`

मजदूरको सुरक्षामा ध्यान देऊ

–गतवर्ष मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका–३,स्याङबोचेमा टिपर दुर्घटनामा परि १९ जना मजदूरको मृत्यु भयो । उनीहरु जोमसोम–लोमान्थाङ सडकखण्डमा कार्यरत थिए ।
–गएको वर्खामा लमजुङको दोर्दीखोलामा निर्माणाधीन लिवर्टी हाइड्रोपावर बाढीले बगाउँदा काम गर्दै गरेका ३ जना मजदूर मारिए ।
– आइतबार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदूरको ज्यान गयो । ढिस्को खस्दा उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउनेहरु ३० देखि २५ वर्ष हाराहारीका रहेका छन् । यी कल्कलाउँदा र देशमै केही गरुँ भन्नेहरुको मृत्युले परिवारलाई दिएको पीडा कति होला ?
यी प्रतिनिधि घटना मात्र हुन् । कार्यस्थलमै रहँदा वार्षिक कति मजदूरको मृत्यु हुन्छ भन्ने आँकडा न सरकारसँग छ, न त मजदूर युनियनहरुसँगै । असंगठित निर्माण क्षेत्रमा काम गर्नेहरुले कतिबेला ज्यान गुमाउँछन् भन्ने त परको कुरा नै भयो । तर, यी प्रतिनिधि घटनाहरुले के बुझाउँछ भने नेपालको निर्माण क्षेत्र असुरक्षित रहेको छ । उनीहरुको मृत्यु समाचारमा आए पनि निर्माण क्षेत्रका कामदारको सुरक्षाबारे कमै चासो राख्ने गरिएको छ । कतिपय अवस्थामा त, उनीहरु मृत्युवरण गर्न अभिषप्त नै हुन् कि जस्तो व्यवहार पनि हुने गरेको पाइएको छ ।
मान्छेको जीवन अमूल्य हुन्छ । सडकमा काम गर्ने मजदूर होस् वा महलमा बस्ने धनाढ्य । असामयिक निधनले परिवारजनलाई दिने पीडा एकै हुन्छ । अझm सामाजिक सुरक्षाको प्रश्न तेर्सिने त तल्लो वर्गकहाँ नै हो । परिवार पाल्ने दायित्व लिएको व्यक्ति नै नरहेपछि त्यो परिवारको भावी दिन कस्तो होला भन्नेबारे कुनै पक्षबाट पनि विचार गरेको देखिँदैन । योभन्दा दुर्भाग्य के हुन्छ ? नेपाल यही नियतिबाट गुज्रिरहेको छ । निर्माण क्षेत्र होस् कि सार्वजनिक सवारी क्षेत्र, असंगठित श्रममा होस् कि अन्य खालका श्रम, मजदूरको मृत्यु र सुरक्षाबारे राज्यपक्षले खासै महत्व दिएको छैन । केही समयअघि सरकारले सामाजिक सुरक्षा ऐनसँगै मजदूरको बीमाको कुरा ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । मजदूरी गर्नेहरुको जीवन आफैमा असुरक्षित त छँदैछ, कतै चोटपटक लागेमा वा घाइते भएमा उपचार कसरी गर्ने भन्ने चिन्ता अर्कोतर्फ रहेको छ । यो डरलाग्दो अवस्था हो । जबसम्म सरकारले मजदूरहरुको सुरक्षाको लागि गतिलो व्यवस्था गर्दैन, तबसम्म नेपालमै बसेर केही गरौँ भन्नेहरु हेपिइरहन्छन् । बरु, उनीहरु विदेशमा निकृष्ट श्रममा जालान्,नेपालमै बस्न चाहँदैनन् । सामाजिक सुरक्षा, औषधोपचारको खर्च, जीवन धान्न मिल्ने बेतनजस्ता कुराहरुको ग्यारेण्टी नभएसम्म राज्य लोककल्याणकारी बन्न सक्दैन । यस मानेमा नेपाल सरकार अहिले पनि लोककल्याणकारी बन्न सकेको देखिँदैन ।
अझ, निर्माण क्षेत्रमा काम गर्ने मजदूरको हकमा त सामान्य सुरक्षा प्रबन्ध पनि गरेको देखिँदैन । जोखिमपूर्ण काम गर्नेहरुलाई राज्यले विशेष ध्यान दिनैपर्छ । नेपाल अहिले पूर्वाधार निर्माणको चरणमा छ । निर्माण क्षेत्र सुरक्षित बनाउँदै सक्दो छिटो काम सक्नुपर्ने दायित्व भएको बेला निर्माण क्षेत्रमा कार्यरत मजदूरको सुरक्षामा ध्यान दिनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology