`

पोखरामा साग : ८ खेलमा ४८ स्वर्णका लागि ८ सय ४० को प्रतिस्पर्धा

  • यसअघि आर्चरीमा भारत सहभागी नहुने भएपछि ८ सय २४ खेलाडीमात्रै पोखरा आउने तय थियो ।
  • कास्की, १२ मंसिर – पोखरामा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ८ खेल हुँदै छ । महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशाला परिसरमा हुने छ । भारोत्तोलन माटेपानीको एसआर केसी क्याटरिङको पार्टी प्यालेसमा हुनेछ । बिच भलिबल लेकसाइडको बाराही मैदान र ट्रायथलन फेवातालमा हुनेछ । ८ खेलमा ८ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलमा प्रतिस्पर्धाका लागि पुरुषभन्दा महिला खेलाडीसंख्या बढी छ । आठ खेलमा ४ सय ९ महिला र ३ सय २९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
    यसअघि आर्चरीमा भारत सहभागी नहुने भएपछि ८ सय २४ खेलाडीमात्रै पोखरा आउने तय थियो । तर अन्तिम समयमा भारतले पनि आर्चरीमा भाग लिने जनाएकाले खेलाडी संख्या बढेको प्राविधिक समिति संयोजक विद्या मर्सानीले बताए । ‘पहिले भारत आर्चरीमा सहभागी नहुने भन्ने थियो । तर, अन्तिम समयमा आएर दर्ता गरायो,’ उनले भने, ‘आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने छन् ।’ आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । यद्यपि भारतको आर्चरी संघलाई विश्व आर्चरी महासंघले निलम्बनमा राखेकाले खेलाडीले खेल्न पाउने/नपाउने निश्चित छैन ।
    भारतबाट ५ खेलका लागि १ सय ८० खेलाडी तथा अफिसियलको सहभागिता रहने छ । जसमा ४९ पुरुष, ६९ महिला खेलाडी तथा २५ अफिसियल छन् । भारतले महिला क्रिकेट सहभागिता जनाएको छैन । माल्दिभ्सबाट ५ खेलमा ४१ पुरुष, ६१ महिला खेलाडी र ३४ अफिसियल गरी १ सय ३६ सहभागी हुनेछन् । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्रायथलनमा सहभागिता जनाएको छैन । बंगलादेशबाट ६ खेलमा सहभागी हुन ५९ पुरुष, ५५ महिला खेलाडी र ३६ अफिसियल गरी १ सय ५० जना पोखरा आउँदैछन् । बंगलादेशले महिला फुटबल र ट्रायथलनमा सहभागिता जनाएको छैन । पाकिस्तानबाट ५ खेलमा ९४ खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । जसमा पुरुष ३८, महिला ३५ र अफिसियल २१ जना छन् । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथलन खेल्ने छैन ।
    श्रीलंकाले ८ खेलमा १ सय ७५ खेलाडी तथा अफिसियल पोखरा भित्र््याउँदै छ । जसमध्ये पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जना छन् । भुटानबाट ४ खेलमा सहभागी हुन २९ पुरुष, ६ महिला खेलाडी तथा ७ अफिसियल गरी ३५ जना पोखरा आउँनेछन् । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भुटानको छ । भुटानले ह्यान्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथलनमा सहभागिता जनाएको छैन ।आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, महिला क्रिकेटमा ३, महिला फुटबलमा ३, ह्यान्डबलमा ६, ट्रायथलनमा १५, बिच भलिबलमा ६, भारोत्तोलनमा ६० गरी कुल १ सय ५१ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आर्चरीमा १० स्वर्ण, ब्याडमिन्टनमा ७ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, महिला फुटबलमा १, ह्यान्डबलमा २ स्वर्ण, ट्रायथलनमा ५ स्वर्ण, बिच भलिबलमा २ स्वर्ण र भारोत्तोलनमा २० स्वर्ण पदकमा प्रतिस्पर्धा हुँदै छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology