`

विद्या भट्टराई : समयले सिंहदरबार डोहो¥याएकी ‘पोखरेली चेली !’

पोखरा, १५ मंसिर – राजनीति नसा–नसा थियो र त उनी १२ वर्षमै तत्कालीन अनेरास्ववियूकी कार्यकर्ता बनिन् ! मायालु र जिम्मेवार थिइन र त उनले पति र पुत्रहरुलाई माया र मार्गदर्शन दिइन्, वौद्धिक थिइन् र त उनले विश्वविद्यालयमा प्राज्ञिक कमाण्ड सम्हालिन् । दृढ आत्मविश्वास र क्षमता थियो र त उनले जनताको मन जितिन् र सिंहदरबारको यात्रा तय गरिन् ।
यी सबै उपमाहरु विद्या भट्टराईलाई सुहाउँदा छन् र अन्तिमको वाक्यचाहिँ उनले भर्खरै सत्यमा बदलेकी हुन् ।
विद्या भट्टराई । गएको फागुन १५ भन्दाअघि उनलाई कमैले मात्र चिन्थे । विश्वविद्यालयमा उनी असल गुरुआमा थिइन् । घरमा मायालु धर्मपत्नी र आमा । तर, नियतिले उनलाई त्यतिमै सीमित राख्न चाहेन । नियतिले नै उनका पति रवीन्द्र अधिकारीलाई मन्त्री हुँदाकै बखत ‘भगवानको प्यारो ’ बनायो । कास्की क्षेत्र नम्बर ३ बाट ३ पटक चुनाव जितेका र पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनका सामु दुईवटा जिम्मेवारी एकैचोटी आए ।
दुई छोरालाई आमा र बुबाको बात्सल्य खन्याउने र पतिले देखेका सपना पूरा गर्ने । शोकमा रहँदा सायद उनले खुबै सोचिन् ! आफ्नो भूमिकाको परख गरिन् अनि दुबै जिम्मेवारीलाई सँगै लैजाने प्रण गरिन् । शोकको घडीमा सम्हालिँदै दुई छोरा सामु नै घोषणा गरिन्,‘ रवीन्द्रले देखेका सपना पूरा गर्नु सबैको दायित्व हो, म यो सपना पूरा गर्न तल्लीन रहन्छु ।’
त्यहाँ पनि दुई बाटा थिए । भएको जागिर खाँदै, छोराहरु हुर्काउँदै यो काम फत्ते गर्ने कि, राजनीतिमा लागेर निर्णायक तहमा पुग्ने ?
अखिलदेखि महिला संघ र प्राध्यापन क्षेत्रकै पनि राजनीति गरेकी उनले यो जिम्मा पार्टीलाई छाडिन् । र, भनिन्,‘पार्टीले जे जिम्मेवारी दिन्छ, पूरा गर्छु ।’अन्ततः रवीन्द्रले चुनाव जितेको क्षेत्रमा हुने उपनिर्वाचनमा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले विद्यालाई नै उम्मेदवार बनायो । विद्या चुुनावमा होमिइन् र रवीन्द्रले देखाएका सपना पूरा गर्ने बाचा गर्दै जनताकहाँ पुगिन् । उम्मेदवार हुँदादेखि नै उनीमाथि विपक्षीको प्रहार सुरु भयो । कहिले धर्म नमानेको त कहिले क्षमताभन्दा पनि पतिका कारणले टिकट पाएको भन्दै उनको आलोचन गरियो । तर, विद्या डग्मगाइनन् । उनले शालीन उत्तर दिँदै गइन्, आफ्नो क्षमता प्रमाणित गर्दै गइन् । उनी भन्ने गर्थिन्,‘म हिजो पनि राजनीतिमा थिएँ, राजनीतिबाटै जनअपेक्षा पूरा गर्न चाहन्थेँ र आज पनि राजनीतिबाटै ती अपेक्षा पूरा गर्न चाहन्छु ।’ रवीन्द्रले थालेका अधुरा काम पूरा गर्ने उनको दृष्टतालाई कास्कीका जनताले पत्याए । चुनावी मत गणना सकिनु अगावै उनको जीत निश्चित भइसकेको छ ।
२०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन र हाजिरी जवाफ एवं वक्तृत्वकलामा देखाएको नेतृत्व क्षमता अब उनले सिंहदबारमा देखाउनु पर्ने भएको छ । २०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मेकी विद्या अब उनकै भाषामा ‘पोखराकी चेली’ भएकी छन् । उनले पोखरेलीसँग गरेका वाचा पूरा गर्नुका साथै विधायकको रुपमा संसदमा नीति निर्माणका गह्रौँ मुद्दामा आफ्नो विचार राख्नुपर्नेछ । व्यक्तिगत रुपले राजनीतिमा भएको पुनरागमनलाई स्थायित्व दिनु तथा आफूलाई अब्बल सावित गर्दै अग्रगामी पाइला चाल्नु पर्ने दायित्व पनि उनकै काँधमा छ । मुख्य कुरा त, समृद्ध नेपालको सपना देख्ने आफ्ना पतिका सपना पूरा गराउनेतर्फ उनले आफ्नो अर्जुनदृष्टि लगाउनु पर्नेछ । नेपालमा पद र प्रतिष्ठामा पुगेपछि वाचा बिर्सेका धेरै उदाहरण छन्, शक्तिकेन्द्रको लहलहैमा आफ्नो ‘करिअर’ तिलाञ्जली दिनेको संख्या पनि सानो छैन । यो मामलामा उनी सदैव चनाखो बस्नुपर्ने छ । रवीन्द्रको अर्धाङ्गिनीको रुपमा उनले सत्ता र शक्तिमा पुग्नेहरुको वरपर कस्ता मान्छे आउँछन् भन्ने थाहा नै होला , उनी सकेसम्म त्यस्ता प्रवृत्तिबाट बच्नु पनि पर्नेछ । यसैगरि उनीबाट जनताले रवीन्द्रको जस्तै भूमिकाको अपेक्षा गर्ने कुरा पनि भुल्नु हुँदैन । विद्यार्थी सहुलियतमा खेलेको रवीन्द्रको भूमिका, तत्कालीन शाहज्यादा पारसको विरुद्धमा हस्ताक्षर संकलन गरेको तथा गणतन्त्रको पक्षमा रवीन्द्रले खेलेकोजस्तै प्रभावकारी भूमिकामा खरो उत्रनु पनि उनको दायित्व हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology