`

जब बालबच्चा एक्लो बन्छन्

एउटा बच्चालाई हुर्काउन सजिलो हुन्छ । धेरै बच्चालाई दिनुपर्ने समय, गर्नुपर्ने खर्च एउटै बच्चाले प्राप्त गर्न सक्छन् । पढाईमा होस् वा खानपानमा समस्या हुँदैन । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ ।
तर, यसको साइट इफेक्ट छ ।

अभिभावक र पारिवारिक दायित्वको हिसाबले हेर्दा एउटा बच्चा उपयुक्त देखिएपनि बच्चाकै कोणबाट हेर्दा राम्रो देखिदैन । किन ?
किनभने, अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुसँग खेल्ने दौतरी हुँदैन । उनीहरुको स्तरमा वात मार्ने, जिस्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई समय दिदैनन् । यसरी बच्चा एक्लो हुँदै गएका छन् ।
एक्लो बच्चालाई लालनपालन गर्न सजिलो भनिएपनि थप गाह्रो हुन्छ । दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन पाउँदैन ।
जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धाको भावना आवश्यक हुन्छ ।

दुई बच्चा समान रुपले हुर्कदैछ भने, उनीहरु एकअर्काबाट पनि सिकिरहेका हुन्छन् । खेल्न, रमाउन सिक्छन् । साथै मिल्ने वा सहकार्य गर्ने बानीको विकास पनि हुन्छ ।
जबकी एउटा बच्चामा सहकार्यको भावना विकास नहुन सक्छ । आफ्नो खेल्ने कुरा वा आफ्नो लताकपडा अरुलाई प्रयोग गर्न दिदैनन् । कुनैपनि समस्याको हल मिलेर गर्ने वा समस्या साझेदार गर्ने बानी हुँदैन ।दुईजना बच्चा छन् भने उनीहरुको भाषा मिल्छ । भावना मिल्छ । रहर मिल्छ । आपसमा हरेक कुरा मिलुजुली गर्ने अभ्यास गर्छन् । भलै उनीहरुबीच झगडा होला, मतान्तर होला । तर एउटा विन्दुमा उनीहरु आफै मिल्छन् । एकअर्काको कमजोरी र समस्यालाई स्विकार्छन् ।
जबकी एउटा मात्र बच्चा छ भने उनीहरुमा मित्रताको भावना कमजोर हुन्छ । अर्को व्यक्तिसँग सजिलै एडजस्ट हुन सक्दैनन् ।

एक्लो बच्चाको भावना के हुन्छ भने, मेरा सबै आवश्यक्ता अभिभावकले पुरा गरिदिनेछन् । उनीहरु परनिर्भर हुन्छन् । अभिभावकबाट अपेक्षा पनि गर्छन् । त्यहि कारण उनीहरु बढी पुलपुलिएका हुन्छन् । सानोतिनो समस्या पनि सहन नसक्ने हुन्छन् ।जबकी दुई भन्दा बढी बच्चा छन् भने उनीहरु अभिभावकमा निर्भर हुँदैनन् । आफ्नो आवश्यक्ता आफै पुरा गर्न अभ्यास गर्छन् ।
एकल सन्तान सबैको रहर नहुन सक्छ । बाध्यता पनि हुन सक्छ । यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन ।
यसका लागि अभिभावकले बच्चासँग बढीभन्दा बढी समय विताउनुपर्छ । उनीहरुलाई एक्लै छाड्ने वा बेवास्ता गर्नु हुँदैन ।अक्सर अभिभावक बच्चालाई आफुजस्तै बनाउन खोज्छन् । चकचक नगरोस्, चुलबुल नगरोस् भन्ने अपेक्षा राख्छन् । जबकी बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुको वालशुलभ चञ्चलतालाई रोक्नुहुन्न ।

किनभने बच्चाहरु स्वभावैले चञ्चाल, जिज्ञासु हुन्छन् । उनीहरु आफ्नो जिज्ञासा मेट्न चकचक गर्छन् । तर, अभिभावकहरु उनीहरुलाई रोक्छन् । ‘ज्ञानी बन्नुपर्छ’ भनेर अनुशासनमा बाँध्न खोज्छन् । यसले उनीहरुको रचनात्मक क्षमतामा बाधा पुग्छ । साथै बच्चाले खेल्ने वा रमाउने वाहाना पनि पाउँदैनन् । उनीहरुको दैनिकी पट्यारलाग्दो हुन्छ । यसले बच्चालाई चिन्ताग्रस्त बनाउन सक्छ । डिप्रेसनमा लाने खतरा पनि रहन्छ ।

त्यसैले बच्चाका लागि घरलाई बालमैत्री बनाउनुपर्छ । उनीहरुलाई खेल्न, रमाउन छुट दिनुपर्छ । अभिभावकले बच्चासँग साथीकै रुपमा व्यवहार गर्नुपर्छ । बच्चासँग खेल्ने, कार्टुन हेर्ने, केक काट्ने, चित्र बनाउने जस्ता गतिविधिमा सरिक हुनुपर्छ । यसले गर्दा बच्चाले आफुलाई एक्लो अनुभव गर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology