`

सत्तालाई सही बाटोमा हिँडाउने मेरो ध्येय

कास्की क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ७५ वर्षीय खेमराज पौडेल चुनावी मैदानमा छन् । कांग्रेसमा टिकट पाउनै मुस्किल । १६ जना आकांक्षीलाई पछि पार्दै टिकट पाएका खेमराज अहिले आफूजस्तै टिकटका आकांक्षीहरुलाई सँगै लिएर चुनावी प्रचारमा व्यस्त छन् । जीवनको यो उकालीवयमा उकाली–ओरालीहरु छिचोल्दै मतदाताकहाँ पुगेर भोट माग्दै गर्दा उनी चुनाव जित्नेमा ढुक्क छन् । जनताको सपना पूरा गर्ने वाचासहित चुनावी मैदानमा रहेका उनै खेमराजसँग ढोरपाटन न्युजले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
यो उमेरमा बिहानदेखि साँझसम्म खटिनु भएको छ, थकित देखिनु हुन्न त ?
–म यहीँ पुम्दीको डाँडामा जन्मेको मान्छे हुँ । महानगरको वडा हुँदाको पुम्दीमा पुग्न त मुस्किल छभने मेरो बाल्यवयमा त्यो डाँडा (डाँडा देखाउँदै) कस्तो थियो होला ? घाँस, दाउरा, नुनतेल जोहोको लागि बजार झर्नुजस्ता कर्म गरेरै आएको मान्छे हुँ, म । त्यसैले सामान्य हिँडडुलले थाक्ने कुरै भएन । कतिपय अवस्थामा मेरो उमेरलाई लिएर टिप्पणी गरेको सुनिएको छ । मान्छे विचारले बूढो हुने हो । म आफूलाई अझै युवा नै सम्झन्छु । थाक्ने कुरा त परको भयो । जनताको घरदैलोमा जाँदा कतिपय अवस्थामा भावुक भए पनि उहाँहरुको हौसला र उहाँहरुको सपना पूरा गर्ने दायित्वबोधले मेरो थकाई त आफै मरेको छ ।
उमेरका हिसाबले सबैभन्दा युवा उम्मेदवार हुँ भन्दै आउनु भएको छ ? त्यसको पुष्टयाइँ गर्ने आधार यत्ति मात्रै हो त ?
–हो, म सबैभन्दा युवा उम्मेदवार हुँ । मानिसले युवा हुँदा नै सपना देख्छ । मान्छेका सपनाहरु उमेरसँगै पूरा हुन पनि सक्छन्, तिरोहित हुँदै जीवन सम्झौतामा टुंगिन पनि सक्छ । त्यो बेला मानिसले चित्त बुझाउँछ र यस्तै रहेछ नि भन्छ । म पञ्चायती कालखण्डमा प्रजातन्त्रको लागि लडेका क्षणहरु सम्झन्छु । त्यति मात्रै हैन, अहिले विद्यालय र विश्वविद्यालय जाँदै गरेका युवाहरुको सपनाहरु पढ्ने गर्छु । हातमा पासपोर्ट बोकेर परिवार रुवाउँदै विदेशिन लागेको युवाको मनोदशासँग आफ्नो किशोरवयको तुलना गर्छु । समृद्ध बन्ने सपना मेरो पनि थियो । तर, निरंकुशतामा त्यो सम्भव छैन भन्ने चेतना म मा थियो । नेपाली कांग्रेस सँगको आवद्धताले दिएको त्यो चेतना मैले पञ्चायत विरोधी अभियानमा लगाएँ । जेलनेल सहेँ तर प्रजातन्त्रको सपना छाडिन । हामीले उमेर बढ्दै जाँदा यस्तै त हो भन्ने भावना कहिल्यै पालेनौँ । हो, अहिले पनि मसँग त्यही परिवर्तनको हुटहुटी छ । त्यही हुटहुटीले ममा जनताको प्रतिनिधि बन्ने अनि विदेशिन लागेका युवाको, लाउँलाउँ खाउँखाउँका छोराछोरी विदेश पठाएर घर रुँघेका वृद्धहरुको सपना पूरा गर्ने अठोट जागेको हो । मैले एउटा सिंगो जीवन प्रजातन्त्रको लागि अर्पण गरेँ । देशमा गणतन्त्र आएको छ । अब जनआकांक्षा पूरा हुनुपर्छ, देशले विकासको गति लिनुपर्छ भन्ने मान्यता बोकेर हिँडिरहेको छु । म मा हाम्रा नेता विपीले भनेजस्तो एउटा परिवारलाई चाहिने घर, दूध र सामान्य जीवन बाँच्ने अवस्था यही देशमा बनोस् भन्ने चाहना छ । त्यो आकांक्षा पूरा गर्नुपर्छ भन्ने दृढ संकल्प पनि छ । यस मानेमा म अरु उम्मेदवारभन्दा युवा हुँ ।
यस्तो विचार राख्ने मान्छेलाई यसअघि पार्टीले त कहिल्यै टिकट दिएन त !
–टिकट फरक कुरा हो । टिकटकै लागि दौडधूप गरेको भए सायद दिन्थ्यो पनि होला । तर, म त विपीको अनुयायी । प्रजातन्त्र नै पहिलो सर्त हो । पदमा नरहेर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएँ । त्यो मान्यतामा म अहिले पनि अडिग छु । देश विषम परिस्थितिमा भएको बेला पार्टीले संसदमा मेरो आवश्यकताबोध ग¥यो । विषम परिस्थितिमा विचारको नेतृत्व गर्न योग्य ठह¥यायो । यो मेरो पार्टीप्रतिको समपर्णको कदर हो भन्ने मैले ठानेको छु ।
देशमा दुई तिहाईको स्थिर सरकार छ, सरकारले देश समृद्धिको बाटोमा हिँडेको छ भन्दै छ । तपाई विषम परिस्थिति भन्नुहुन्छ त !
–हो, देशमा स्थिर सरकार छ । हामीले चाहेको गणतन्त्र पनि छँदैछ । तर, शक्तिशाली सरकारको चालामाला ठीक छैन । तपाईँले देखिरहनु भएको छ, जनताहरु यतिबेला अनावश्यक करको मारमा छन् । विकास निर्माणका कामहरुमा यति धेरै राजनीतिकरण गरिएको छ कि, पार्टीका कार्यकर्ता पोस्ने गरि विकास बजेट खर्च गरिएको छ । देशमा ठूला–ठूला भ्रष्टाचारका कुरा सुनिएका छन् तर सरकारको ध्यान त्यतातर्फ गएकै छैन । लगानीको वातावरण यति बिग्रेको छ कि भएका उद्योगहरु बन्द भएका छन् । निजी क्षेत्रले लगानी ठप्प हुँदा रोजगारी सृजना भएको छैन । रोजगारी नहुँदा हजारौँ युवा विदेशिन बाध्य छन् । स्थिरताको नाममा भएका लोकतान्त्रिक पद्धतिहरु भत्काउन खोजिएको छ । निरंकुशता आइहाल्यो भन्ने अवस्था त छैन तर सरकार आलोचना सुन्नै नचाहने जस्तो देखिएको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको आलोचना सुन्न सक्नु पनि हो । आलोचना गर्ने स्वतन्त्रता पनि हो । यहाँ त युवाहरुमाझ लोकप्रिय भएको सामाजिक संजालमा लेखेकै आधारमा जेल हाल्न थालिएको छ । गीत गाएकै भरमा कलाकारलाई चिसो छिँडीमा पठाइएको छ । म नै सत्ता हुँ भन्ने भ्रम सृजना भएको छ । यो जनमतको घोर अपमान हो । हामी त यो सरकारले राम्रो काम गरोस् भन्ने चाहन्छौँ । पाँच वर्षको जनमतलाई जनताकै पक्षमा उपयोग गरोस् भनेर खवरदारी गरिरहेका छौँ । यस्तो शालीन प्रतिपक्षी हुँदा पनि सरकारले काम गर्न सकेको छैन । त्यसैले हामीले अहिलेको परिस्थितिलाई विषम भनेको हो ।
उपनिर्वाचनको परिणामले सत्ता त बद्लिँदैन ? सदनमा पुग्नुभयो भने तपाईँको भूमिका के त ?
–हो, हामीले भन्दै आएको कुरा नै यही हो । कास्की उपनिर्वाचन मैले जित्दैमा कांग्रेस सत्तापक्ष बन्ने हैन । म जनअनुमोदित भएर बस्ने प्रतिपक्षमा नै हो । तर, हामी यो निर्वाचनमार्फत गलत बाटोमा जान लागेको सरकारलाई सच्याउन चाहन्छौँ । हेर, तिम्रा कामबाट जनता असन्तुष्ट छन्, जनताको काम गर भनेर सरकारलाई सही बाटोमा ल्याउन चाहन्छौँ । यो सरकारले राम्रो काम गर्दा त्यसको फाइदा सबै जनताले पाउने हो । देशले पाउने हो । त्यसैले हामी रचनात्मक प्रतिपक्ष भएर सरकारलाई खबरदारी गर्ने अवसर दिनुहोस् भनेर जनताकहाँ गएका छौँ । त्यसैले मैले ठूला विकासका प्रतिवद्धताभन्दा पनि सरकारलाई सच्याउनको लागि कांग्रेसको रुख चिन्हमा मतदान गरि मलाई विजय गराउनुहोस् भन्दै आएको हुँ ।
विकासे एजेण्डाबारे पनि बोलेको सुनिएको छ नि ?
–हो, जनताले चाहेको पहिलो कुरा विकास नै हो । हामी विकास चाहन्छौँ । समतामूलक समाज निर्माण गर्ने हाम्रो ध्येय हो । मैले भन्दै आएको छु । जनताका चाहनाहरु पूरा गर्न म कुनै कसर बाँकी राख्ने छैन । पोखरालाई पर्यटकीय सहर बनाउन, यहाँका पछाडि परेका वडाहरुको समुचित विकास गर्न र महेन्द्रपुलको जस्तो विकास, अर्मला, काहुँडाँडा, मौजा, भरतपोखरी, निर्मलपोखरी, बेगनासकोट, पुम्दी, पञ्चासेलगायतका क्षेत्रमा पुग्नुपर्छ भन्नेमा म दृढ छु । बाटो, विद्यालय र स्वास्थ्यमा सहज पहुँचले मात्र जनतालाई नगरबासी भएको बोध गराउँछ । खानेपानी, मोटरबाटो, विद्यालय, स्वास्थ्यचौकी जस्ता आधारभूत र रणनीतिक रुपले ठूला विकासे आयोजना निर्माण गर्न पनि म निरन्तर लागि रहनेछु । अर्कोतर्फ, भूमिहीन सुकुम्बासी समस्याप्रति म अति संवेदनशील छु । केही समय मैले सुकुम्बासी आयोगमा रहेर यहाँका भूमिहीनको समस्या बुझ्ने मौका पाएँ । उहाँहरुका पीडा देख्न पाएँ । मैले सकेसम्म उनीहरुलाई जग्गा दिलाउने प्रयत्न गरेँ । केहीलाई सेतोपूर्जा दिलाएँ । केहीलाई रातोपूर्जा दिने व्यवस्था मिलाएँ । तर, म त्यहाँ रहन पाइन । मेरो काम देख्नेहरु अहिले पनि यहाँका सुकुम्बासी भनिने बस्तीमा हुनुहुन्छ । म यहाँमार्फत फेरि भन्छु, म कुरा एउटा र काम अर्को गर्ने मान्छे हैन । यो उमेरमा मलाई कमाउँला र सम्पत्ति थुपारुँला भन्ने लोभ छैन । मेरो जीवन यहाँहरुकै लागि समर्पण गर्ने धोकोे छ । म सुकुम्बासीलाई घर भएको नागरिक बनाउने प्रतिवद्धता जनाउँछु ।
मैदानमा तपाईँ मात्रै हुनुहुन्नँ, अरु उम्मेदवारहरुले पनि त यस्तै प्रतिवद्धता जनाएका छन् नि ?
–ठूलाठूला कुरा गरेर, चर्काचर्का भाषण गरेर काम नगर्नुभन्दा स–साना र मसिना काम गरेर जनताको सेवक बन्नु राम्रो हो । मूल कुरो त जनताको आवश्यकता बुझ्नु र आवाज सुन्नु हो । त्यो म जरुर गर्छु । अर्काको बारेमा टिप्पणी गर्ने फुर्सद मसँग छैन । उम्मेदवारहरु कस्तो धरातलबाट आएका छन्, यहाँहरुले बुझ्नु भएकै छ । व्यक्तिगत रुपले उहाँहरुबारे केही भन्दै गर्दा उहाँहरु आवद्ध पार्टीले गरेका गलत कामहरु सम्झनुहोस् भन्ने मात्र मेरो आग्रह हो । हामी सपना देखाउँदैनौँ, पूरा गर्छौँ । म कम्तिमा कुनै काण्डमा फस्नेछैन । यो मेरो प्रतिवद्धता हो ।
अन्त्यमा केही थप्न चाहनुहुन्छ ?
–भोगबिलासको राजनीतिक गन्धकीपूर्ण नालीमाभन्दा आस्था र निष्ठाको मेचीकालीमा समाहित हुने मेरो मान्यता हो । राजनीतिक आदर्श, सिद्धान्त, मूल्यमान्यता, संस्कार र संस्कृति प्रतिको निष्ठा जोगाएर भावी पुस्तालाई सुम्पने मेरो चाहना छ । त्यसैले यो चुनावमा रुखमा भोट हालेर मलाई विजयी बनाउनुहोस् भन्ने आग्रह हो । तपाईँलाई पनि मेरो कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology