अर्को कुरा सांस्कृतिक हिसाबले पनि गण्डकी प्रदेश धनी छ । विभिन्न खालको सांस्कृतिक गतिविधिहरू यहाँ हुन्छन् । नेपालको इतिहासलाई हेर्ने हो भने मूलधारको साहित्य, कला र संस्कृतिको उद्गमस्थल गण्डकी नै हो । यसैले प्राकृतिक र सांस्कृतिक हिसाबले गण्डकी प्रदेश पर्यटन उद्योगको लागि उपयुक्त ठाउँ हो भन्ने हाम्रो ठहर रह्यो । यस प्रदेशमा साहसिक पर्यटन गतिविधिहरू पनि हुँदै आएका छन् । त्यसैले मैले भन्ने गरेको छु, ‘गण्डकी प्रदेश‘नेचर, कल्चर र एडभेन्चर’को सङ्गम हो ।’ पर्यटनलाई हामीले गरिबी निवारण, रोजगार र स्वरोजगार सिर्जनाको अवसरको रूपमा हेरेका छौँ । यसलाई आर्थिक समृद्धिको आधारको रूपमा हेरेका छौँ । पर्यटन क्षेत्र थोरै लगानीबाट धेरै आर्थिक गतिविधि गर्न सक्ने, रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र हो । यही मान्यतामा रहेर गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र योजनामा पर्यटनलाई समृद्धिको मुख्य संवाहकको रूपमा लिए हौं ।पर्यटन वर्ष घोषणा
    हामीले आर्थिक वर्ष २०७५/०७६ (सन् २०१८) लाई नीतिगत तयारीको वर्षका रूपमा लियौँ । सन् २०१९ लाई आन्तरिक पर्यटन प्रवर्द्धन वर्षका रूपमा मनाइरहेका छौँ । नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हामीले त्यसमा सम्भावना धेरै दख्यौं । तर, विभिन्न पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी कमैलाई मात्र छ । त्यसैले प्रदेशमा भएका पर्यटकीय गन्तव्यको बारेमा आन्तरिक पर्यटकलाई जानकारी दिनुपर्छ भनेर हामीले आन्तरिक भ्रमण वर्ष मनाएका हौँ । सन् २०२० लाई हामीले छिमेकी पर्यटन प्रवर्द्धन वर्षका रूपमा मनाउन लागेका छौँ । हाम्रो छिमेकी राष्ट्र भारत र चीनका करोडौँ मानिस वर्षेनी विभिन्न देश घुम्न निस्कन्छन् । उनीहरूलाई नेपाल ल्याउने उद्देश्यका साथ छिमेकी मुलुकमा पर्यटन प्रवर्द्धन वर्ष मनाउन लागेका हौँ । २०२० को सुरुवातमा हामी छिमेकी मुलुकमा प्रचार थाल्ने छौँ । चरणबद्ध रूपमा गएर सन् २०२२ मा २० लाख पर्यटक गण्डकी ल्याउने हाम्रो योजना छ ।
    तीन सय होमस्टे योजना
    पर्यटनको विकासबाट आर्थिक रूपमा लाभ लिने, गरिबी निवारणमा सहयोग पुर्‍याउने, उत्पादन र उत्पादकत्व पनि बढाउने हो । व्यवसाय पनि बढाउने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो । गाउँगाउँमा पनि यसको महत्त्व फैलाउन पर्छ भनेर प्रदेश सरकारले आगामी ५ वर्षभित्र तीन सय होमस्टे पुर्‍याउने नीतिगत निर्णय गर्‍यो । यो कार्यक्रमलाई जनताले यति धेरै मन पराए र पछ्याए की होमस्टेको लागि दरखास्त आह्वान गर्दा झन्डै तीन सयको हाराहारीमा दरखास्त पर्‍यो । हामी होमस्टे चलाउँछौँ भन्ने उनीहरूको भनाई थियो । हामीले पाँच वर्षभित्र तीन सय होमस्टे पुर्‍याउने भनेका थियौँ । पहिलो वर्ष नै तीन सय निवेदन पर्‍यो । यसमा हामीले मापदण्ड बनाएका छौं । मापदण्ड पुगेको होमस्टे नै आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७४ पुग्यो । ती होमस्टेहरूको विकासको लागि ‘टोकन’ सहयोग पनि गर्‍यौँ । कार्यविधिमा कम्तीमा १० घरले होमस्टे सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सरकारले लगानी गरिसकेपछि त्यसको प्रतिफल धेरै गरिब जनता समक्ष पुगोस् भन्ने चाहना हो ।
    यसरी स्थापना भएका २ सय ७४ होमस्टेले प्रत्यक्ष रूपमा रोजगारी वा स्वरोजगारी सिर्जना त गर्छ नै अप्रत्यक्ष रूपमा पनि धेरै रोजगारी सिर्जना हुन्छ । होमस्टे भएको आसपासको गाउँहरूले तरकारी, अण्डा उत्पादन गरेर संस्कृतिको संरक्षण गरी आफ्नो पहिचान बचाएर आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सक्छ । यी सबै कुरालाई बिचार पुर्‍याउँदा हामीले सुरु गरेको होमस्टे स्थापनाको कार्यक्रम निकै महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रम भएको छ । यसरी योजनाबद्ध ढङ्गले नीति नै ल्याएर धेरै गाउँहरूमा होमस्टेको काम भइरहेको हाम्रै प्रदेशमा मात्र हो ।

    इतिहासकै कुरा गर्दा, यही प्रदेशको सिरुवारि होमस्टे मुलुककै पहिलो हो । संस्थागत रूपमा दर्ता भएर चलेको होमस्टे लमजुङको घलेगाउँ हो । यी दुवै होमस्टेहरू ग्रामीण पर्यटन अभियानमा उदाहरणीय छन्, पुरस्कृत पनि भइसकेका छन् । लमजुङकै काउलेपानी, राइनास होमस्टे प्रख्यात छन् । हामीले अन्य होमस्टेको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेका छैनौँ । त्यसैले प्रत्येक होमस्टेको सानो–सानो डकुमेन्ट्री बनाएर प्रचार गर्न पर्यटन मन्त्रालयलाई भनेको छु । प्रत्येक होमस्टेबाट दुई/तीन जनालाई ल्याएर कसरी खाना पकाउने, सफाइ कसरी गर्नेदेखि स्थानीय उत्पादनसँग कसरी जोड्ने भन्ने योजनाहरू बनाउन सिकाएका छौँ । तैपनि हामी सुरुवाती चरणमै छौँ, व्यवस्थित भइसकेको छैन ।
    कतिपयले होमस्टेहरूको सेवा उस्तै खाले भयो भन्ने आलोचना पनि गरेका छन् । तर प्राकृतिक र सांस्कृतिक हिसाबले पनि तिनीहरू समान छैनन् । समुदाय र जातजातिले पनि फरक छ त्यही अनुरूप होमस्टेको प्रकृति पनि फरक छ । तर कहिकतै खानाको परिकार उस्तै हुन सक्छ । खासमा स्थानीय रूपमा उत्पादन भएका परिकारहरू नै खुवाउनु पर्दछ । होमस्टेलाई हामीले पर्यटनमार्फत गाउँहरूमा रोजगारी र स्वरोजगारीको सिर्जना गर्ने, आर्थिक गतिविधि बढाउने र आर्थिक समृद्धि ल्याउने योजनाका रुपमा लिएका छौं । खास गरेर सहर र गाउँबीच जुन खालको आर्थिक खाडल छ, त्यसलाई यसले कम गर्ने विश्वास लिएका छौँ ।पर्यटन गतिविधिको प्याकेज तयारी
    पछिल्लो समय गण्डकीमा बन्जी जम्प, प्याराग्लाईडिङ, हाइकिङ, वार्टर स्पोर्टस् तथा पर्यटकीय–धार्मिक स्थलहरूको प्रवर्द्धन भइरहेको छ । हामी यी सबै पर्यटनका अवयवहरूलाई समेटेर प्याकेज बनाउने तयारीमा लागि रहेका छौँ । हाम्रो प्रदेश शक्तिपीठमा पनि धनी प्रदेश हो । विभिन्न धर्म, संस्कार र संस्कृति अनुसारका जात्रा पर्वहरू यहाँका आकर्षण हुन् । यसलाई कसरी हाम्रो पर्यटनसँग जोड्ने भन्ने तर्फ हामीले ध्यान दिइरहेका छौँ । अहिले पर्वतारोहण भनेपछि खुम्बु भ्यालीको मात्र सम्झना हुन्छ । हाम्रोमा यसको खास विकास हुन सकेको छैन । तर हाम्रो प्रदेशमा आरोहणका लागि सबैभन्दा अप्ठ्यारो हिमालको रूपमा चिनिने धौलागिरि छ । चुनौतीको सामना गर्न चाहने साहसीहरूको लागि धौलागिरि आरोहण उचित हुनसक्छ । अन्नपूर्ण, मनास्लुलगायतका हिमश्रृखंलाहरुको पनि उचित प्रचारप्रसार हुन सकेको छैन । हिमाल आरोहणको महत्त्वपूर्ण ठाउँ मध्येमा गण्डकी प्रदेश पनि हो भनेर प्रचारप्रसार गर्ने योजना छ ।हाम्रो प्रदेशमा रहेको सबैभन्दा लोकप्रिय राउन्ड अन्नपूर्ण ट्रेकिङ हो । तर आधुनिक विकासको कारणले गर्दा यो पदमार्ग छोट्टिएको छ । पहिला महिना दिन लाग्ने यो पदमार्ग अहिले पाँच दिनमै सकिन्छ । गण्डकीमा पर्यटकको बसाई लम्ब्याउन हामीले वैकल्पिक पदमार्गहरू बनाउने योजना अघि सारेका छौँ । ट्रेकिङलाई व्यवस्थित र आधुनिक बनाउने योजना छ । त्यस्तै महत्त्वपूर्ण कोटहरूको प्रवर्द्धन गर्ने तयारी भइरहेको छ । नयाँ/नयाँ गन्तव्यको छनौट गरी प्रचार गर्छौँ । अन्य क्षेत्रमा नभएका पर्यटकीय गतिविधि र गन्तव्यहरू हाम्रोमा छ, त्यसलाई उचित ढंगले प्रडक्टको रूपमा ल्याउन सकेको छैन, हामी त्यसमा पनि काम गरिरहेका छौँ । हामी ट्रेकिङ, माउन्टेनियरिङ, हनी हन्टिङ, क्यानोनिङ, र्‍याफ्टीङलगायतका पर्यटन गतिविधिलाई जोडर गुरुयोजना बनाउने तयारीमा छौँ । पर्यटनमा कनेक्टिभिटीले महत्त्वपूर्ण भूमिका खेल्छ । मुलुकका सात वटै प्रदेशसँग सिधा यातायात सुविधा बनाउने तयारी गरिरहेका छौँ । त्यसै गरेर सिधा हवाई सुविधा स्थापना गर्ने योजना पनि छ । सन् २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सातै प्रदेश र छिमेकी मुलुकहरूसँग पनि हाम्रो प्रदेशको सिधा हवाई सम्पर्क हुनेछ । पोखरा विमानस्थल खुलेपछि सन् २०२२ मा २० लाख पर्यटक गण्डकी भित्र्याउने लक्ष्य छ ।
    संरचनागत तयारी
    हामीसँग मानव स्रोतको कमी छ । आन्तरिक पर्यटन वर्ष २०१९ को काममा ढिलाइ हुनुको एउटा कारण त्यो पनि हो । हामी पर्यटन विकास निरीक्षणालय खोल्ने तयारीमा छौँ । उक्त कार्यालयले पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन, व्यवस्थापन र नियन्त्रणलगायतका कामहरू गर्नेछ । त्यस्तै पर्यटनलाई नै महत्त्व दिएको प्रदेश भएकोले जिल्ला जिल्लामा पनि पर्यटन विकास निरीक्षणालयको शाखाहरू राखेर पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन गर्नेछौँ ।
    निजी क्षेत्रसँग हातेमालो
    सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरूको विकासमा लगानी गर्ने हो बाँकीमा निजी क्षेत्रको भूमिका रहन्छ । पर्यटन व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्र हो । यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले हामी पर्यटनसँग सम्बन्धित सबै काममा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्ने छौँ ।
    पर्यटन राजधानी घोषणा गर्न माग
    हामीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नको लागि सङ्घीय सरकारलाई आग्रह गरेका छौँ । तर, गरिरहेको छैन । हामीले निर्णय गरेर सङ्घीय सरकारलाई पठायौँ तर मन्त्रिपरिषद्मा पुगेका अड्किएको छ ।
    वातावरण संरक्षणमा सचेत
    पर्यटनको विकासको कुरा गरिरहँदा हामी वातावरणको संरक्षणमा पनि सचेत छौँ । त्यसैले संरक्षण क्षेत्र बिस्तार गर्ने योजना छ । यो प्रदेश सबैभन्दा धेरै संरक्षित क्षेत्र भएको प्रदेश हो । यद्यपि ३७ प्रतिशत मात्रै जङ्गल छ, हामीले तीन प्रतिशत वृद्धि गरेर ४० प्रतिशत जङ्गल बनाउनु पर्नेछ । साथै अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको क्षेत्र बिस्तार गर्ने तयारीमा छौँ । वातावरणको संरक्षण र विकासलाई सँगसँगै लैजान सकिन्छ भन्ने उदाहरण हामी दिनेछौँ । (मुख्यमन्त्री गुरुङसँग गरिएको कुराकानीमा आधारित )

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology