`

प्रधानमन्त्रीलाई मिर्गौला दिने अन्जान भन्छिन : ‘मेरै मिर्गौलाले काम गरिरहोस्’

  • बैठक कोठामा सन्नाटा छाएको थियो । अञ्जानले नै सन्नाटा चिरिन्, ‘मैले दिन्छु मिर्गौला ।’
  • काठमाडौं, ११ मंसिर – दुई हप्ताअघि अञ्जान घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । केपीका गाला सुन्निएर पुक्क भएका थिए । तर, हाउभाउले कत्ति पनि बिरामी देखिँदैनथे । चश्माको छेकोबाट हेर्दै प्रधानमन्त्रीले प्रश्न गरे, ‘नियमित स्वास्थ्य परीक्षण गरिरहेकी छ्यौ ?’ अञ्जानले ‘अँ’ भन्ने भावमा टाउको हल्लाइन् ।
    एकछिनपछि फेरि प्रधानमन्त्री बोले, ‘तिमी चिन्ता नगर । अझ दुई/तीन वर्ष छोरीकै मिर्गौलामा बाँच्छु म ।’ अञ्जान नाताले प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । तर, ओली जहिल्यै माया गरेर ‘छोरी’ भन्छन् । उता, डाक्टरलाई सुन्दाखेरि बाँच्नका लागि केपी ओलीसँग अब मात्र दुई विकल्प छन् – कि मिर्गौला पुनःप्रत्यारोपण या नियमित होमोडायलायसिस् । यता अञ्जान सुनाउँछिन्- खुसी र आँसुले कुँदिएको मिर्गौलाको गीत । अथवा कविता, कथा, फिल्म, उपन्यास जे भन्नुस् ।
    यहाँ मुटुका मात्र गीत बन्छन् । अहँ ! मिर्गौलाका गीत कहिल्यै बनेनन् । तर, यहाँ मिर्गौलाको सुन्दर गीत छ । या तपाई‌‌ यसलाई कविता भन्न सक्नुहुन्छ । या कथा भन्न सक्नुहुन्छ । केही छैन, फिल्म नै भन्नुस् न ! शक्तिशाली फिल्मभन्दा कमजोर छैन प्रधानमन्त्री केपी ओलीको मिर्गौला कथा । उस्तै गीत छ, अञ्जान घिमिरेसँग । १२ वर्षदेखि प्रधानमन्त्री ओली अञ्जानकै मिर्गौलामा बाँचिरहेछन् । योभन्दा मिर्गौलाको सुन्दर गीत अर्को के हुन सक्छ ?
    आजभन्दा १२ अघि ओर्लिऔँ ।
    केपी शर्मा ओली बैंककबाट स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए । ‘हालखबर कस्तो छ ?’, परिवारका सदस्यलाई चासो हुने नै भयो । भाइ ताराप्रसाद वली र बुहारी अञ्जान बालकोट पुगेका थिए । प्रधानमन्त्री ओली मुसुमुसु हाँसिरहेका थिए । दिनको समय । बाहिर घाम लागेको थियो । केपी ओलीले भने अन्धकार कथा सुनाए, ‘दुबै मिर्गौलाले काम नगर्ने भयो ।’
    ला… ! अञ्जानलाई औडाहा भयो । मैले बचाउन पो सक्छु कि ! उत्तिखेरै अञ्जानको दिमागले यत्ति सोच्यो ।
    बैठक कोठामा सन्नाटा छाएको थियो । अञ्जानले नै सन्नाटा चिरिन्, ‘मैले दिन्छु मिर्गौला ।’
    ओलीेले नै हाँसेर उडाए, ‘दिन्छेस् तैंले । न ब्लड मिल्छ । बच्चाकी आमा ।’
    तर, अञ्जान एकोहोरिइसकेकी थिइन् । अञ्जानले पनि हाँस्दै भनिदिइन्, ‘हेर्नु न ! कस्सैको मिल्दैन । मेरै मिल्छ ।’
    जतिबेला अञ्जान भर्खर २२ वर्षमा टेक्दै थिइन् । उनका एक वर्ष नाघेका पहिलो छोरा भर्खर पाइला चाल्न सिक्दै थिए । कुरा फेरि मिर्गौला झिक्ने छ । कसले पत्याओस् !
    अर्को दिन अञ्जानले ओलीलाई फोन गरिन्, ‘म जचाउँन आउँछु । मैले नै दिन्छु मिर्गौला ।’ केपी ओली मानिरहेका थिएनन् । तर, उनी जबरजस्त बालकोट पुगिन् ।
    फेरि ओलीले सम्झाए, ‘यस्तो कुरामा ख्याल ठट्टा गर्नु हुँदैन । अरुले पनि दिन सक्छन् नि ! तिमीले बाबुलाई हेर्नुपर्छ ।’
    अञ्जान मान्नेवाला थिइनन् । भनिन्, ‘बाबु हेर्ने अरु छन् । बरु जँचाउन जाऔँ ।’
    अञ्जानको जिद्दीका अगाडि केपी ओलीको अडान पनि काम लागेन । ओलीले भने, ‘उसोभए श्रीमान, आमा, बाबासँग सल्लाह गर ।
    ‘अरुले नदिए पनि के भोर । मिर्गौला त मेरो हो नि !’ यत्ति भनेर अञ्जान बाहिरिइन् ।
    अञ्जानले आमासँग त कुरा गरिदिन् । बाबा काठमाडौंमा सँगै थिए । अञ्जान सुनाउँछिन्, ‘बाबालाई सुनाएँ । बाले दे दे नानी, यस्तो काम गर्ने अवसर त जहिले तहिले मिल्दैन भन्नुभयो । त्यसो भन्दाखेरि उर्जा नै थपिँदोरहेछ । श्रीमानले त आफ्नो दाइलाई बचाउन नदिने कुरै भएन ।’
    परीक्षण भयो । सबैथोक मिल्दै गयो । अञ्जान भन्छिन्, ‘मिल्दै गएपछि त अझ उर्जा थपियो । म यस्तो तरिकाले गएकी थिएँ कि कसैले रोकेर रोकिनेवाला थिइनँ ।’
    ‘जेठाजुलाई मिर्गौला प्रदान गर्न यति धेरै केले हौसला प्रदान गर्‍यो ?’ भित्तामा टाँसेको केपी ओलीको फोटो हेर्दै हामीले सोध्यौं ।
    बौद्ध नयाँबस्तीको अञ्जान घिमिरेको फ्ल्याटमा छौँ हामी । बेडरुममा । बेडरुमका सामाग्री असरल्ल छन् ।
    कुरा गर्दै जाँदा अञ्जान बेडबाट सोफामा सरेकी छिन् । छोराछोरी अर्को कोठा छिरेका छन् ।
    अञ्जान झट्ट उत्तर भेट्टाउँदिनन् । जवाफ फर्काउँछिन्, ‘खै ।’
    बरु उनले खुशी साट्न थालिन्, ‘जब प्रत्यारोपाणका लागि मेरो मिर्गौला योग्य भयो, त्यतिबेला म एकदमै खुशी भएकी थिएँ । साधारण मान्छेलाई बचाउँदा त खुशी भइन्छ भने झन यत्रो देश हाँक्ने नेतालाई बचाउनु त भाग्यको कुरा हो ।’
    सबै कुरा मिलेपछि केलाई पर्खिनु ? १५ दिनमै अञ्जान र केपी ओलीको परिवार भारतको अपोलो हस्पीटलतर्फ लाग्यो । त्यतिबेला केपीले अञ्जानलाई भनेका थिए, ‘तँ जिद्दी रहिछस् । तेरो जिद्दीले जित्यो ।’
    ०००
    ०६४, साउनको अन्तिम हप्ता । अप्रेशन सफल भयो । अञ्जान होस्मा आउँदा आइसियुमा थिइन् । ‘मेरो मिर्गौला लिएपछि दाइ कस्तो हुनुभयो होला त ?’ होस आउनेवित्तिकै ओलीलाई देख्ने तीब्र इच्छा भयो । डाक्टरले भेटमा रोक लगाएका थिए । तर, मान्छेको मनमा त कसैले टाँचा लाउन सक्दैन । अञ्जानको मन उडेर केपी ओलीसँग मात्र बसिरहेको थियो ।
    डाक्टरले एक हप्ता हस्पीटल बस्नुपर्छ भनेका थिए । तोकिएको भन्दा दुई दिनअघि नै अञ्जान डिस्चार्ज भइन् । तर, एक झल्को केपी ओलीलाई नभेटी उनको मनले कहाँ मान्नेवाला थियो र !
    अञ्जान डाक्टरको पछिपछि लागिन् । केपी ओली शैयामै सुतिरहेका थिए ।
    १२ वर्ष अघिको घटना सुनाउँदै गर्दा अञ्जानका आँखा टिल्पिलाए । एकछिन् सिलिङतिर हेरिन् । एकछिन रोकिइन् र भनिन्, ‘मलाई देख्नेवित्तिकै उहाँले गहभरि आँशु पार्नुभयो । उहाँको आँशु देखेपछि मैले पनि थामिन सकिनँ । उहाँले आँशु पुछ्दै भन्नुभयो म ठीक छु । घाउ पाक्छ, अलि केयर गर्नु ।’ तर, अञ्जान केही बोल्नै सकिनन् । उनले त्यो दुई मिनेटजतिको आनन्द जीवनमा सायदै भेटेकी छिन् ।
    अञ्जान थप्छिन्, ‘एउटा आफ्नो सन्तानलाई जन्म दिँदा खुशी भएकी थिएँ । अर्को, देशको सन्तानलाई बचाउँदा ।’
    साँच्चिकै कसैको जीवन रक्षा गर्नुको जत्तिको आनन्द अरु केमा होला ?
    जब अञ्जान अपोलो हस्पिटलबाट निस्किइन् । उनलाई छोराको मायाले अत्याउन थाल्यो । यसअघि कहिल्यै पनि छोरासँग यति लामो सयम बिछोडिएकी थिइनन् । छोरालाई माइतमा आमाको जिम्मा छाडेर अपोलो पुगेकी थिइन् उनी । त्यसैले भारतमा उनी लामो समय रोकिन सकिनन् । सिधै काठमाडौंको डेरा आइपुगिन् ।
    भक्तपुर नयाँ ठिमीमा थियो अञ्जानको डेरा । दुई कोठा थिए । श्रीमानले सहकार्यमा प्रेस चलाएका थिए । यही थियो जिविकाको मेलो । श्रीमानलाई तत्काल काममा नफर्की सुखै थिएन ।
    करिव २० दिनपछि ओली पनि काठमाडौं ओर्लिए । अञ्जान हतारिँदै बालकोट पुगिन् । सदाजस्तै ओली खुशी देखिन्थे । अञ्जान भन्छिन्, ‘केही पारिवारिक गफ भए । बच्चा लगेर गएको थिएँ । त्यसपछि उहाँ बच्चसँग खेल्न थाल्नुभयो ।’
    यता केपी ओलीसँगै अञ्जानमा पनि मिडियामा छाएकी थिइन् । तर, अनेक हल्लाहरुले बजार तातेको थियो । कतिले भन्थे, ‘केपी ओलीले मिर्गौला किनेका हो रे !’ तर, अञ्जानको परिवार आफ्नै जीवनलाई व्यवस्थित गर्ने धुनमा थियो ।
    प्रेसबाट घाटा ब्यहोर्नुपरेको थियो । अञ्जान मदन भण्डारी बोर्डिङ स्कुल पढाउन थालिन् । श्रीमानले किराना पसल चलाउन थाले । चार वर्षपछि छोरी जन्मिइन् ।
    बोर्डिङको तलब कति नै हुन्छ र ? अञ्जानले पढाउन छाडिन् । किराना पसलको क्षेत्रफल बढाइन् ।
    यतिबेलासम्म अञ्जानहरु खरिबोट दक्षिणढोकामा डेरा सरिसकेका थिए । किराना पसल पनि त्यहीँ थियो । तर, किराना पसलले मात्र परिवार धान्न धौधौ पर्‍यो । अञ्जानले श्रीमानलाई कतार पठाइन् ।
    एक दिन अञ्जानले भर्खर पसलको सटर खोलेकी थिइन् । उनको पसल छेउमा मासु पसल थियो । केही छिनमा उनै मासु पसले अञ्जानको पसल अगाडि उभिए र सोधे, ‘तपाईले मिर्गौला कतिमा बेचेको दिदी ?’
    अञ्जान अवाक् बनिन् । एउटा मिर्गौलामाथिको मुटु चसक्क भयो । आँखाबाट आँशु खसे । अञ्जान अमिलो बन्छिन्, ‘त्यो क्षण सम्झँदा अहिले पनि रुन मन लाग्छ । जीवनमा सबैभन्दा नरमाइलो लागेको क्षण थियो त्यो ।’
    र, पनि अञ्जान आफूलाई रोक्न सकिनन् । चिच्याइन्, ‘तपाईको दाइ भाइको मिर्गौला फेल भएपछि तपाईले बेच्नुहुन्छ ?’ ती युवाले भने, ‘सरी ।’ मान्छेलाई मारिसकेपछि भनेको सरीको के अर्थ ?
    अञ्जान जब-जब यस्ता कुरा सुन्थिन्, उनलाई लाग्थ्यो, ‘मान्छेबाट मानवता हराइसकेछ ।’
    र, पनि अञ्जान जब केपी ओलीसँग पुग्थिन् । ओली उभिएको देखेर सारा पीर बिर्सन्थिन् । शरीरभर खुशी शयर गर्थ्यो  ।
    तर, कहिल्यै आफ्नो घरमा खाना पकाएर खुवाउन भने पाएकी छैनिन् अञ्जानले । भन्छिन्, ‘उहाँलाई कहिल्यै फुर्सद हुँदैन । दुईपटक राधिका भाउजूसँग आएर कालो चिया मात्र खाएर फर्किनुभएको छ ।’
    ०००त्यसपछि पनि केपी ओलीसँग पटक-पटक भेट भयो अञ्जानको । उनले प्रायः परिवारसहित बोलाउँछन् । र, जहिल्यै भेट्ने वित्तिकै ओली प्रश्न गरिहाल्छन्, ‘स्वास्थ्य जाँच नियमित छ ?’
    ‘समयमा परीक्षण गरेन भने उहाँ खुब रिसाउनुहुन्छ’, अञ्जान सुनाउँदैछिन् ।
    त्यसपछि ओली अञ्जानका छोराछोरीसँग खेल्न थाल्छन् । बच्चाहरु देखेपछि ओलीको अनुहार छुुट्टै चमकले चुलिन्छ । बच्चाहरुसँगै खुशी हुन्छन्, रमाउँछन् । अञ्जान भन्छिन्, ‘बच्चासँग रमाउने उहाँको स्वाभाव नै हो । कहिलेकाँही बाटोमा बच्चाहरु देखे पनि रोकिएर कुरा गर्न थाल्नुहुन्छ । बच्चासँग चाँडै हेलमेल हुने स्वाभाव छ ।’
    ०००
    घर्‍याक्क ढोका उघि्रयो । अञ्जानका श्रीमान आइपुगेछन् । अचेल श्रीमानले विज्ञापन एजेन्सी सञ्चालन गर्छन् । घडीले साँझको सात बजाएको छ । यति नै बेला हो श्रीमान घर र्फकने ।
    अञ्जान पनि छ बजे मात्र घर फर्किएकी थिइन् । उनको पनि राष्ट्रपति कार्यालयमा जागिर छ । टेलिफोन अपरेटरको । यति नगरे कसरी फ्ल्याटको भाडा तिर्नु । नौ कक्षा पढ्दै गरेका छोरा अर्पण र तीन कक्षा पढ्दै गरेकी छोरी अभिलाशालाई कसरी हुर्काउनु ।
    श्रीमान ताराप्रसाद किचनमा छिरे । तर, हाम्रो कुरा सक्किएकै छैन । प्रसंग प्रधानमन्त्रीमा पुग्यो ।
    अञ्जान हाँस्दै भन्छिन्, ‘जब उहाँ प्रधानमन्त्री हुनभयो नि ! त्यतिबेला ममा खुशीको सीमा थिएन । मिर्गौला नदिएकाहरु त खुशी भए भने म कति खुशी भए हुँला ।’
    त्यो खुशीलाई शव्दचित्रमा वर्णन गर्न सक्दिनन् अञ्जान । मान्छेहरु लिएर मात्र खुशी हुने प्रयासमा हुन्छन् । हेर्नुस् त दिएर झन् कति खुशी भइँदोरहेछ ।
    त्यतिबेलै अञ्जानले केपी ओलीले गरेको एउटा आग्रह सम्झिइन् ।
    एकदिन ओलीले भनेका थिए, ‘मबाहेक परिवारमा कोही पनि राजनीतिमा आएनन् । तँ आइज न छोरी ।’ त्यतिबेला अञ्जानले पछि गरौँलाले भनेर टारिन् । तर, त्यो पछि कहिल्यै आएन । उनलाई गृहस्थी सम्हाल्नै ठिक्क भयो ।
    ‘छोरीको राजनीतिमा खुब रुचि छ । उसलाई नै अगाडि बढाउँछु’, अञ्जान बोल्छिन् । आफूले गुमाएको सबथोक सन्तानका भागमा परोस् भन्ने सोच्छन् आमा-बाबु ।
    ०००
    आजभोलि प्रधानमन्त्रीसँग भेट्दा नमीठो लाग्छ अञ्जानलाई । भलै प्रधानमन्त्रीको ऊर्जामा २० को १९ नै भएको किन नहोस् । ‘तपाईंको स्वास्थ्य कस्तो छ ?’, चाहेर पनि ओलीलाई सोध्न सक्दैनिन् अञ्जान । ‘मैले कसरी सुन्न सक्छु कि मेरो मिर्गौलाले काम गरेको छैन भनेर । मलाई त अझै २० औँ वर्ष मेरै मिर्गौलाले काम गरिरहोस् भन्ने लाग्छ’, अञ्जानको चहकिलो अनुहार क्षणभरमै मधुरो बन्छ ।
    तर, ओलीले आफ्नो आराम र खानामा समय नै नदिएको देख्दा झन् दुःख लाग्छ उनलाई । ‘उहाँले खानाको टाइमिङ र आरामलाई समय दिने मात्र भए पनि अहिलेको अवस्था आउँथेन होला’, अञ्जान भन्छिन्, ‘उहाँलाई अरु सबथोक थाहा छ तर, आफ्नो स्वास्थ्यबारे थाहा छैन ।’
    अञ्जानले भगवानसँग प्रार्थना गरिरहेकी छिन्, ‘भगवान ! अझै मेरै मिर्गौलाले काम गरोस् । रफ्तारमा काम गर्नेबेला बिरामी भएर अल्झन नपरोस् ।’ अनलाईनखबरबाट

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology