`

साग : ब्याडमिटनको २८ पदकमा नेपाललाई २ पक्का

  • पाकिस्तान पनि विजयी
  • पोखरा, १५ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ब्याडमिन्टनमा २ वटा पदक ल्याउने पक्का भएको छ ।
    साग अन्तरगर्त आइतवार पोखरामा शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा आयोजक नेपालले समुहगत खेलमा २ वटा पदक पक्का गरेको हो । नेपालले महिला तथा पुरुषतर्फको समूहगत दुबै खेलमा १÷१ वटा पदक पक्का गरेको छ । आइतबार भएको खेलमा महिला तथा पुरुष दुबै टोली सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पराजित भएकै अवस्थामा समेत नेपालले कम्तिमा काश्य पदक ल्याउने देखिएको छ ।

    समुहगत पहिलो खेलमा नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २–० को सोझो सेटमा हराएको हो । तामाङले २१–६ र २१–९ को फराकिलो सेटमा पाखा लगाए । अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरे । उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा सेटमा हराए । नेपालले भुटानलाई समग्रमा ३–० को सोझो सेटमा पाखा लगाएको हो ।
    तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराउँदै सहज जित निकाले ।

    महिलातर्फको खेलमा नेपालकी नङ्साल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन् उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरेकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को कठीन जित हात पारिन् । महिला तर्फ पनि समग्रमा ३–० को सेटमा पाखा लगाएको हो ।

    पदक सुनिश्चित भएपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित निस्केको बताए । उनले सेमीफाइनलमा पनि आइतबारजस्तै खेलाडीले शतप्रतिशत खेले फाइनल पुग्ने सम्भावना रहेको बताए ।

    बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको दाबी गरे । हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट लिदिएका कारण आफुहरु पराजित हुनुपरेको उनको भनाई थियो । यद्यपि महिला व्याडमिण्टनमा आफनो प्रदर्शन सन्तोषजनक रहेको उनले बताए ।

    पाकिस्तान पनि विजयी
    त्यसतै समुहगत अर्को खेलमा पाकिस्तानको महिला तथा पुरुष टिमले माल्दिभसलाई समग्रमा ३–० को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेका हो ।
    आएतवार नै सम्पन्न भएको महिला तर्फको समुहगत खेलमा पाकिस्तानकी महोर सेहजादले अमिनाथ नाविहा अब्दुल राज्युकलाई २१–१९ र २१–१४, पल्वसा वसिरले निला अहमेद नजिवलाई १६–२१, २३–२१, र २१–१७ र घाजला सिद्धिकले २१–१५ र २१–१५ कै सेटमा हराउँदै पाकिस्तानलाई जित दिलाएका हुन ।
    त्यसतै पुरुष तर्फको समुहगत खेलमा पाकिस्तानले बंगलादेशलाई पनि समग्रमा ३–० कै सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको हो ।
    पुरुष तर्फको खेलमा पाकिस्तानका अविस जाहिदले सल्मान खान मोहम्मदलाई २१–१८ र २१–१४, अलि मुराडले गौरव सिंघालाई २१–११ र २२–२० तथा मुहम्मद मुकेत ताहिरले साहिदसेकर मोहम्मद शिवघात उल्लाहलाई २१–१७ र २१–१७ कै सेटमा हराउदैँ अर्को चरणमा प्रवेश गरेको हो ।

    पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
    प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गरिन ।

    महिला क्रिकेट सोमबारदेखि
    घरेलु टोली नेपाल सहित बंगलादेश, श्रीलंका र माल्दिभ्स पोखरा आइपुगेका छन ।
    १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा सोमबारदेखि महिला क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालका लागि माल्दिभ्स विरुद्धको खेल समुहमा सबैभन्दा सहज खेल हुन सक्ने अनुमान लगाइएको छ ।
    नेपाली टोलीका प्रशिक्षक जगतबहादुर टमटाले माल्दिभ्ससंग अहिले सम्म एक खेल पनि नखेलेको बताए । ‘तर उनीहरुको बडिल्याङ्वेज हेर्दा हामीलाई सजिलो होला जस्तो लागेको छ’–उनले भने । माल्दिभ्सको टोलिले आइतबार पोखरा रंगशालामा अभ्यास गरेको थियो ।
    सागमा भाग लिन आयोजक नेपाल सहित माल्दिभ्स, श्रीलंका र बंगलादेशका टोली पोखरा आइपुगेका छन् । बंगलादेश र श्रीलंकाका खेलाडीहरुले आइतबार दिउँसो नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा अभ्यास गरेका थिए ।
    पोखरामा पहिलो पटक हुन लागेको साग महिला क्रिकेट प्रतियोगिता सफल पार्न स्थानिय समितिले पनि भरपुर कोशिष गरेको छ । ‘महिला क्रिकेट पोखरामा आयोजना गर्न पाउनु हामी पोखेलीहरुका लागि पनि सौभाग्यकै कुरा हो’ नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले भने । यसलाई सभ्य सफल पार्न पोखरेलीको तर्फबाट पनि सक्दो प्रयास गरिनुपर्नेमा उनले जोड दिए ।
    प्रतियोगिताका आवश्यक तयारी पुरा भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । १ हजार दर्शक क्षमताको अस्थाई प्यारापिट तयार पारिएको उनले जानकारी दिए । त्यसैगरि खेलाडीहरुका लागि चेन्जिङ्ग रुम, मिडिया, हेल्थ डेस्क, खेलाडी तथा अफिसियलका लागि रिफ्रेसमेण्ट बक्स लगायत तयार भइसकेका छन् । मैदानभित्र चारवटा पिच बनाइएका छन् ।
    संघिय मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गले भोलि बिहान ११ प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेश भिडनेछन् । बुधबार हुने दुई खेलमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स आमने सामने हुनेछन् । त्यस्तै शुक्रबार नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगमा शिर्षस्थान दुई टिम गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् भने लिगमा पुच्छरका दुई टिम कास्य पदकका लागि भिड्नेछन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology