`

निर्वाचनको तयारी पूरा

पोखरा,१३ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा शनिबारहुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । बागलुङमा पनि प्रदेशसभा सदस्य र वडाअध्यक्षको लागि हुने दुवै उपनिर्वाचन क्षेत्रमा तयारी पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार प्रदेशसभाका लागि मतदान हुने २४ मतदान स्थल र वडाअध्यक्षको लागि मतदान हुने १ मतदान स्थल गरी २५ वटै मतदान स्थल तयार भएका छन् । सुन्यसमय सुरु हुनुपूर्वनै मतदान स्थलमा पुगेका र बिहिबार सम्म मतदान स्थलमा पुगेका मतदान अधिकृतहरुले अन्तिम तयारी सकेको जनाएका छन् । मतदान स्थलमा तारवार, मतदाताको लाईनका लागि व्यवस्थापन, मतदान स्थलको सुरक्षा, मतदाता परिचयपत्र वितरण र सर्वदलीय बैठक समेत सकिएको कार्यालयले जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रका मतदाताले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ ।
गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको तयारी पुरा भएसँगै सम्बन्धित क्षेत्रका मतदाता उत्साहित भएका छन् । मतदान गर्न उत्साहित बनेका मतदाताले शनिवार बिहान ७ बजे देखि मतदान गर्न पाउनेछन् । प्रदेशसभा सदस्य उपनिर्वाचनको मत पेटीका शनिवार मतदान सकिए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम ल्याउने तयारी पनि भैरहेको कार्यालयले जनाएको छ । निर्वाचनका लागि बागलुङमा स्वयंसेवक बाहेक २ सय १५ जना कर्मचारी खटिएका छन् । साँढे दुइसय बढी प्रहरी र अन्य सुरक्षाकर्मी समेत खटिएका छन् । प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ । त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन् ।
कास्कीमा पनि तयारी सकियो
शनिबार हुने कास्की २ को उपचुनावको अन्तिम तयारी सकिएको छ । निर्वाचन सामाग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षाकर्मी र स्वयंसेवक पनि तैनाथ छन् ।उनीहरूलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल पठाएको हो । मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा गएका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटीका, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदानस्थल पठाएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।
‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीलाई मतदान स्थलमा पठाएका छौँ’, उनले भने सुवेदीका अनुसार यहाँको चुनावमा चार सय १० जना कर्मचारी खटिएका छन् । एक मतदान केन्द्र बराबर पाँच जनाका हिसाबले आयोगले कर्मचारी खटाएको छ । यहाँ ८२ वटा मतदान केन्द्र छन्, भने ३२ मतदान स्थल ।कर्मचारी बाहेक तीन सय २८ जना स्वयंसेवक पनि उपचुनावका लागि खटिएका छन् । उपचुनाव हुने ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन् । प्रतिनिधीसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६–१६ वटा मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनमा मतदान गर्नेमा पुरुषको तुलनामा महिला मतदाता बढि छन् । कार्यालयका अनुसार मंसिर १४ को उपनिर्वाचनमा ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष मतदाताले मतदान गर्नेछन् । एक जना तेश्रोेलिंगी मतदाताले पनि मतदान गर्नेछन् । ती मतदाताले वडा नं. ९ को सहारा बाल आधारभूत विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् ।
आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । मतदान सकिएपछि साँझ ५ देखि ७ बजेसम्म मतपेटिका संकलन गर्ने, ७ बजे सर्वदलीय बैठक बस्ने र बैठक सकिएपछि जिल्ला समन्वय समिति कास्कीमा मतगणना गरिने कार्यतालिका रहेको छ । उनीहरुको मतको आधारमा नै २१ मध्येबाट एकजना प्रतिनिधीसभा सदस्य चुनिनेछन् । यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology