`

‘गलकोट ‘भर्जिन’ पर्यटकीय गन्तव्य’

हरिचौरको बसाहा फा“टमा जारी दोश्रो गलकोट घुम्टे महोत्सव चिसो मौसमलाई तताएको छ । गलकोट क्षेत्रकै पहिचान दिने, गलकोटको बिकास गुरुयोजना बनाउने र नेपाल भ्रमण बर्ष सफल बनाउने लक्ष्यका साथ आयोजित महोत्सवमा दर्शकको घुईचो लाग्नुको साथै स्थानीय तथा राष्ट्रिय कलाकारले धमकेदार प्रस्तुती समेत दिईरहेका छन् । महोत्सवमा गलकोट क्षेत्रको संस्कृति र परम्परा झल्किने सामाग्री समेत प्रदर्शनी गरिएको छ । गलकोट क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा सांगीतिक, खेलकुद कार्यक्रमसंगै व्यापार व्यवसाय पनि राम्रो भएको छ । जारी महोत्सवबारे आयोजक, दर्शक र व्यवसायीको संक्षिप्त धारणा प्रस्तुत गरिएको छ ।

हेमन्त भण्डारी
(सांस्कृतिक संयोजक)
गलकोटको माहोल यतिबेला संगीतमय बनेको छ । गलकोट नगरपालिका–६ बसाहफाँटमा आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छौँ । हामीले स्थानीय लोपोन्मुख कला, संस्कृतिदेखि स्थानीय तथा राष्ट्रिय कलाकारको दैनिक प्रस्तुतिसँगै यहाँको माहोल संगीतमय बनेको छ । हामीले कलाकारको समय ब्यबस्थापनलाई ध्यान दिँदै सांस्कृतिक कार्यक्रमलाई अगाडी बढाएका छौँ । दोस्रो गलकोट घुम्टे महोत्सवको तेस्रो दिन शुक्रबारदेखि दर्शकको उपस्थितीले हामीलाई थप हौसला प्रदान गरेको छ । । दर्शकको रूची र चाहना अनुसार हामीले राष्ट्रिय कलाकार र सम्पूर्ण स्थानीय कलाकारलाई अवसर दिएका छौँ । हामीले ८ गतेदेखि राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता समेत सञ्चालन गर्दैछौ । दैनिक रुपमा स्थानीय कला संस्कृतीसँगै कम्तिमा ५ जना ख्यातीप्राप्त कलाकारको प्रस्तुतीले महोत्सवमा थप रौनक थपेको छ । सम्पूर्ण आयोजक टिम, बिभिन्न संघसंस्था, गलकोटबासीको सहयोग र उत्साहजनक साथ र सहभागिताले यो महोत्सवलाई थप ऊर्जा प्रदान गरेको छ ।

बुद्धि थापा (दर्शक)
यो महोत्सव निकै राम्रो लागेको छ । यहाँ प्रस्तुत गरिएका कला तथा संस्कृतिले मेरो मन छोएको छ । बिभिन्न जातजातिका लोप हुन लागेका ती पुराना कला संस्कृतीको अवलोकन गर्ने मौका यो महोत्सवले जुरायो । सती घाँटु, ठाडोभाका, सोरठी, गोपीचन नाच, यानीमाया जस्ता मौलिक संस्कृति अहिलेको पुस्ताको लागि कथा जस्तै भएको अवस्थामा यहाँ अवलोकन गर्न पाइयो । यस्ता संस्कृतीको बारेमा जान्ने र बुझ्ने अवसर दोस्रो गलकोट घुम्टे महोत्सव बनेको छ । तसर्थ, यो ऐतिहासिक अवसर हो । अहिले गलकोटमा मेला महोत्सव दर्जनाँै हुन्छन् तर त्यहाँ यस्ता मन लोभ्याउने पुराना संस्कृतीले कुनै स्थान पाउँदैनन् । गलकोट र ताराखोलाको पर्यटकीय गन्तब्यको पहिचान र विकास गर्ने उदेश्यले आयोजना गरिएको यो महोत्सवले पक्कै पनि ठोस आधार निर्माण गर्ने छ भन्ने मलाई आशा लागेको छ ।

हेमराज गैरे
(प्रअ, खरुवा मा.वि.)
दोस्रो गलकोट घुम्टे महोत्सवले वास्तवमा महोत्सवको झल्को दिएको छ । धेरै स्थानमा यस्ता कार्यक्रम हुन्छन् र गलकोटमा पनि पटकपटक सम्पन्न भएका थिए । यो महोत्सवमा समावेश गरिएका कार्यक्रम, यहाँ प्रस्तुत गरिएका कला–शैली, संस्कृतीले सबैको मन छोएको छ । सबै बर्गलाई लक्षित कार्यक्रम समावेश गरिएको छ । मेला महोत्सव भन्ने बित्तिकै रमाइलो र तामझाम मात्र भन्ने बुझाई हुन्छ तर यो महोत्सवले यसलाई चिर्न सफल हुनेमा म विस्वस्थ छु । मेला हो रमाइलो त पक्कै हुन्छ किनभने अहिलेका पुस्ताको माग नै यही छ तर सबै उमेर समूहको भावनालाई यो महोत्सवले स्थान दिएको छ । यो महोत्सव आयोजन हँुदै गर्दादेखि चलिरहदासम्म मैले विभिन्न संघ–सस्था, राजनीतिक दल तथा सम्पूर्ण गलकोटबासी एकजुट बनेको पनि मैले आभास गरेको छु । म आफू पनि लामो समयदेखि शैक्षिक संस्थामा आवद्ध रहे पनि पछिल्लो समय पर्यटकीय गतिविधिको विकासको लागि पनि जोडिएको छ । निलुवा पर्यटकीय केन्द्रमार्फत हामी यहाँको पर्यटकीय गन्तब्यको विकासको लागि पहलकदमी थालेका छाँै । गलकोटको पर्यटकीय गन्तब्यको खाका तैयार गर्ने महान उदेश्यसहित आयोजना गरिएको यो महोत्सव हामी सबैको गौरव हो भन्ने लाग्छ । गलकोटका समग्र पर्यटकीय गन्तब्यको पहिचान र विकासको लागि सबैले हालेमालो गर्दै महोत्सवलाई सफल बनाउनु हाम्रो दायित्व हो ।

होम थापा
(स्थानीय युवा समाजसेवी)
लोप हुन लागेका कला संस्कृतीको संरक्षणको लागि यो महोत्सव महत्वपूर्ण बनेको छ । गलकोट र ताराखोला क्षेत्रका बिभिन्न जातजातिका संस्कृती एकै स्थानमा हेर्न पाउनु गौरवको विषय हो । यसअघि पनि हाम्रै अग्रसरतामा हामीले महोत्सव गरेका थियाँै तर यस्ता संस्कृती सबै समाबेश गर्न सकेका थिएनौँ । सबैको हातेमालो बिना यो सम्भव नहँुदो रहेछ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको नेतृत्वमा आयोजना गरिएको यस कार्यक्रम सुरुदेखि नै ब्यबस्थित बनेको छ । यसलाई अझ सार्थक बनाउनु हामी जस्ता युवाहरुको दायित्व पनि हो । धेरै जसो युवा साथीहरु गलकोट बाहिर हुनुहुन्छ तर जहाँ भए पनि जन्मभूमिको विकासको निम्ति ध्यान दिनुभएको छ । अझै पनि गलकोट क्षेत्रको विकासको लागि साझेदार गर्नु जरुरी छ । लोप हुन लागेका कला संस्कृतीको जगेर्ना गर्दै पर्यटकीय गन्तब्यको बिस्तृत सम्भाब्यता अध्यन गर्ने महान लक्ष्यसहित आयोजना गरिएको यो महोत्सव आफैमा सफल बनेको छ, यसलाई अझ सार्थक बनाउने दायित्व तपाईँ हाम्रै हातमा निर्भर रहेको छ ।

मोहन केसी
(महोत्सव व्यवस्थापक)
बागलुङ जिल्ला भरपुर पर्यटकीय सम्भावना बोकेको जिल्ला भएपनि ओझेलमा परेको जिल्ला हो । पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल सुरु भए पनि हामीकहाँ विदेशी पर्यटक कम नै आउने गर्छन् । सदरमुकाममा कालिका भगवती मन्दिरसम्म स्वदेशी र केही भारतीय पर्यटक आउने गरे पनि उनीहरुलाई ग्रामीण भेगका हाम्रा प्रचुर सम्भावना बोकेका पर्यटकीय गन्तब्यसम्म पु¥याउन सकेका छैनौँ । गण्डकी प्रदेश सराकारले समृद्धिको पहिलो आधार पर्यटनलाई मानेको छ । तर, पोखरा मात्र हेरेर सरकारको यो नाराको सार्थकता हुँदैन । पोखरा भित्रने पर्यटकलाई ग्रामीण भेगमा केही समय बिताउने वातावरण बनाउन जरुरी छ । गण्डकी सरकारको लक्ष्यलाई साथ दिन गलकोट घुम्टे पर्यटन केन्द्रको अग्रसरतामा संचालन भईरहेको यो महोत्सव पनि एक हो । गलकोट र ताराखोला क्षेत्रको पर्यटकीय गन्तब्यको पहिचान गरेर सरकारलाई झक्झकाउने गरि यो महोत्सव आयोजना गरिएको छ । विगतमा पनि गलकोटमा आयोजना गरिने मेला महोत्सवको प्राबिधिक ब्यबस्थापन गरिरहेको छु, तर ती महोत्सवको तुलनामा यो महोत्सव फरक छ । यो महोत्सवको गरिमा नै फरक छ, यो गरिमालाई घुम्टेको शीरजस्तै उचाईमा पु¥याउने गलकोटबासीको दायित्व हो । हामी पर्यटन क्षेत्रमा काम गरिरहेका पनि छौँ । समग्र बागलुङका पर्यटकीय गन्तब्यलाई समेटेर चलचित्र बुकी निर्माणको चरणमा छौँ ।

गोकुल बोहरा (व्यवसायी)
अहिलेसम्म धेरै मेला महोत्सव आयोजना गरिए गलकोटमा तर यो अहिलेसम्मको नमूना हो जस्तो लागेको छ । यहाँको ब्यबस्थापकीय पक्ष निकै राम्रो लागेको छ । यहाँ ब्यवसायीलाई प्राप्त सेवा सुबिधा प्रदान गरिएको छ । फराकिलो ठाउँ भएकोले व्यवसाय संचालन गर्न सहज भएको छ । महोत्सवमा हामीले सन्तोषजनक कारोबार गरेका छौँ । मेला महोत्सव भन्ने बित्तिकै स्थानीय ब्यवसायी साथीहरु आफ्नो नियमित ब्यापारमा असर पर्छ भन्ने सोच राख्नुहुन्छ । तर, वास्तवमा बाहिरका व्यवसायी साथीहरुबाट सिक्ने मौकÞा पनि मिल्छ । उहाँहरु धेरै प्रकारका सामाग्रीको साथमा यहाँ आउनु भएको छ । उहाँहरुबाट हामी स्थानीयले पनि सिक्नु जरुरी छ । हामीले अरुको सकारात्मक सिको गरेर आफूलाई परिवर्तन गर्नु जरुरी छ । अरुको रिस नगरी सकारात्मक सोचको साथ अघि बढ्नु पर्छ । मेला महोत्सवको कारण स्थानीय बजारमा कारोबारमा कमी भए पनि उनीहरुको सेवा सुबिधाबाट पाठ सिकेर आफ्नो चेतनाको विकास गर्ने अवसर प्राप्त हुन्छ भन्ने मलाई लाग्छ ।

अर्जुन चोखाल
(सचिव, पर्यटन विकास समिती बागलुङ)
गलकोट घुम्टे महोत्सव आँफैमा गलकोटको पहिचान गराउने अवसर हो । यस महोत्सव आयोजनाको उद्देश्यनै गलकोट घुम्टेको डिपिआर तयार गर्ने रहेकाले यसले अर्को महत्वपुर्ण अर्थ राख्छ । डिपिआर बन्ने भएकाले फाउण्डेसन निर्माणको काममा सहयोग गर्छ । अर्को कुरा गल्कोटको प्रचारप्रसार, यहाँका उत्पादन, यहाँको कला संस्कृतीको प्रचारप्रसार संरक्षण र प्रबद्र्धनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । महोत्सवमा राखिएका स्थानीय उत्पादनलाई बजारीकरणमा सहज हुन्छ किनभने त्यहाँ देख्ने भोग्नेहरुले देशका ठुला शहरहरुमा त्यसको प्रचारप्रसार गर्छन् । महोत्सवले यहाँ रहेका घरबासहरुको प्रबद्र्धमा पनि मद्दत गर्छ । गलकोट आउनेहरु घरबासमा बस्न रुचाउने, त्यहाँ स्थानीय उत्पादनको प्रयोग गर्ने गर्छन् । महोत्सवले अन्य व्यवसायमा पनि निकै प्रभाव रहेको हुन्छ । महोत्सवमा आउने पाहुनाको चापका कारण व्यवसायिक हिसावले राम्रो हुने नै भयो । महोत्सवको माध्यमबाट जसरी गल्कोटको प्रचारप्रसार विकास र प्रबद्र्धनको काम थालिएको छ । जसका कारण गल्कोटले फड्को मार्ने देखिन्छ ।
हामीले जिल्लाको पर्यटन गुरुयोजना निर्माण गरिरहेका छौं । भर्जिन गन्तव्यका रुपमा बागलुङलाई विकास गर्ने सोचमा हामी छौं । जुन लक्ष प्राप्तीको लागि आवश्यक तयारी बिन्दुका रुपमा यो महोत्सवलाई लिन सकिन्छ । साँच्चै भन्ने हो भने हाम्रो प्रकृतिको अनुपम उपहार हेर्न आउनेहरुले हाम्रो स्थानीय उत्पादनको खोजी र उत्पादन प्रकृयाको बिषयमा पनि चासो राखेको देखिन्छ । गल्कोटमा प्रसिद्ध घर छाउने ढुंगा कसरी बन्दो रहेछ भनेर यहाँ आउने पर्यटकले चासो राख्नु एउटा उदाहरण हो । सन् २०२० नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई पनि यो महोत्सवले सघाउँछ । महोत्सवमा देशभरका दर्शक आउँछन् । बागलुङ बजारदेखि अक्षेते सम्मको सडक सबैले देख्छन् । यदि सबैले दबाव दिने होभने मध्यपहाडी लोकमार्गको स्तरोन्नतीमा पनि दबाव पुग्छ । नीति निर्माणको तहमा दबाव पुग्छ । महोत्सवले यस क्षेत्रका धेरै चिजको प्रर्वद्धन हुने अवसर पाएका छन् । यहाँ देखिएका सम्भावनाहरु नीति निर्माण तहमा बस्नेले ध्यान दिए भने उत्पादन प्रबद्र्धन, यहाँको बिकास र समग्र पर्यटन तथा आर्थिक बिकासको क्षेत्रमा सहयोग गर्छ ।
–प्रस्तुतीः बालकृष्ण सुवेदी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology