`

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो

गलकोट, १० मंसिर – जिल्लाको मध्यम भेगमा गल्कोटको बसाहा फाँटमा मंसिर ४ गते देखि जारी दोस्रो गलकोट घुम्टे महोत्सवको अन्त्यतिर आउदा दर्शकको ओईरो लागेको छ । सोमवार र मंगलवार दर्शकको अलि बढि नै घुइचो लागेको आयोजकले जनाएको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।
महोत्सवमा प्रत्येक दिन स्थानिय कला संस्कृति झल्कने लोपोन्मुख सांस्कृतिक प्रस्तुति सालैजो, सोरठी, सराँय नाँच, नौमति बाजा, भजन कृतन, ताराखोलाको सिस्नो खोस्ने पर्व, गलकोटको लाखे नाँच प्रस्तुत भईरहेका छन ।
महोत्सवमा अहिलेसम्म झण्डै ३० हजार दर्शकले अवलोकन गरेको महोत्सव व्यवस्थापक मोहन केसीले जानकारी दिए । महोत्सवमा दैनिक जसोे नै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ । महोत्सवमा छैठौं दिनसम्म विभिन्न प्रतियोगिताहरु सञ्चालन भईरहेका छन । अहिले पालिका स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता जारी रहेको खेलकुद संयोजक योगेश भण्डारीले जानकारी दिए ।
महोत्सवमा आकर्षकको रुपमा मानिएको हेलिकोप्टर मार्फत दृश्यअवलोकन प्रतिकुल मौसमका कारण आज उडान गर्ने तयारी भईरहेको हेलिकोप्टर व्यवस्थापन समिति सदस्य भुपेन्द्र खत्रीले बताए । हेलिकोप्टर मार्फत पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न सकिने केसीको भनाई छ ।महोत्सवमा लोपोन्मुख वस्तुहरु, जडिबुटी, हस्तकला प्रदर्शनीका सहित १ सय ३० वटा व्यापारिक स्टलबाट व्यापारिक कारोबार भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । महोत्सवमा संकलित रकमबाट गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका प्रत्येक वडामा पर्यटकीय गन्तव्यहरुको पहिचान गरि विस्तृत सम्भाव्यता अध्ययन डिपिआर तयार गरिने वरिष्ठ उपाध्यक्ष थापाले वताए । दोस्रो गलकोट घुम्टे महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन ईभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको छ । १३ वर्ष पछि सञ्चालन भएको दोस्रो गलकोट घुम्टे महोत्सवको समापनतिर आउदा दर्शकहरुको भिड लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology