`

उठ्दै गलकोट , महोत्सवबाट जुर्मुराउँदै गलकोटे !

जंगबहादुर राणाले कास्की र लमजुङको राजा बन्दै श्री ३ को श्रीपेच पहिरिँदा दुबै जिल्ला सामरिक र आर्थिक रुपले सम्पन्न थिएनन् । पश्चिमको प्रशासनिक केन्द्र पाल्पा थियो भने बडाहाकिमको मुकाम भए पनि औलो लाग्ने कास्कीको भौतिक विकासले ठप्पै थियो । पश्चिमको बागलुङ र पूर्वको बन्दीपुरले पोखरालाई छायाँमा पारेको समय थियो, त्यो । बागलुङले आफूसँग भएका उत्पादनहरु तल्लो भेगमा झार्दा बन्दीपुरले बागलुङदेखि मुस्ताङ हुँदै रुकुम रोल्पासम्मको क्षेत्रलाई आवश्यक पर्ने सामानको भरथेग गथ्र्यो । त्यो बेला बागलुङ भन्नु नै गलकोट थियो । अहिलेको बागलुङ सानो बजारमै सीमित थियो । प्रशासनिक काम गलकोटबाटै सम्पादन हुन्थे । हालको बागलुङ सदरमुकामदेखि ४५ किलोमिटर टाढा रहेको गलकोटको समृद्धिमा सो क्षेत्रमा उत्पादन हुने खाद्यान्न, जडिबुटी र खानीहरुको विशेष योगदान थियो । मल्ल राजाहरुको वैभव र पहुँच गलकोटको अर्को सामथ्र्य थियो ।
भरतबम मल्लको राजाभन्दा जनप्रतिनिधि बन्ने महत्वकांक्षासँगै गलकोटको मल्ल राज्य बिलायो । २०१९ सालमा गलकोटको जिल्ला सदरमुकाम बागलुङ बजार स¥यो । सदमुकामसँगै प्रशासनिक गतिविधि पनि बागलुङ बजारतिरै लागे । संयोग नै भनौँ, गलकोटको जस्तै नियति पश्चिम ३ नम्बरको अर्को व्यापािरक केन्द्र बन्दीपुरले पनि भोग्यो । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरलाई दमौली सारियो । त्यहाँका मै हुँ भन्ने व्यापारी नारायणगढ सरे। कोही दमौली र डुम्रे झरे । पहाडको टुप्पोमा भएको बन्दीपुर एकाएक सुस्ताउन पुग्यो । पृथ्वी राजमार्ग बनेपछि बन्दीपुर दाँत फुत्केको बुढ्यौलीमा पुग्यो । तर, गलकोटले त्यो नियति भोग्न परेन । स्थानीय उत्पादन बाहिर पठाउने र गलकोट हुँदै अन्यत्र सामान ढुवानीको परम्परा कायमै रह्यो । र, गलकोट इतिहासको आरोह–अवरोहमा पनि आफ्नो पहिचान कायम राख्न सफल भयो ।
मध्यपहाडी लोकमार्गको रेखा कोरिनु अघि गलकोटेहरुले आफ्नो भाग्यरेखा आफै कोर्ने जमर्को गरे । मुगलान झरेका गलकोटेहरुले रोजगारीका नयाँ गन्तव्य मात्रै खोजेनन्, वैदेशिक रोजगारी भनेको भारत मात्रै हो भन्ने परम्परागत मान्यतामा पनि धावा बोले । लामो हिँडाईपछि रेल चढेका उनीहरुले पानी जहाज र जहाजै चढेर नयाँ रोजगार गन्तव्यको खोजी गर्दै गलकोटलाई विप्रेषण ( रेमिट्यान्स) को केन्द्र बनाउने सफलता प्राप्त गरे ।
त्यही बाटो पच्छ्याउने क्रममा गलकोटबाट नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या बढी भएको तथ्याङ्क बनाउँछ । तर, ठ्याक्कै कति जना वैदेशिक रोजगारीमा छन् र कति पैसा भित्रन्छ भन्ने तथ्याङ्क यहाँको प्रशासनिक निकायसँग छैन । पछिल्लो समय रोजगारीको मुख्य गन्तब्य जापान बनाएको गलकोटले रेमिट्यान्सको वैभव भने देखाएकै छ । गलकोटका मलिला फाँटहरुमा विदेशमा बगाएको पसिनाले कंक्रिटका महलहरु ठडिएका छन् । मध्यपहाडी लोकमाग चक्ल्याउने काम हुँदै छ त के भयो ? यहाँका बाटा र गाउँहरुमा ट्याक्सी गुड्न थालेका छन् । आधुनिक उपयोग्य सामानको माग पनि ह्वात्तै बढेको छ । गाउँबाट नगरपालिका बनेको गलकोटले आर्थिक गतिविधिमा देशका प्रमुख सहरहरुसँग टक्कर लिन थालेको छ ।
विदेशमा बगाएको पसिना कंक्रिटको महलमा बदलिए पनि गलकोटले ऐतिहासिकता भने बिर्सेको छैन । फाँटमा बनेका ठूला महलले हरिचौरमा रहेको मल्लकालीन दरबारको वैभवलाई जित्न सकेको छैन । अपभ्रंश नै नै सही, पुरानो गोलकोतको महत्व यहाँका बासिन्दाले भुलेका छैनन् । गोलकोतको शीर अर्थात् १० हजार ३ सय ९३ फिट अग्लो घुम्टे शिखरको चिसो र शीतलता यहाँका बासिन्दाले भुलेका छैनन् । रेमिट्यान्सले मान्छेको दैनिकी बदलिनु समृद्धि हैन भन्ने यहाँका नागरिकले बुझ्न थालेका छन् । ढिला भएको छैन । तर, हिजोको समृद्धि र रीतिथितिलाई संरक्षण गर्दै आधुनिकतासँग समाहित हुने जमर्कोको थालनी पनि भएको छ । र, यो अभियानको नेतृत्व गलकोट घुम्टे पर्यटन विकास केन्द्रले लिएको छ ।
२०६३ सालमा पहिलो गलकोट घुम्टे महोत्सवको सफल आयोजना गरि यहाँका परम्परागत उत्पादनहरुको संरक्षण र बजारीकरण, पर्यटकीय गन्तब्यहरुको पहिचान र संरक्षण अनि स्थतानीय कला संस्कृतिको उत्थानमा होमिएको छ ।
‘हामीले यहाँको पर्यटकीय गन्तव्यको पहिचान गर्दै गलकोटलाई पर्यटकीय गन्तब्य बनाउन हामीले २०७६ सालमा पनि दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गरेका छौँ’ महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा गलकोट घुम्टे पर्यटन विकास समितिका संयोजक झंकबहादुर बस्नेतले भने,‘मंसिर ४ गतेदेखि ११ गतेसम्म संचालन हुने महोत्सवपछि हामी यहाँका पर्यटकीय गन्तव्यहरु विकास गर्न विस्तृत परियोजना रिपोर्ट ( डिपिआर ) तयार गर्नेछौँ ।’
सामाजिक संस्थाको नेतृत्वमा आयोजना भएको महोत्सव हो, गलकोट महोत्सव । यो महोत्सवले स्थानीय निकायहरुको दायित्व आफ्नो काँधमा लिएको छ । देश संघीय संरचनामा गएको र स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थिति भएको बेलामा थालिएको यो अभियानलाई गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाले पनि भरथेग गरेका छन् । ‘पालिकाहरुले यो महोत्सवलाई आफ्नै महोत्सव सम्झेका छन्, जनप्रतिनिधिहरुबाट हामीलाई सहयोग र निर्देशन प्राप्त भएको छ ’, महोत्सव आयोजक संस्थाका सचिव शेरबहादुर थापाले भने,‘ उहाँ( जनप्रतिनिधि)हरुले हामीले गर्नुपर्ने काम तपाईँले गर्नु भएको छ भन्दै हौसला मिलेको छ ।’
भनिन्छ, असल कामको थालनी हुँदा नै आधा सफलता हात लाग्छ । स्थानीय संस्कृतिको संरक्षण, पर्यटकीय स्थलको डिपिआर निर्माणलगायतका कामहरु थाल्ने यो अभियानले गलकोटको पर्यटन प्रवद्र्धन र विकासमा ठूलो सहयोग पु¥याउने गलकोटका मेयर भरत शर्मा गैरेको अपेक्षा रहेको छ । ‘गलकोट क्षेत्रको विकासको लागि सामाजिक संस्थाले थालेको प्रयास हामी सबैको साझा प्रयाृस हो’, उनले भने,‘हामी जुर्मुराएका छौँ भन्ने सन्देश दिन पनि महोत्सव सहायक हुनेछ भन्ने मैले ठानेको छु ।’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरको भनाई पनि उस्तै छ ।
‘महोत्सव गलकोटको पर्यटन पूर्वाधार विकासको लागि समर्पित छ’, उनले भने,‘यसको सही प्रवद्र्धन हुन नसक्दा र व्यवस्थापनमा पनि कमजोरी हुँदा हामी पछि परेका छौँ, अब महोत्सवले प्रचार र पूर्वाधारमा पनि सघाउने हामीले ठानेका छौँ ।’
गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ मनाउँदै छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष २०२० घोषणा गरेको छ । र, यही छेकोमा गलकोट घुम्टे महोत्सव आयोजना हुँदैछ । गलकोट क्षेत्रमा रहेका १२ वटा पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । ती ठाउँको विकासमा लगानी गर्न निजी क्षेत्र तयार भएको छ । गुरुयोजना तयार भए त्यहाँ निजी क्षेत्रको लगानी बढ्ने निश्चित भएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजंग बस्नेतको जिकिर छ । मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न भएपछि गलकोट पोखराबाट टाढा हुने छैन । यहाँको शीतलता, दरौँखोलाको माछा, जिब्रोलाई तिखार्ने भाँगोको अचार खान पर्यटकहरु गलकोट आउँछन् भन्ने आशा स्थानीयको रहेकै छ ।
‘हाम्रो यहाँको ताराखोलाले मीठो आलु, जिब्रो तिखार्ने अचार र मुलाको धँजरा मात्रै हैन, सांस्कृतिक विविधता पनि देखाउने सामथ्र्य राख्छ’, स्थानीय समाजसेवी यामबहादुर श्रीसले भने,‘यो महोत्सवले गलकोटलाई आँखीझ्यालबाट चियाउने अवसर दिनेछ, गलकोटको ऐतिहाँसिकता र यहाँको रहनसहन बुझ्न त एक पटकको यात्राबाट सम्भव हुने छैन । ’
त्यसो त, विविधतासँगै बहादुरहरुको क्षेत्र पनि हो गलकोट । खासगरि खेलकुदको क्षेत्रमा गलकोटले ठूलो योगदान दिएको छ । ‘हामीले यो महोत्सवको माध्यमबाट नयाँ खेलाडी उत्पादनको पहल पनि गरेका छौँ’, महोत्सवका खेलकुद संयोजक योगेश भण्डारीले भने,‘भलिबल र अन्य खेलकुद प्रतियोगिताहरु महोत्सवमा त्यसैले समावेश गरिएको हो ।’ महोत्सवको आर्थिक संयोजक मज्जु शर्मा चालिसेको भनाईमा गलकोटबासीलाई जोड्नको लागि महोत्सव आयोजना गरिएको हो । ‘हामी महोत्सवको माध्यमबाट गलकोटको आर्थिक समृद्धि चाहन्छौँ र यहाँका मनहरुलाई जोड्न पनि महोत्सव सहायक हुन्छ भन्ने ठानेका छौँ’, उनले भनिन्,‘ गलकोट फुट्न हैन, उठ्न चाहन्छ भन्ने सन्देश यही महोत्सवबाट देशभर पु¥याउँछौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology