`

कथा: डढेलो

अफिसको सानदार मोटरमा बसेपछि उसले पुलुक्क आफ्नो घरको बार्दलीतिर हे¥यो । आफूले चाहेबमोजिम उसले त्यहाँ एक जोडी रसिला, तर परिचित नारी–ओँठ देख्यो । ओँठ उसलाई बिदा जनाउन मादक र तरुण मुस्कान उराल्दै थिए । मुस्कानको जबाफमा उसले बार्दलीतिर मुस्कानको भुवादार लुगा उडायो र मोटर चालू ग¥यो । हुरीबतास भएर मोटरले अफिसको बाटो समायो ।
अफिसको हातामा छिरेर उसले ठीक ठाउँमा मोटर थन्क्यायो । आफ्नो अफिसकोठामा पुग्न ऊ मोटरबाट तल ओल्र्यो र भ¥याङतिर लाग्यो । ऊ अफिसकोठाको दैलोमा पुगुञ्जेल त्यहाँ भएका सबका सब हातहरु उसको अभिवादनमा उचालिँदै थिए ।
अफिसकोठाभित्र पसेपछि ऊ आफनो कुर्सीमा धसियो र टेबलमा गाडियो । उसको टेबलमा फाइलैफाइलका रुपमा कामको पहाड उक्सेको थियो । एकछिन पनि खेर नफाली ऊ त्यो पहाड सम्याउने कामतिर लाग्यो । अफिस बन्द हुने बेलासम्म लगातार हाड घोटेर उसले सबै काम सक्यो, कुनै काम भोलिका लागि जगेडा राखेन । एकोहोरो काम गरेकाले उसको टाउकाभित्र पीडाको खोलो सुसाउँदै थियो र ऊ त्यही सुसाउँदो खोलालाई बेहोर्दैबेहोर्दै अघि मोटर थन्क्याएको ठाउँमा आइपुग्यो ।
अघि जहाँ उसले मोटर अड्याएको थियो, त्यहाँ मोटर थिएन । उसले खोजी आँखाले यताउति हेर्दै गरेका बेला पाले जस्तो एउटा मानिस सुस्तसुस्त उसका छेउमा आयो । अफिसले उसबाट मोटर खिचेर लिएको र त्यसको सट्टा मोटरबाइक दिएको कुरो त्यसले बतायो । मगजभरि सलबलै–सलबल बोकेर उसले एकपटक त्यस मानिसतिर हे¥यो र ऊ खुरुखुरु मोटरबाइक भएतिर गयो ।
अफिसबाट घुइँक्याएको मोटरबाइक उसले एकै पटक आफ्ना घरअगाडि रोक्यो, तर त्यहाँ उसको घर थिएन । ऊ अफिस जाँदा जहाँ उसको घर थियो, त्यहाँ छिमेकको घर सरेको थियो र उसको आफ्नो घर कतै हराएको थियो । छक्क परेर उसले यताउति आफ्नो घर खोज्यो, तर कत्ति खोज्दा पनि उसले आफ्नो घर फेला पारेन । हार खाएर उसले छिमेकीसँग सोधपुछ गर्‍यो र आफ्नो घर सडक किनारबाट गल्लीतिर सारिएको थाहा पायो । गल्लीमा केहीबेर धुइँधुइँती खोजेपछि उसले आफ्नो घर फेला पार्‍यो र टाउको निहुराएर दैलाभित्र छिर्‍यो । एउटा सूर्य अस्तायो ।
अर्को सूर्य उदायो । अफिसको पुरानो मोटरबाइकमा बसेपछि उसले एकपटक पुलुक्क बार्दलीतिर हेर्‍यो । उसले त्यहाँ ओँठको उही जोडी देख्यो । ओँठमा अहिले मादक र तरुण मुस्कानको सट्टा ओइलाएको मुस्कान पोतिएको थियो । जबाफमा उसले मुस्कानको सरस धारा बगाउन खोज्यो, तर उसलाई आफूले पनि खङ्ग्रङ्ग सुकेको मुस्कान पैदा गरेजस्तो लाग्यो । छक्क परेर उसले मोटरबाइक चालू गर्‍यो । ऊ अफिसतिर हानियो ।
हाताभित्र मोटरबाइक थन्क्याएर ऊ आफनो अफिसकोठातिर लाग्यो । ऊ अफिसकोठा पुगुञ्जेल केही हात उसको अभिवादनमा उचालिए भने केही हात धारे पनि हुँदै गए ।
अफिसकोठामा पुग्नासाथ ऊ काममा जोतियो र अफिस बन्द हुने बेलासम्म नबिसाई जुटेर उसले टेबलमा थुप्रेका सबै काम सक्यो । काम सकेर तल आउँदा उसले आफूले अड्याएको ठाउँमा मोटरबाइक देखेन । जिल्लिएका आँखाले यताउति मोटरबाइक खोज्दै गरेका बेलामा पाले जस्तो उही व्यक्ति उसका छेउमा आयो । अफिसले उसबाट मोटरबाइक खिचेर लिएको र त्यसको सट्टा साइकल दिएको कुरो त्यसले बतायो ।
ऊ साइकल चढेर घर फक्र्यो । सडकबाट गल्लीमा घचेडिएको उसको घर त्यहाँबाट एकलास कुनातिर मिल्काइएको थियो । ऊ कम्मरसम्म दोब्रिएर आफ्नो घरको दैलाभित्र छिर्‍यो । अर्को सूर्य अस्तायो ।
फेरि अर्को सूर्य उदायो । अफिसको थोत्रो साइकलमा बसेपछि उसले एकपटक पुलुक्क बार्दलितिर हेर्‍यो । उसले त्यहीँ ओँठको उही जोडी देख्यो । ओँठमा अहिले बिदाको मादक र तरुण मुस्कान सुकेर कक्रक्क परेको थियो । जबाफमा उसले अलिकति भए पनि मुस्कान पैदा गर्न खोज्यो, तर उसका मुखबाट ठुस्स गन्ध मात्र निस्क्यो । रन्थनिएर उसले साइकल दौडायो र पसिनामा लथपथ भएर अफिस पुग्यो ।
अफिसको हाताभित्र साइकल थन्क्याएर ऊ आफनो अफिसकोठातिर लाग्यो । ऊ अफिसकोठा पुगुञ्जेल हातैहात देखिए, तर कुनै हात पनि उसको अभिवादनमा उचालिएन । लुरुक्क परेर ऊ कोठाभित्र छिर्‍यो ।
आफ्नो कुर्सीमा धसिएपछि उसले काममा पूरै व्यस्त गरायो । आफूलाई निचोरेर उसले दिनभरि काम गर्‍यो र अफिस बन्द हुञ्जेलमा सारा काम सक्यो । लखतरान परेर ऊ तल ओल्र्यो, तर तल उसले साइकल देखेन । पाले जस्तो उही व्यक्ति उसका छेउमा आयो र अफिसले उसबाट साइकल खिचेर लिएको कुरो त्यसले बतायो ।
लखरलखर गर्दै ऊ पैदल घरतिर लाग्यो । गल्लीको एकलास कुनामा पुग्दा उसले त्यहाँ आफ्नो घर देखेन, घर भत्काएर थुपारिएको इँट, ढुङ्गा र काठको रास देख्यो । रासमा ओँठका परिचित जोडीको रगत पनि मुछिएको देखेर उसका आँखामा डरलाग्दो खालको डढेलो सल्क्यो । आँखाभरि भयानक डढेलो लिएर उसले आफ्नो अफिस भएको दिशातिर उग्र पाराले हेर्‍यो र दस पाइला ऊ शक्तिशाली क्षेयास्त्रझैं त्यतै हुर्रियो ।
अस्ताउँदो सूर्य अस्ताउन नसकेर टक्क अडियो । ऊसँगै सूर्य पनि डढेलो बनेर दनन्न दन्क्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology