`

स्थानीय कृषि तथा पर्यटन प्रर्वद्धनका लागी भीरकोट महोत्सव

स्याङ्जा २० मंसिर – “समृद्ध भीरकाट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने नाराका साथ आगामी फाल्गुन १ देखि ११ गतेसम्म दोस्रो भीरकोट महोत्सव हुने भएको छ । भीरकोट उद्योग वाणिज्य संघले कृषि, पर्यटन, सांस्कृतिक एवं औद्योगिक व्यापार मेला २०७६ को आयोजना गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी संघले महोत्सवको बारेमा जानकारी गराएको हो । भिजिट नेपाल सन २०२० लाई समेत लक्षित गर्दै महोत्सवको आयोजना गरिएको र महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनको प्रदर्शनी तथा विक्रिलाई विशेष प्राथामिकता दिईने संघका अध्यक्ष भक्तबहादुर केसीले बताए ।
प्रथम महोत्सवबाट मौज्दात रहेको २० लाख र दोस्रो महोत्सवबाट हुने बचत रकमले संघको भवन निर्माणका लागी जग्गा खरिद गर्ने र भवन निर्माणको थालनी गर्ने उद्देश्यले समेत मेलाको आयोजना गरिएको अध्यक्ष केसीको भनाई छ । केसीले भने,“यहाँका अर्गानिक कृषि उत्पादनको बजारीकरण गर्दै अर्गानिक उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्ने र स्थानीय व्यापारी व्यवसायीलाई प्रर्वद्धन गर्न महोत्सवले टेवा पुग्नेछ ।” नगरपालिकासंग सहकार्य गर्दै भीरकोटमा रहेका होमिस्टेलाई समेत प्रचारप्रसार गर्न मेलामा आउने कलाकारहरुलाई होमिस्टेमा एक दिन बास बस्ने व्यवास्था मिलाईने केसीको भनाई छ । झण्डै ३ महिना बाँकी रहँदा संघले महोत्सवको आयोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो । महोत्सव अवधिभर यातायात सहज हुने र स्याङ्जाली कलाकारहरुलाई प्राथामिकता दिईने बताए ।
११ दिनसम्म सञ्चालन हुने मेलामा ४ करोडको व्यापारिक कारोबार हुने र साढे ३ लाख दर्शक भित्र्याउने लक्ष्य लिईएको छ । महोत्सवमा कृषि तथा पशुपंक्षी प्रर्दशनी, ताजा तरकारी प्रदर्शनी, पशुपंक्षी विक्रि तथा प्रदर्शनी, अटोमोबाईल, जडीबुटि प्रर्दशनी, फोटो प्रदर्शनी, शैक्षिक सामाग्री प्रर्दशनी, जातिय संस्कृतिको भिडियो प्रर्दशनी, मह प्रर्दशी, गोट चिज प्रर्दशनी, हस्तकला प्रदर्शनी तथा विभिन्न व्यापारीक प्रयोजनका २ सय स्टलहरु रहनेछन् ।
९० लाख २५ हजार खर्च गरिने अनुमान गरिएको महोत्सवमा २५ लाख भन्दा बढी बचत गर्ने लक्ष्य आयोजकले लिएको छ । महोत्सवमा साधारण टिकटतर्फ ५० रुपैँया र विद्यार्थी तथा जेष्ठ नागरिकका लागी ३० रुपैँया तोकिएको छ । भीरकोट १ सिसौघारी मैदानमा हुने महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धन र विकास गरिने स्थानीय उत्पादनलाई बढवा दिने गुणस्तरीय अर्गानिक कृषि उत्पादनलाई बढाउँदै स्वारोजगार सिर्जना गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवमा प्याराग्लाईडिङ र पदयात्राको समेत व्यवस्था गरिनेछ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, रत्यौली प्रतियोगिता, फलफूल तथा तरकारी प्रतियोगिता, पशुपंक्षी प्रतियोगिता, लोकभजन प्रतियोगिता, विद्यालय तथा क्लबस्तरीय नृत्य प्रतियोगिता, स्थानीय तह स्तरीय पन्चेबाजा प्रतियोगिता तथा समदायमा आधारित सांस्कृतिक झाँकी प्रतियोगिता समेत रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology