`

स्तन क्यान्सर र उपचार विधि

गुप्त रहेता पनि एक बिकराल समस्या हो स्तन क्यान्सर । स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो । नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । हामीकहाँ क्यान्सर सम्बन्धी वास्ताविक तथ्यांक थाहा नभए तापनि केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कअनुसार महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने स्तन क्यान्सर हो । स्तन क्यान्सर सरुवा रोग होइन । तर केही स्तन क्यान्सर वंशानुगत (१० प्रतिशत भन्दा कम) हुन सक्छ । शरीरको अन्य कुनै अंग जस्तै स्तन पनि खास कार्य गर्नलाई विभिन्न कोषहरुले बनेको हुन्छ । स्तन शरीरको बाहिरी भागमा रहेकोले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ । तर, कुनै किसिमका कोषहरु अनावश्यक रुपमा बढ्दै गयोभने यी नयाँ कोषको समुहलाई स्तन ट्यूमर अथवा गाँठो भनिन्छ । हुनतः स्तनमा हुने सबै गाँठाहरु क्यान्सर हुँदैनन् । लगभग १० प्रतिशत गाँठाहरु मात्र क्यान्सर हुन्छन् । तर स्तनमा कुनै किसिमका गाँठाहरु भेटियो भने चिकित्सकसँग परामर्श गरी यसको निवारण गर्नु उचित हुन्छ । सायद अज्ञानताको कारणले गर्दा होला, स्तनमा सानो गाँठो खासगरी नदुख्ने गाँठो (जसमा क्यान्सर हुने बढी सम्भावना हुन्छ) होभने प्रायःजसो महिलाहरु चिकित्सककहाँ जाँदैनन् । जब क्यान्सरले गर्दा गाँठो ठुलो भई अप्ठ्यारो हुने, फुटेर घाउ हुने तथा क्यान्सर फैलिसकेपछिका लक्षणहरु देखा परेपछि मात्र स्वास्थ्य संस्थामा गएको देखिन्छ ।
स्तन क्यान्सरको समस्या कस्तो छ ?
क्यान्सरको समस्या विश्वमै बढ्दै गइरहेको पाइन्छ । केही वर्ष पहिलाको आम ब्यक्तिहरूको धारणा के थियोभने क्यान्सर भनेको विकसित देशहरुमा मात्रै हुने समस्या हो । तर वास्तवमा भन्ने हो भने क्यान्सरका बिरामी तथा यसबाट हुने मृत्यु विकसित देशभन्दा विकासोन्मुख देशमा बढी भएको पाइन्छ । विश्वको तथ्याङ्क हेर्ने होभने लगभग ६० प्रतिशत क्यान्सर विकासोन्मुख देशमा हुने गरेको छ । विकसित देशहरुमा भोजन, पानी तथा सरुवा रोगको समस्या छैन र प्रायः मानिसहरु धेरै वर्षसम्म बाँच्ने भएको हुनाले बुढेशकालमा क्यान्सर बढी हुने गरेको देखिन्छ । क्यान्सरलाई विकसित देशहरुमा जनस्वास्थ्यसँग सरोकार विषयका रुपमा लिइन्छ र स्वास्थ्य बजेटको महत्वपुर्ण भाग क्यान्सरको उपचार तथा यसको अनुसन्धानमा खर्च भएको देखिन्छ । अहिलेको अवस्थामा नेपालमा कुनै पनि क्यान्सरको वास्तविक तथ्याङ्क दिन गाह्रो भएता पनि विभिन्न केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कलाई हेर्ने होभने पुरूष सबैभन्दा बढी फोक्सोको क्यान्सर र महिला पाठेघरको मुखको क्यान्सर पाइएको छ । महिलामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ । अमेरीका तथा अन्य पश्चिमी मुलुकमा भने महिलामा हुने सबैभन्दा बढी क्यान्सर स्तन क्यान्सर हो । हाल आएर नेपालमा पनि स्तन क्यान्सरको संख्या बढ्दै गएको देखिन्छ । सायद केही वर्षमा स्तन क्यान्सर स्वास्नी मान्छेमा पहिलो नम्बरको क्यान्सर नहोला भन्न सकिन्न । हालसालै प्रकाशित एक रिर्पाेटअनुसार नेपालमा पाँच प्रमुख क्यान्सरमा १) फोक्सो, २) पाठेघरको मुख, ३) स्तन, ४) आमाशय ५) घाँटीको क्यान्सर रहेको छ ।
स्तन क्यान्सरको सम्भाव्य कारक तत्वहरु
स्तन क्यान्सरको सम्भाव्य कारक तत्वहरुलाई दुई भागमा बाँड्न सकिन्छ । १. हाम्रो बस बाहिरका तत्वहरु जस्तै महिला, उमेर, जाति, महिनावारी, पारिवारिक तथा वंशानुगत गुण आदि । (क) स्तन क्यान्सर प्रायःजसो महिलामा हुने गर्दछ । कहिलेकाहीं पुरुषमा पनि १ प्रतिशत स्तन क्यान्सर हुन्छ । हामीकहाँ स्तन क्यान्सर ३० वर्षदेखि ५० वर्षको उमेरका महिलामा सबैभन्दा बढी (६०५) देखिन्छ । हुनतः स्तन क्यान्सर जुनसुकै उमेरमा हुनसक्छ । त्रिवि शिक्षण अस्पताल, सर्जरी विभागको एक रिपोर्टअनुसार स्तन क्यान्सको औसत उमेर ३७ वर्ष हो । यो उमेर पश्चिमी मुलुकहरुको तुलनामा ज्यादै नै कम हो । (ख) महिनावारी चाँडो हुनु तथा ढिलो बन्द हुनुले क्यान्सरको सम्भावना बढ्छ । (ग) पारिवारिकः आफ्नै आमा, दिदीबहिनी तथा छोरीलाई स्तन क्यान्सर हुनु पनि स्तन क्यान्सरको सम्भावना कारक तत्व मानिन्छ । अध्ययनको प्रतिवेदनअनुसार २ प्रतिशत बिरामीमा पारिवारिक सम्बन्धका कारणबाट क्यान्सर भएको पाइन्छ । २. हाम्रो बसमा हुने तत्वहरु जस्तै खानेकुरा, शारीरिक व्यायम तथा बानीव्यहोरा आदि । (क) दैनिक व्यायाम नगर्ने मोटा महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । खासगरी महिनावारी बन्द भइसकेपछि मोटा महिलामा भने स्तन क्यान्सरको सम्भावना बढेर जान्छ । (ख) खाद्य पदार्थः बोसो बढी भएको खाद्य पदार्थ तथा अत्यधिक रक्सी सेवन गर्ने महिलामा स्तन क्यान्सर हुने सम्भावना बढ्छ । हरियो सागपात तथा फलफुलको सेवनले यो सम्भावना घटेर जान्छ । (ग) ढिलो बच्चा पाउनु (४० वर्षभन्दा पछि) तथा बच्चा नपाउनु र स्तनपान नगराउनु आदि प्रजनन सम्बन्धि तत्वहरुले स्तन क्यान्सर हुने सम्भावना बढाउँछ । पाँच वर्षभन्दा बढी समयसम्म परिवार नियोजनका चक्कीहरु प्रयोग गर्नेलाई पनि केही सम्भावना बढेर जान्छ ।
स्तन क्यान्सरका लक्षणहरु
स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन् । सामान्यतया दुख्न पनि दुख्दैन । विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ । हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन । जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन् । स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो । अन्य लक्षणहरुमा स्तनमा निको नहुने घाउ, दुधको मुन्टोवाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दुधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीं झरेर जानु आदि ।
स्तन क्यान्सरको अवस्था कसरी पत्ता लगाउने ?
सायद अज्ञानताका कारणले गर्दा होला नेपाली महिलाले स्तनमा हुने गरेका साधारण खालको समस्या कमैलाई भन्न चाहन्छन् । पुरुष चिकित्सक कहाँ जँचाउन जाँदैनन् । जब स्तन क्यान्सर बढेर थाहा पाइने हुन्छ, तब अवस्था नराम्रो भइसकेको हुन्छ । स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ । त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन क्यान्सर निको पार्न सकिन्छ । विकसित देशहरुमा भने प्रायजसो बिरामी सुरुको अवस्थामा चिकित्सककहाँ पुग्छन् जसले गर्दा क्यान्सर निको पार्न सकिन्छ । यसका मुख्य कारण भनेको जनस्तरको क्यान्सर जनचेतनालाई लिन सकिन्छ । अन्य कारणहरुमा विकसित देशमा गरिने भरपर्दाे स्तन क्यान्सर समुहगत परिक्षण पनि हो । यस विधिद्वारा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ ।
उपचार कसरी गरिन्छ ?
स्तन क्यान्सरको निदानको लागि तिन किसिमका जाँचहरु जस्तै चिकित्सकद्वारा जाँच, भिडियो एक्सरे अथवा स्तनको विशेष एक्सरे तथा स्तनको ट्युमरबाट निकालिएको कोष तथा तन्तुको जाँच गर्नु पर्दछ । प्रायःजसो बिरामीमा यी तीनवटा जाँचबाट स्तन क्यान्सर हो की होइन थाहा हुन्छ। थाहा पाइसकेपछि स्तन क्यान्सरको अवस्था पत्ता लगाउनु पर्दछ । स्तन क्यान्सरको अवस्था ट्युमरको नाप र फैलावट, ग्रन्थीहरुमा सरेको छ कि छैन, तथा अन्य अंगहरुमा सरेको छ कि छैन भनेर जाँच गर्नु पर्दछ । स्तन क्यान्सरका उपचार विधिहरु यस रोगको अवस्थामा भर पर्दछ । एकदमै सुरुको अवस्थामा छ भने शल्यक्रिया गरी निकालिदिए पुग्छ । केमोथेरापी र रेडियोथेरापी गरिराख्नु पर्दैन । ट्युमरको हर्माेन रिसेप्टर हेरेर हर्माेन थेरापी पनि गर्नु पर्दछ । अवस्था हेरी एउटै बिरामीमा सवै किसिमका उपचार विधिहरु समेत प्रयोग गर्नुपर्ने हुनसक्छ । यि सबै उपचार विधिहरु नेपालमै उपलब्ध छन् ।
सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा केमोथेरापी चाहिन्छ । बिरामीलाई कुन केमो कति दिने भन्ने कुरा ल्याब रिपोर्ट र ‘हर्मोन रिसेप्टर’को अवस्था हेरेर गरिन्छ । हर्मोन रिसेप्टर तीन प्रकारका हुन्छ इआर, पिआर र एचइआर टू । केमोथेरापीपछि बिरामीको कपाल झर्छ । तर धेरैमा फेरि कपाल पलाउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तैगरी कपाल पलाउँछ । केमो लगाउँदा शरीरलाई गाह्रो हुन्छ भन्ने पनि भ्रम हो । साइड इफेक्ट चाहिँ हुन्छन् । तर, ती साइड इफेक्टबाट जोगाउने अन्य औषधि पनि दिइने भएकाले केमोबाट डराउनुपर्दैन । युवतीहरुमा हुने स्तन क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ । युवा अवस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरुमा क्यान्सर छिटो फैलिने डर हुन्छ ।
के के कूरा मा ध्यान दिनुपर्छ त ?
– सम्भावित कारक तत्वहरुलाई हटाउने, कम गर्ने वा सतर्क हुने । प्रत्येक २० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको जाँच आफैंले नियमित रुपमा गर्ने । महिनावारी भएको सातौं दिनमा आफुलाई पायक पर्ने समय र ठाउँमा एउटा ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफैंले गर्ने (तरीकाः ऐनाको अधि दुबै खुट्टाहरू समान रूपमा टेकेर उभिने र कपडा उतारी आफ्नो स्तन को आकार दुबै समान छ की छैन) । स्तनमा कुनै किसिमको असामान्य कुरा फेला पर्ने्बित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । –सभाव्य लक्षणहरु देखापर्नेबित्तिकै जांच तथा उपचार गर्नसक्ने केन्द्रहरुमा जाने । –हरियो सागपात, फलफुलको प्रसस्त मात्रामा सेवन गर्ने तथा नियमित रुपमा शारीरिक व्यायाम गर्ने । स्तन क्यान्सर हनासाथ बिरामीको मृत्यु भइहाल्दैन । यदि, सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ । उपचार खर्च पनि जोगिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचेक्र्याइले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology