`

ढोरपाटन पानी कता लैजाने ? उर्जामन्त्री मौन !

बागलुङ ,२१ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा अर्थमन्त्री किरण गुरुङ बागलुङ ढोरपाटनमा बन्ने उत्तरगंगा जलविद्युत आयोजनाको पानी बागलुङतिर नै खसाल्न चाहन्छन् । उनीहरु कुनैपनि हालतमा पानी ५ नम्बर प्रदेशमा पर्ने रुकुमतिर खसाल्न नहुनेमा दृढ छन् । तर, पूर्वउर्जामन्त्री जनार्दन शर्मासहितका नेताहरु भने त्यो पानी रुकुमपूर्वतिर झार्नुपर्ने तर्क गर्छन् । यो प्रदेशहरुबीच प्राकृतिक स्रोत बाँडफाँडबारे देखिएको विवाद पनि हो । यही कारणले सो जलविद्युत आयोजना विवादित बनेको छ । हो । हो यही परियोजनास्थलको सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार निरीक्षण गरे । ढोरपाटन उपत्यकामा निर्माण हुने ७२१ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनास्थल पुगेको मन्त्री पुनसहितको टोलीले जलाशय बन्ने स्थान, सुरुङ सुरुहुने र पावरहाउस बन्ने स्थानको निरीक्षण ग¥यो ।
मन्त्री पुनसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, पूर्वसभामुख ओनशरी घर्ती र रुकुमपूर्वकी प्रतिनिधिसभा सदस्य कमला रोकासहितको समूहले आयोजनास्थलको निरीक्षण गरेको हो । आयोजनाका प्रमुख र प्रबिधिकहरु समेत मन्त्री पुन सहित आयोजना स्थलमा पुगेका थिए । ढोरपाटन उपत्यकामा बन्ने जलाशययुक्त आयोजनाबाट पानी बाग्लुङतर्फ खसाल्ने वा रुकुमतर्फ खसाल्ने भन्ने बिषयमा लामो समयदेखि विवाद थियो । ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उत्तरगंगा जलाशययुक्त आयोजनालाई छिटो अगाडि बढाउन चाहेको बताएका छन् । आयोजनाको निरीक्षणपछि बागलुङ र रुकुमका सरोकारवालाबीच अन्तक्रियामा सहभागि हुँदै पुनले सबै सरोकारवालाको हितमा हुने गरी आयोजना बन्ने विश्वास ब्यक्त गरे । राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको काम तत्काल थाल्नुपर्ने र प्रभावित क्षेत्रका सरोकारवालाका समस्या समाधान गर्दै जानुपर्ने मन्त्री पुनको धारणा रहेको थियो । ‘यो आयोजना हामी जसरी पनि बनाउँछौँ, शंका नगर्नुहोस्’ मन्त्री पुनले भने ‘राष्ट्र हितका लागि बन्ने आयोजनाले जनताका समस्या पनि सम्बोधन गर्छ ।’ नेपालको मात्रै लगानीले आयोजना बन्न सम्भव नरहेको भन्दै उनले बिदेशी लगानीकर्ता भित्राएर आयोजना बनाउँदा सबैका समस्या समाधान हुने बताए । बिस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको आयोजनाको रुकुमतर्फ र बागलुङतर्फ दुबै क्षेत्रमा पुन ः सर्वे गरेर उपयुक्त स्थान छनौट गर्नुपर्ने उनको धारणा थियो । छिटो र सस्तोमा उपलब्धिमूलक काम बन्ने अवस्थामा कहिँकसैले पनि अबरोध गर्न नहुने धारणा उनको थियो । ‘आयोजनाको ड्याम ठूलो हुन्छ त्यसले प्रभावित क्षत्रमा असर गर्ने कुरा स्वभाविक हो’ उनले भने ‘विकल्पको खोजी गर्नुपर्छ तर अव आयोजनाको काम रोकिनु हुन्न ।’
अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले आधा बागलुङमा केन्द्रीय प्रसारणलाइन नभएको भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए । छिट्टै बागलुङका सबैका क्षेत्रमा प्रसारणलाई बिस्तार गर्ने भन्दै पुनले आश्वस्त पारे । ‘आयोजनाको काम पनि यही सरकारका पाला सुरु हुन्छ र बागलुङका सबै कुनामा बिजुली पुग्छ भन्नुभएको छ’ पौडेलले भने ‘मन्त्रीज्यूले आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने भन्नुभएको छ ।’ टोलीले बागलुङको ढोरपाटन र रुकुममा पुगेर सरोकारवाला तथा प्रभावित क्षेत्रका स्थानीयसँग अन्तरक्रिया गरेको थियो । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टिमको पछिल्लो अध्ययनले उत्तरगंगा नदीको पानीलाई एकहजार तीनसय ५० मिटर लामो सुरुङमार्गबाट निसीखोलामा खसालेर विद्युत उत्पादन गर्दा ७२१ मेगावाट विद्युत् उत्पादन हुने र सोही विकल्प उत्तम भएको सुझाव दिएको थियो । आयोजनाको अनुमानित लागत एक खर्ब २० अर्ब हुने बताइएको छ । यसअघि उत्तरगंगा आयोजना आठ सय २८ मेगावाटको हुने र एक खर्ब ७० अर्ब लागत अनुमान गरिएको थियो । विक्रम संवत् २०८३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उत्तरगंगा आयोजनाको विद्युत् उत्पादनपछि पानी बाग्लुङतर्फ खसाल्ने विm रुकुमतर्फ भन्ने विवादका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । अब भने पानी खसाल्ने बिषयलाई लिएर काम रोक्न नहुने सांसद पौडेलले बताए । वर्तमान प्रधानमन्त्रीदेखि उर्जा मन्त्रीसम्मले फरकफरक समयमा निरीक्षण गरीसकेको आयोजना स्थलमा अब छिट्टै काम सुरु हुने पौडेलले बताए । नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका पौडेलले स्वार्थ भन्दामाथि उठेर राष्ट्र हितका लागि आयोजना बन्नु पर्नेमा जोड दिए ।

ऊर्जामन्त्री पुनले आयोजना अघि बढाउन स्थानीयहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology