`

कास्की उपनिर्वाचन : हार–जीत भित्रको अन्तरकथा

पोखरा,१६ मंसिर – विद्या भट्टराईलाई उम्मेदवार घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कास्की अध्यक्ष कृष्ण थापाले भनेका थिए,‘कास्कीमा हामी १३ हजार ५ सय ४२ मतले चुनाव जित्छौँ ।’ उनले पत्रकार सम्मेलनमा भनेको कुरालाई धेरैले ‘चुनावी स्टण्ड’कै रुपमा बुझे । अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले ल्याएको ८ हजार ५ सय ४२ मतमा ५ हजार थप्ने उनको दावी थियो ।

खचाखच कार्यकर्ता भरिएको पत्रकार सम्मेलनमा उनले भनेको कुरालाई धेरैले नपत्याएर के भो ? चुनावी परिणाम आउँदे गर्दा उनले सत्यको नजिक पुग्ने छाँट देखाएका छन् । यद्यपी, चुनावीसभामै खेमराजले भनेका थिए,‘कुनै बेला महादेव ( महादेव गुरुङ, कांग्रेसी उम्मेदवार )ले २६ सय मतले पछि पर्दा पनि चुनाव जितेको पनि यहीँ हो नि ।’ २०५६ सालको चुनावमा महादेव गुरुङले  २६,४४३ र तुलबहादुरले २२,१२६ मत पाएका थिए । तर, समय उनलाई साथ दिएन । उनी हारे ।

उपनिर्वाचनको घोषणासँगै कास्कीमा रहेका राजनीतिक दलहरु सल्बलाए । सल्बलाउनेमा सबैभन्दा अघि नेपाली कांग्रेस नै थियो । कांग्रेसबाट आकांक्षीको लर्को यति  लामो थियो कि, कास्की क्षेत्र नम्बर २ ले केन्द्रले पठाएको निर्देशन अनुसार ३ जना आकांक्षी छान्नै सकेन । उसले १६ जनाको नाम जिल्लामा पठायो । कास्की कांग्रेसभित्र टिकट हत्याउने दौडधूप चलिरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भने झण्डै मौन थियो । टिकटको दौडमा रहेका जिल्लास्तरीय नेताहरु केन्द्रको मुख ताक्दै थिए । पार्टी उपाध्यक्षष् वामदेव गौतम नै चुनाव लड्ने हल्ला चलेपछि यहाँका नेताहरुले मुख नखोल्नु स्वभाविक पनि थियो । यसअघि लगातार ३ पटक जितेको क्षेत्र भएकाले टिकट पाए जितिन्छ भन्ने नेकपाका नेताको भित्री मनमा थियो तर उनीहरुले सार्वजनिक अभिव्यक्ति दिएनन् । बरु, वामदेवले चुनाव लडेमा हार्न पनि सकिने रिपोर्ट केन्द्रमा पुग्यो । वामदेव स्वयंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरे । बल नेकपा कास्कीकै कोर्टमा आए पनि टिकट बितरण गर्ने केन्द्रले नै हो भन्ने सबैले बुझेका थिए । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले पनि टिकट मलाई नै दिनुपर्छ भन्ने अभिव्यक्ति दिइनन् तर  ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र आफू सधैँ पार्टीकै काममा रहेको ’भन्दै आकांक्षा देखाइन् । कार्तिक ८ गते बसेको नेकपा कास्कीको बैठकले विद्यालाई नै उम्मेदवार बनाउने निर्णय ग¥यो । विद्या उम्मेदवार बन्ने निश्चितजस्तो भएको बेला नेकपा प्रदेश कमिटीले विद्यासहित सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम केन्द्रमा पठायो । जिल्लाको निर्णय अपूर्ण भएको प्रदेशको ठहर थियो । विद्याको हातबाट टिकट फुत्कने आशंका जाग्यो । तर, कार्तिक १७ गते बसेको नेकपा केन्द्रको बैठकले विद्यालाई नै उम्मेवार तोक्यो । एउटा च्याप्टर बन्द भयो ।

विद्या उम्मेदवार बन्दै गर्दा पनि कांग्रेस उम्मेदवार को बनाउने भन्ने सकसमा थियो ।नेपाली कांग्रेस केन्द्रले लामो माथापच्चीपछि कार्तिक २० गते साँझ मात्र पुराना नेता खेमराज पौडेललाई उम्मेदवार तोक्यो । कांग्रेसले त्यसो गर्दा नेकपा भने हेभिवेट नेताहरुलाई चुुनावी कमाण्डर तोकेर प्रचारमा हिँडिसकेको थियो ।  एमालेको पुरानो संगठनमा पूर्वमाओवादी पनि समाहित हुँदा शक्ति यसै बढी थियो ।

कास्की क्षेत्र नम्बर २ को अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले निकट्तम प्रतिद्धन्दी देवराज चालिसेलाई  ८ हजार ५  सय ४२  मतान्तरले जितेका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरका ४,७,८,९,११,१५,१६,१७,२०,२१ र ३३ नम्बर वडाहरुमध्ये धेरैजसोमा तत्कालीन एमालेका उम्मेदवार अध्यक्ष बनेकाले पनि मत परिणाममा नेकपा बलियो थियो । चुनावी अंकगणितमा बलियो हुँदै गर्दा पनि यो चुनाव जसरी पनि जित्नुपर्छ भन्ने ध्येयले नेकपाका कार्यकर्ताहरु खटिए । नेकपाले तल्लोतहमा पुगेर मेहनत ग¥यो । सरकारले राम्रो काम गरिरहेको भन्ने प्रचारसँगै रवीन्द्रले सुरु गरेका सपना पूरा गर्ने नारा पनि चलायो । विद्याप्रति आम मतदाताको सहानुभूति त छँदै थियो, तल्लो तहसम्म पुगेर नेताहरुले मतदाताको भावना बुझे । बिग्रिएको ठाउँमा सपार्नको लागि आफन्त र नातागोता प्रयोग गरे । विद्या स्वयंले चुनावी कार्यक्रमहरुमा शालिनता प्रस्तुत गर्दै मत मागिन् । उनले आफू वौद्धिक भएको ढ्वाङ फुक्नुभन्दा पनि मतदाताको समस्या समाधान गर्ने नेता हुँ भन्ने विश्वास दिलाइन् । त्यसैले परम्परागत रुपले बलियो रहेको यो एमाले किल्ला भत्कन पाएन । चुनावी कमाण्ड सम्हालेका राजकाजी गुरुङले यो पटक आफूलाई चुस्त व्यवस्थापकको रुपमा उभ्याए । नेकपाभित्र पूर्वमाओवादी र एमालेबीच कटुता आउन सक्ने सम्भावनालाई उनले निस्तेज पारे ।

अर्कोतर्फ, लथालिङ्ग भएको पार्टी र भातृसंगठनहरुको भरमा कांग्रेस चुनावमा होमियो । खेमराजले टिकट पाएपछि पार्टीभित्रको असन्तुष्टी सतहमा त देखिएन तर खेमराजलाई नेता नमान्ने एउटा समूहले कहिल्यै पनि मनदेखि चुनावमा होमिएन । कांग्रेसले ‘मिनी जनमत संग्रह’ भन्दै प्रचारमा सबै केन्द्रीय नेताहरुलाई ओराल्यो । फुर्सदिला सबै नेता पोखरा आए । खेमराजलाई जिताउन आग्रह गर्नुभन्दा पनि उनीहरु आउँदो महाधिवेशनमा आफू बलियो हुने ध्याउन्नमा थिए । नेताको लर्कोको पछाडि भुरेटाकुरे नेताहरु लाग्ने नै भए । कांग्रेसी सभाहरु जनताको विश्वास जित्नको लागि भन्दा पनि ‘सेल्फी’ खिचाउने मैदान बन्यो । खेमराज पौडलले सकेसम्म सबै मतदाताकहाँ पुग्ने कोशिस गरे । तर, उनी एक्ला वृहस्पति नै सावित भए । हाहाहुहुमा रमाउने कांग्रेसीजनले उनको त्याग र प्रतिवद्धता जनतामाझ पु¥याउनै सकेनन् । जनस्तरमा कांग्रेसप्रतिको भरोसा टुटेको उनीहरुले बुझ्नै चाहेनन् । सभापति शेरबहादुर देउवाको ‘खेमराज पौडेलले मेरै कारणले पार्टीमा दुःख पाए, अब पार्टीले उनीमाथि न्याय गरेको छ, जनताले पनि न्याय गर्नुपर्छ ।’ भन्ने कथन कार्यकर्ता र जनता दुबैबाट अनुमोदित भएन । मिनी जनमत संग्रह कांग्रेसको लागि पुनः कौवाको लागि बेल नै भयो । महादेवको विरासत फर्काउने सपना पनि तुहियो । साना पार्टीले यो चुनावमा आफ्नो अस्तित्व रक्षा गर्दा पनि केही कांग्रेसलाई आउने मत खोसियो । तर, भन्नैपर्ने हुन्छ, कांग्रेस खेमराजको कारणले नभइ कमजोर संगठनका कारणले हा¥यो भने नेकपाले बलियो संगठनात्मक संरचना परिचालनबाटै विजय प्राप्त ग¥यो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology