`

अस्पतालमा एक रात

अस्पताल जानुजस्तो गाह्रो काम सायदै कम होला। बिरामी हेर्न, कुरुवा भएर जानभन्दा अझैं गाह्रो काम हो आफैं बिरामी भएर जान।
अपवाद जहाँ पनि हुन्छ। जागिर खान, आफन्त भेट्न, गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्ड भेट्ने गरी अस्पताल धाउँदा सायद उमंग नै हुन्छ ज्यानमा।
तर, आज त्यस्तो कुनै उमंग लिएर गएका छैनन् रमाकान्त अस्पताल। बिमारले थलिएर गएका छन्, त्यो पनि कैयौं दिनको लागि अस्पतालकै बेडमा भर्ना हुने गरी।
उनलाई थाहा छ यो बसाइँ रमाइलो पक्कै हुनेछैन।
रमाकान्त आफ्नो जमानाका चर्चित राजनीतिकर्मी हुन्। कुनै बेला मन्त्री भएका रमाकान्त सम्भावना बोकेका नेतामा गनिन्थे। तर, गम्भीर नैतिक विचलनको आरोप लागेपछि पार्टीको अग्रपंक्तिबाट विस्तारै पाखा पर्दै गए। र, अन्तत: पार्टी राजनीतिबाट बाहिरिन बाध्य भए।
तर, रमाकान्तले त्यस घटनालाई आफूमाथिको राजनीतिक प्रतिशोध भने।
उनै रमाकान्त आज अस्पताल भर्ना भएका छन्। डाक्टरको प्रत्यक्ष निगरानीमा उनको उपचार हुने भएको छ, साता दिनसम्म।
“नमस्कार सर। यहाँको बेड तयार भयो। कृपया मलाई फलो गर्नुहोला”, मुस्कुराउँदै नर्सले बोलाइन्।
आजकल नर्सहरूको मधुर मुस्कानसहितको सेवा पाउने भाग्यमानी धेरै कम हुन्छन्। अरू जागिर जस्तै नर्सिङ पेशा लाग्नेहरूमा पनि पेशागत धर्म कम, जागिरे मनस्थिति ज्यादा देखिन्छ। सबै क्षेत्र कलुषित छन्, देशको राजनीतिझैं। तर, हिलोमा कमल भेटियो। असल नर्स भेटिइन्।
टाउको हल्लाएरै रमाकान्तले अभिवादन फर्काए। नर्सलाई पछ्याउँदै बेडसम्म हिँडे। आफ्नो साथमा लिएर आएका पठन सामग्रीलाई कोठाको एक कुनामा थन्क्याए र विस्तारामा पल्टिए।
“यहाँको परीक्षण भोलिबाट सुरू हुन्छ। आज त्यसैको पूर्वतयारी स्वरूप तपाईंलाई अस्पतालमा नै बास बस्नेगरी डाकिएको हो। आराम गर्नुस्। सहयोग चाहिएमा वा मेडिकल कल गर्नुपर्यो भने शून्य डायल गर्नुहोला।” ओछ्यान छेउको फोन देखाउँदै नर्स भनिन्।
झ्यालको पर्दा अलिकति खोलिदिइन् र कोठाबाट बाहिरिन्।
रमाकान्तले दायाँ-बायाँ हेरे, सबै बेडहरू खाली छन्, सिवाय उनको। आजकल भिआइपीहरू सामान्य पेट दुख्दा पनि विदेश नै पुग्छन्। भिआइपीका लागि छुट्याइएको अस्पतालको त्यो कोठामा धेरै वर्षपछि एक जना नेता आएका थिए। वर्षौंपछि प्रयोगमा आएको त्यो कोठा काम चलाउ सफा मात्रै गरिएको थियो।
दरबारझैं लाग्ने सफा घर भएका रमाकान्तलाई अस्पतालको त्यो बेड बिल्कुल आरामदायी भएन, तर, बस्नैपर्ने बाध्यता छ। त्यसो त भूमिगत कालमा गरिब किसानको झुपडी बाहिर एउटा गुन्द्रीमा पातलो तन्ना ओढेरै कैयौं रातहरू बिताएका थिए। उनी आफैं एउटा गरिब परिवारमा जन्मे-हुर्केका मानिस हुन्।
मान्छेले आफ्नो दु:ख चाँडै नै बिर्सन्छ भन्थे। हो रहेछ। उनले पनि बिर्सिए। अझ ठूलो कुरा त दु:खीहरूलाई सुख दिन राजनीति नै सफा गर्नुपर्ने रहेछ भनेर राजनीतिमा होमिएका उनले जनता दु:खी छन् भन्ने पनि बिर्सिए। उनै रमाकान्तलाई अस्पतालको बिछ्यौनामा निन्द्रा परेको छैन। अनेक कोशिस गर्दा पनि निन्द्रा नलागेपछि उनले फोन उठाए, शून्य डायल गरे र नर्स बोलाए।
“हजुर, यहाँलाई म के सेवा गर्न सक्छु ?” तिनै मृदुभाषी नर्सले भनिन्।
“मलाई निन्द्रै परेन। एउटा स्लिपिङ्ग ट्याब्लेट दिन सक्नुहुन्छ ?”
“तपाईंकै स्वास्थ्यको खातिर हामी स्लिपिङ ट्याब्लेट दिन सक्दैनौं, बरु एउटा सल्लाह दिन्छु। यहाँले बाल्यकालदेखि अहिलेसम्म गर्नुभएका राम्रा कामहरू सम्झनुस् त। सम्झँदा-सम्झँदै निदाएको पत्तै पाउनु हुनेछैन।” नर्सले सुझाइन् र रमाकान्तको कुरै नसुनी कोठाबाट बाहिरिइन्।
रमाकान्तलाई आफ्नै स्मृतिहरूमा हराउने मौका मिलेको छ, निदाउने प्रयत्नको रूपमा।
उनले आफ्नो सम्झनाको सन्दुक खोले, राजनीतिक जीवनको सुरूआती दिनहरूबाट।
गाउँमा उनकै बा उमेरका गरिबहरूले भोगेको पीडा सम्झे। सावाभन्दा धेरै ब्याज तिर्दासम्म पनि ऋणमुक्त हुन नसकेकाहरू सम्झिए। कस्तो पीडादायक समय थियो।
गाउँका साहुहरू सामन्त हुन्थे र गरिबहरू शोषित। अझ दु:खको कुरो त के हुन्थ्यो भने जसलाई शोषित भनिन्थ्यो उनीहरू पनि शोषक हुन्थे, आफूभन्दा निर्धा र गरिबलाई हेप्थे। त्यस्ता आचरणलाई निमिट्यान्न पार्न भनेरै रमाकान्त जस्ता युवाहरू राजनीतिमा होमिएका थिए। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि।
राजनीति उत्कर्षमा पुगेको बेला आफैंले गरेको दमदार भाषण सम्झिए। भाषण गर्दा उनको अनुहारमा क्रान्तिको राप दन्किएको स्पष्ट देखिन्थ्यो रे। साथीहरूले भन्थे ‘ओहो रमाकान्त तिम्रो अनुहारबाट रगत नै झर्ला झैं भएको थियो।’
क्रान्ति सफल भयो। रमाकान्तहरू अब शासक भए। शक्ति थियो उनीहरूमा। तर, रमाकान्तहरूभन्दा शक्तिशाली भए उनीहरूका कार्यकर्ता। विजयको उन्मादमा पुराना शासकका सालिकहरू ढालिए। उनीहरूले सोचे हामी सालिकहरू ढालेर पुरानो सामन्ती इतिहास निमिट्यान्न पार्छौं।
आफ्नो पार्टीको सरकारमा भएको बेला रमाकान्तले पटक-पटक पश्चिमा देशहरूको भ्रमण गर्ने मौका पाए। भ्रमणको दौरान बाटोको बीचमा, म्युजियमनै बनाएर पुराना शासकको सालिक राखेको देखेर रमाकान्त अच्चमित भएका थिए। शासक ढलेका तर तिनीहरूकै ठडिएका सालिक देखेर उनलाई महशुस भएको थियो कि सालिक लडाउँदैमा इतिहास मेट्न नसकिने रहेछ। यो सामान्य कुरो बुझ्न उनलाई पश्चिमा देशनै पुग्नु परेको थियो।
बिस्तारामा पल्टिएका उनलाई आफू दोषी भएको अनुभूत भयो। अलिकति ग्लानी, थोरै पश्चाताप र धेरै खिसी गर्न मन लाग्यो आफैंलाई।
‘देश चलाउँछु भन्ने म र म जस्तै अरु समकक्षी नेता साथीहरूमा इतिहास बुझाइको यो हदको कमजोरी रहेछ। हाम्रै वरिपरि भएका यथार्थलाई राम्रोसँग पहिचान गर्न नसकेको मेरो राजनीतिक पुस्ताले देशलाई सवल र हामीभन्दा कैयौं गुणा सचेतहरूलाई विश्व प्रतिस्पर्धाको लागि तयार गर्ने पद्धतिको विकास नहुनु सामान्य रहेछ।’ रमाकान्तलाई यो सत्यको अनुभूत भएको छ, अस्पतालको बेडमा।
‘मलाई किन नराम्रा कुराको मात्रै सम्झना हुन्छ?’ रमाकान्तले आफैंसँग सोधे।
‘के मैले राजनीतिक जीवनमा राम्रा कामहरू गरेकै छैन त ?’
एकाएक उनलाई विद्यार्थी राजनीतिको सम्झना आयो। त्यो पनि केन्द्रीय क्याम्पस कीर्तिपुर हुँदाको।
सीमित विद्यार्थी भर्ना गर्ने कतिपय संकायमा आन्दोलन गरेर उनीहरूले भर्ना कोटा दोब्बर बनाएका थिए।
उनीहरूको तर्क थियो शिक्षा मौलिक अधिकार हो। र, यो अधिकारलाई प्रवेश परीक्षाको बहाना बनाएर विद्यार्थी भर्ना कटौती गर्नु मौलिक हकको हरण हो। विद्यमान भौतिक संरचना, प्राध्यापकहरूको उपलव्धताको खासै ख्याल नगरी गरिएको त्यो आन्दोलनले धेरै संकायमा विद्यार्थी कोटा त बढाएरै छोड्यो। कतिपय विभागमा विभागीय प्रमुखको तर्क अगाडि आन्दोलनकारीहरूको तर्क फिक्का भयो।
दुर्भाग्य, प्राज्ञ हुन आएका तिनै विद्यार्थीहरूमध्ये केहिले पुस्तकालय खरानी बनाए, थेसिसलाई अनुसन्धान गर्न-गराउन महत्वपूर्ण मानिने विधि कम व्यापार ज्यादा बनाएँ, परीक्षामा आफूले पढेको विषयवस्तुमात्रै प्रश्नको रूपमा सोधिनु पर्नेझैं खालका माग राखेर परीक्षा हलमानै प्रश्नपत्र च्याँते।
कतिपय विद्यार्थी नेताहरू त खुल्लमखुल्ला चिट चोर्थे। विद्यार्थीहरूको राजनीति गर्ने रमाकान्त जस्ता अगुवा नेताहरूले भोटको लोभमा यस्ता गलत कामहरूलाई विरोध गर्नै सकेनन्।
आन्दोलन गरेर सार्वजनिक सवारीमा विद्यार्थीहरूका लागि भनिएको सवारी भाडाको छुट सरकारी कर्मचारी, आममानिसहरू, कलेज सिध्याएर अन्य पेशामा लागेकाहरूले दुरूपयोग गरेको हामीले कहिल्यै विरोध गरेनौं। बिडम्वना नै मान्नु पर्छ महिलाका सिटमा पुरुषहरू बसेर हिँडे, वृद्ध-वृद्धाहरूको सिटमा तन्नेरीहरू बसेर हिँडे। उनीहरूले नै बन्द हड्तालको सुरूआत गरे, सडकमा टायर बाल्न सुरू गरे, भौतिक संरचनाहरू ध्वस्त गरे।
बन्द हड्ताल हुँदा एम्बुलेन्सहरू पनि बिरामीले कम राजनीतिक कार्यकर्ता र पँहुचवालाले ज्यादा दुरूपयोग गरे। र, ती गलत कामहरूको विरोध उनीहरूले कहिल्यै गरेनन्। अझ भनौं बेथितिको कारण नै उनीहरू थिए।
यी सबै घटना सम्झेर रमाकान्तको मन अमलियो।
‘के हाम्रो राजनीति पुस्ताले राम्रा कामहरू गर्नै सकेनौं त?’ रमाकान्तले आफैंलाई प्रश्न सोधें।
‘त्यस्तो गर्नै नसकेको पनि होइन। हामीले नै दूरदराजका गाउँघरसम्म पुग्ने बाटो खोल्यौं। सडक संजाल विस्तार गर्यौं। गाउँका टुकीहरूलाई बिजुलीमा प्रतिस्थापन गर्यौं। धेरै ठाउँमा इनार र ट्युवेललाई पानीका धाराले विस्थापन गर्यौं।
गाउँमा सहकारीहरूको स्थापना भयो, सामुदायिक जंगलहरूको सुरूआती पनि हाम्रै कर्मको प्रतिफल हो। गाउँका दिदी-आमाहरू साक्षर बन्ने क्रम बढ्दो छ। नवमातृ मृत्युदरमा कमी आएको छ। बालिकाहरूको स्कुल भर्नामा उल्लेख्य प्रगति भएको छ।’
राम्रो कामको फेहरिस्त सम्झेर रमाकान्तले सन्तोषको सास फेरें।
एकाएक उनी फेरि आफ्ना नराम्रा कामहरूसँग एकाकार भएँ। जीवनमा धेरै पटक धेरै जनालाई ढाँटेका उनलाई महशुस भयो अरुलाई त ढाँट्न सकिँदोरहेछ, आफैंलाई ढाँट्न भने सर्वथा असम्भव रहेछ।
उनले सम्झिए सर्वदलीय सहमतिको नाममा भएको व्यभिचार। सडक-भवन निर्माण गर्दा कम गुणस्तरको सामान प्रयोग गरेकै कारण निर्माण गरिएका त्यस्ता संरचना छोटो समयमै काम नलाग्ने हुन्थे।
बाटोमा ठूल-ठूला खाल्डाहरू थिए। वर्षायाममा खाल्डा भरिएर पोखरीझैं हुन्थें। र, तिनै पोखरी समान खाल्डामा डुबेर कति जना बच्चाहरूले अकालमै ज्यान गुमाए।
उनीहरूले त्यो अक्षम्य गल्तीको याचनासम्म गरेनन्। कतिपय ठाउँमा त बाटो, पुल-पुलेसा फगत कागजमा मात्रै बनेका थिए। कमसल काम गर्ने ठेकेदारहरूलाई कहिल्यै कारबाही भएन।
सहकारी त खुले तर बिहान-बेलुकाको गाँस काटेर गरिबहरूले जम्मा गरेको पैसा खाएर भाग्ने सहकारी संचालकलाई उनीहरूले नै काखी च्यापे।
बिजुलीका पोलहरू गाउँ-गाउँमा त पुगे तर उद्योगीहरूसँग मिलेमतो गरेर साधारण जनतालाई बिजुलीबाट बञ्चित गरियो। महिलाहरू साक्षर भए, आफ्ना अधिकारका बारेमा जान्ने बुझ्ने भए तर उनीहरूका जायज मागहरू सुन्न आनाकानी गरियो।
गरिब बाल-बालिकाको स्कुलमा भर्ना त बढ्यो तर तिनै स्कुलहरूमा राजनीतिले शिक्षाको गुणस्तर माटोमा मिलायो। जुन-जुन क्षेत्रमा हात हाले, सबै भताभुंग भयो।
रमाकान्तले लामो सुस्केरा हालें। उनलाई अझै निन्द्रा परेको छैन।
उनले शून्य डायल गरे। नर्सलाई बोलाएँ र निन्द्रा नपरेको सुनाएँ।
नर्सले पुरानै कुरा दोहोर्याईन। रमाकान्तलाई लाग्यो नर्सले उनको कुरा नसुनिदिएर उनलाई अन्याय गरिन्।
राजनीतिक जीवनमा जनताका कुरा नसुनेर उनले जनतालाई कति अन्याय गरेका थिए, त्यो चाहिँ उनले सम्झन चाहेनन्।
रमाकान्तले झ्याल बाहिर हेर्दै स्मृतिको सन्दुक खोलें। बाहिर निष्पट अँध्यारो थियो। कालो रात।
त्यो कालो रातमा रमाकान्त अनायासै मुस्कुराएँ। धेरै वर्षअघि उनको कालो वर्णको साथी वकिल भएको थियो। कालो मान्छे कालै कोटमा देखिँदा रमाकान्तले बिस्कन गिज्याएका थिए।
‘तँ कालो वर्णको मान्छे, कालो कोट लाउने भएर आइस्। अब मन पनि थोरै कालो बँना, कालो धन कमाउनेहरूको मुद्दा लड् र उनीहरूको कालो सम्पत्तिलाई बिस्तारै सेतो धन बँना। अनि त मै हुँ भन्नेहरू पनि तेरा अगाडि निम्छरा हुनेछन्।’
तर, ती काला वर्णका वकिलले कहिल्यै आलोचित हुने निर्णय गरेनन्। बरु, रमाकान्तहरूले नै मोलतोल गरेर विवादास्पदहरूलाई न्यायालयमा छिराए, र राम्राहरूलाई पाखा।
विवादास्पदहरू मिडियामा आदर्शको कुरा त गर्थें तर, वकातल भने भष्ट्र र अपराधको पक्षमा गर्थें। न्यायालयभित्रै कति धेरै न्यायमूर्ति थिए जसलाई न्याय चाहिएको थियो। एउटा पीडितले अर्को पीडितलाई न्याय दिन कति सहज भयो होला ?
रमाकान्तको छट्पटी बढ्दो छ। उनले आफ्नो राजनीतिक जीवनमा गरेका राम्रा कामहरूको लिष्ट यति छोटो होला लागेकै थिएन।
‘शक्ति हात परेको सुरूआती वर्षहरूमा त हामीले राम्रै काम गरेका थियौं। तर पछिल्ला वर्षहरूमा स्कुल, विश्वविद्यालय, कर्मचारीतन्त्र, अख्तियार, प्रहरी प्रशासन, सरकारी स्वामित्वमा रहेका कम्पनी/संस्थानहरू हामीले धेरै हदसम्म ध्वस्त बनाएका छौं।
अरु त अरु, राज्यलाई प्रतिनिधत्व गरेर विदेशमा जाने व्यक्तिलाई पनि हामीले क्षमताको आधार छानेनौं। राज्यभित्रै त राम्रा पदमा जान मान्छेहरू करोडौं खर्च गर्थें, राज्यलाई प्रतिनिधित्व गर्ने त्यस्ता पदहरु विक्री गरिए।’
रमाकान्तले नचाहेरै सम्झिए ती यथार्थहरू।
रमाकान्तलाई अझै निन्द्रा परेको छैन। उनले स्वीच अन गरे र टेबवलमा भएको पत्रिका पढ्न प्रयत्न गरें।
पत्रिका हातमा लिएका उनलाई अहिले आफ्नै पुरानो पत्रकार मित्रको याद आएको छ। उनीसँग भएको व्यक्तिगत सम्वन्धको फाइदा उठाउँदै ती पत्रकारले सरकारका महत्वपूर्ण योजना र सूचनाहरू विदेशीलाई दिँदा रहेछन्।
त्यसो त अरु नेताहरू, ठेकेदारहरू र अन्य पेशाकर्मीहरूको कर्कुतलाई पत्रकार भएको हवाला दिँदै धम्क्याएर समाचार ढाकछोप गरे वापत मनग्ये आर्थिक आम्दानी पनि गरे रे।
पत्रकारिता सुरू गर्दा सामान्य हैसियतका ती पत्रकारको अहिले असामान्य ढंगले श्रीवृद्धि भएको देख्दा त्यो आरोपमा सत्यता छ झैं लाग्छ।
‘मैले पनि राजनीति सुरू गर्दा तिनै पत्रकार मित्रको झैं सामान्य आर्थिक हैसियत थियो। आज म पनि करोडौंको मालिक छु, बिनाव्यवसाय, बिनारोजगारी।’
रमाकान्तले आफ्नैलाई भने।
रमाकान्तलाई अब विगत धेरै सम्झन मन छैन।
र निष्कर्षमा पुगे, समाजलाई हाँक्ने जुनसुकै तहमा बसेका व्यक्तिहरूको नैतिक स्खलन, साँघुरो घेरा, साँघुरो सोच, इमान्दारिता र कार्यदक्षताको अभाव, दृष्टिकोणमा त्रुटि वा कमजोरी राष्ट्रको लागि महँगो हुँदोरहेछ। सुधार्न बसेकाहरू नै बिग्रिएपछि समाज कसरी सुध्रन्छ?’
पूर्वमा सूर्य उदाएको देखियो। तिनै मृदुभाषी नर्स देखा परिन् र जिस्क्याउने शैलीमा सोधिन्, ‘सर हिजो के सम्झँदै निदाउनु भयो भन्न सक्नुहुन्छ?’
रमाकान्तले चुपचाप भुइँतिर हेरिरहे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology