`

उपनिर्वाचन शान्तिपूर्ण , करिब ७० प्रतिशत मतदान : निर्वाचन आयोग

पोखरा,१४ मंसिर – तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो। केही मतदानस्थलमा भने मतदाता आउने क्रम जारी रहेकाले केहीबेरलाई मतदानको समय पर सारिएको छ। ३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा शनिबार कास्की र लमजुङका मतदानस्थलमा बम विष्फोट भएको थियो। कास्कीको पोखरामा भने श्रृंखलाबद्ध रूपमा विभिन्न चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भयो। उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा १६ स्थित शान्ति मावि, पोखरा– ३३ मा भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा १६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम बिस्फोट भएको हो। बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विष्फोटपछि त्रासकै बीच पनि मतदाताले मतदान गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology