`

निर्वाचन निष्पक्ष होस्

कास्की क्षेत्र नम्बर २ सहित देशका ५४ वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन संघीय संसद सदस्यको लागि हुँदैछ । निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यहाँका ७१ हजार ८ सय ७१ मतदाताले ८२ मतदान केन्द्र र ३२ वटा मतदान स्थलबाट भोट खसाल्दै छन् । निर्वाचन आचारसंहिता उलंघनका घटनाप्रति कठोर बन्ने निर्वाचन आयोगले जनाएको छ । सुरक्षा समितिले सुरक्षाको प्रबन्ध मिलाएको जनाएको छ ।
बागलुङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य चुन्ने पनि यही निर्वाचनले हो । संघीय संसद चुन्ने चुनाव भएकाले अहिले देशकै ध्यान पोखरामा रहेको छ । पोखरामा दलहरुले तामझामका साथ जनतासँग भोट मागेका छन् । जनता जनार्दन हुन्, आफूले रोजेको ठाउँमा आफ्नो मत राख्न उनीहरु स्वतन्त्र छन्÷हुनुपर्छ । नागरिकलाई कुनै प्रलोभनमा पार्ने कार्य निर्वाचन आचारसंहिताको विपरित हुन्छ । चुनाव जित्नको लागि साम, दाम, दण्ड, भेटको प्रयोग गर्नुपर्छ भन्ने मान्यतालाई निर्वाचन आचारसंहिताले दण्डनीय मानेको छ ।, यस मानेमा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि कार्य दल वा उनका समर्थकले गर्न पाउँदैनन् । यस्ता कार्यहरुलाई पूर्णतयाः बन्देज नै लगाउनु पर्छ ।
दलहरु विगतको चुनावमा भन्दा सच्चिएको देखिएको छ । निर्वाचन प्रचारको क्रममा देखिएको संवेदनशीलता साँच्चै प्रशंसनीय छ । निर्वाचनको मौन अवधि सुरु हुँदा पनि दलहरुले आफ्नो नैतिकता डग्मगाउन दिनु हुँदैन। जनताकहाँ हरेक दलहरुको सन्देश पुगिसकेको छ । अब व्यक्ति छनौटको जिम्मा नागरिकलाई दिनुपर्छ ।निर्वाचनको क्रममा अनावश्यक रुपले मतदाता प्रभावित गर्ने, हुलहुज्जत गर्न खोज्ने तत्वलाई तत्काल कारवाही गर्नुपर्छ । निर्वाचनको शान्ति सुरक्षाको जिम्मा सुरक्षा निकायको हो भने आचारसंहिता पालनाको काम निर्वाचन आयोगले नै गर्नुपर्छ । यो जिम्मेवारीबाट निर्वाचन आयोग च्यूत हुन मिल्दैन । निर्वाचन आयोग आचारसंहिता पालना गराउने मामलामा अलिकतिमात्रै चुक्दा पनि त्यसले निर्वाचनको मत परिणाम फरक हुन सक्छ । यो मानेमा स्वतन्त्र र निष्पक्षता कायम गराउने मामलामा आयोगको भूमिका महत्वपूर्ण नै हुन्छ ।
अर्कोतर्फ मतदान सम्पन्न हुनु मात्रै पनि चुनाव हैन । मतपत्रको सुरक्षा, गणनाको व्यवस्था र जीत–हारको निक्र्यौलपछि मात्रै चुनाव सकिएको मानिन्छ । विगतका चुनावहरुमा मतगणनास्थल सुरक्षित नहुँदा मतपत्र नै च्यातिएको नजिर रहेको छ । यो नजिरलाई निर्वाचन आयोगले भुल्नु हुँदैन । देशकै ध्यान यो चुनावमा भएकाले देशभरबाट उम्मेदवारका समर्थकहरु पोखरा आएका हुन सक्छन् । उनीहरुमाथि पनि निगरानी बढाउनु पर्छ । मुख्य कुरा त, निर्वाचनमा जनता नै सर्वोपरि हुन् । उनीहरुको मन जित्नुपर्छ, अन्य माध्यमबाट चुनाव जित्छु भन्ने आकांक्षा दलहरुले मनबाटै मिल्काउनु पर्छ । यसो भएमा चुनाव आफै शान्तिपूर्ण र निष्पक्ष हुन्छ । अब दल र उम्मेदवारहरु द्रष्टा बन्ने हो । त्यसो भएन भने तह लगाउने सुरक्षा निकाय र निर्वाचन आयोगले नै हो । निर्वाचनमा हुने अवान्छित क्रियाकलापप्रति सचेतता अपनाउनु नागरिकको समेत कर्तव्य हो भन्ने वोध नागरिकस्तरबाट पनि हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology