`

प्रेम, त्याग, कर्तव्य र प्रारव्ध ‘महारानी’

नेपालमा थुप्रै ऐतिहासिक साहित्य लेखिएका छन् । लेखिएका सबै ऐतिहासिक साहित्यले चर्चा र ख्याति भने कमाएका छैनन् । पढिएका सबै ऐतिहासिक साहित्यले पाठकलाई आनन्द र सन्तुष्टिको अनुभूति दिन सक्षम पनि छैनन् । केही औंलामा गन्न सकिने इतिहासमा आधारित कृतिहरूले भने पाठकलाई इतिहास र साहित्य दुवैको रसास्वाद प्रदान गरेका छन् । यस्ता कृतिहरूमा डायमन शमशेर राणाका अधिकांश औपन्यासिक कृतिहरू पर्दछन् । ‘सेतो बाघ’ एउटा सदाबहार ऐतिहासिक उपन्यास हो ।
पछिल्लो पटक चन्द्रप्रकाश बानियाँकृत ऐतिहासिक उपन्यास ‘महारानी’ प्रकाशनमा आएको छ । विशेषगरी पर्वतको राजगद्दीको सेरोफेरोमा यो उपन्यास केन्द्रित रहेको छ । महाराज घनश्याम दरबारको पूर्वी पटाङ्गिनीमा उत्तराभिमुख भएर टोलाइरहँदा अकस्मात् महारानी गुलवदन पटाङ्गिनीमा टुप्लुकिएको र युवराज मलेवमको बिहेका सम्बन्धमा खाँची र देउपुरबाट नरिवल आइसकेको बारेमा छलफल गरेको प्रसङ्गबाट उपन्यास अघि बढेको छ । पर्वत राजगद्दीका विषयमा भएगरेका धेरैथरी घटनापछि राजकुमारी विश्वप्रभा सन्यासिनी बनेर हिँडेको र महाराज मलेवमले राजकुमारी विश्वप्रभालाई पर्वतराज्य विखण्डन हुनबाट जोगाएको भन्दै सम्मानस्वरूप मानार्थ महारानीको पद प्रदान गरेको सन्दर्भमा पुगेर उपन्यास टुङ्गिएको छ । ऐतिहासिक उपन्यास भइकन पनि यो उपन्यास निरसचाहिँ छैन । लेखनशैली परम्परागत नै भए पनि सुरुचिपूर्ण प्रस्तुतिले गर्दा पाठकले रुचिपूर्वक नै यो उपन्यास पढ्नेमा विश्वस्त हुन सकिन्छ ।
उपन्यास बृहत् आकारको छ । ५३ अध्यायमा विभाजित यो उपन्यासमा धेरै घटना जोडिएका छन् । यद्यपि, मूलकथा र मूलघटनाचाहिँ युवराज मलेवमको बिहे र पहिल्यै युवराज घोषित मलेवम र कान्छी महारानीपट्टिकी राजकुमार भद्रिवममध्ये को पर्वतराज्यको राजगद्दीको उत्तराधिकारी हुने भन्ने विषयमा केन्द्रित छ ।
उपन्यासमा वर्णित कथानुसार महाराज घनश्यामका दुईवटी रानी हुन्छन्– रानी गुलवदन र रानी जयन्ति । रानी जयन्तिको यसअघि नै देहावसान भइसकेको हुन्छ । जेठी महारानी गुलवदनका तर्फबाट मलेवमको जन्म भएको हुन्छ भने जयन्तिका तर्फबाट भद्रिवमको । गर्भको हिसाबमा भद्रिवम जेठो भए पनि जन्मका हिसाबले मलेवम जेठा हुन्छन् । किनभने मलेवमको जन्म सात महिनामै हुन्छ । राजपरम्पराअनुसार जन्मले जेठो भएको हुँदा मलेवमलाई नै युवराज घोषित गरिएको हुन्छ । तर भद्रिवमको पर्वत दरवार प्रवेशपछि पर्वतको राजगद्दीमा कसको हक लाग्छ भन्ने विषयले प्रवेश पाउँछ । जुम्लाका महाराज पृथ्वीपति शाहीको आकाङ्क्षाअनुसार भद्रिवमलाई राजगद्दीको हकदार बनाउनुपर्ने सन्देश बोकेर जुम्ली दरबारका दूत कमल जैसी आउँछन् । राजकुमार भद्रिवमलाई पनि यही कुरा सिकाएर पठाइएको हुन्छ । यही विषय पर्वत दरबारमा बहस र चिन्ताको विषय बन्छ । अन्ततः पर्वतराज्यलाई विखण्डन हुन नदिनका लागि मलेवमलाई राजगद्दीको हकदार ठह¥याइन्छ । तर भद्रिवमलाई पनि अन्यायको महसुस हुन नदिनका लागि इच्छानुसारको माग गर्ने अवसर दिइन्छ ।
भद्रिवमले दुइटा माग राख्छन्– जागिर र राजकुमारी विश्वप्रभा । यद्यपि, भद्रिवमले राजगद्दीमा आफ्नो हकदाबी कायमै राख्न विश्वप्रभालाई मोहरा मात्रै बनाउन खोजेका हुन् । उनकी जुम्लामा आफ्नी राजकुमारी नलिनी छिन् । भद्रिवमको मागले दरबारमा भुइँचालो नै आएजस्तो हुन्छ । युवराज मलेवम र राजकुमारी विश्वप्रभाव मर्माहत् हुन्छन् । तर पर्वतराज्यलाई विखण्डनबाट बचाउनका लागि धेरै सोचविचारपछि राजकुमारी विश्वप्रभा भद्रिवमसँग बिहे गर्न राजी हुन्छिन् । यो सुनेर भद्रिवम आफैं छक्क पर्छन् ।
बीचमा धेरै वटा सन्दर्भ र प्रसङ्गहरू आउँछन् । उपन्यासले गति त लिन्छ, तर निकै लामो । निकै मिहीन वर्णनले उपन्यास तन्किन पुगेको छ । तर लामो वर्णन भए पनि गन्थन भने छैन । सुरुचिपूर्ण वर्णन भएको हुँदा उपन्यास पठनमा पनि रुचिकरता कायमै रहन्छ । इतिहासलाई पनि सुरुचिपूर्ण ढङ्गमा वर्णन गरिनु उपन्यासको महत्वपूर्ण विशेषता मान्न सकिन्छ । उपन्यासमा प्रेम, त्याग, कर्तव्य र प्रारव्धको कथा छ ।
अन्ततः राजकुमारी विश्वप्रभाको बिहे भद्रिवमसँगै हुन्छ भने खाँचीकी राजकुमारी महलवसन्ताको चाहिँ मलेवमसँग बिहे हुन्छ । त्यसपछि मलेवमलाई राजतिलक दिएर महाराज घनश्याम काशीवास जान्छन् ।
अनिच्छित बिहेका कारण उता विश्वप्रभा दुःखी हुन्छिन् भने यता मलेवम पनि उस्तै दुःखी हुन्छन् । उनीहरूको स्वभाव र व्यवहारमा अस्वाभाविक परिवर्तन आउँछ । फेरि पनि धेरै घटना, सन्दर्भ र प्रसङ्गहरूहरू आउँछन् उपन्यासमा । पर्वत दरबारमा भएगरेका ऐतिहासिक घटनाहरूलाई दुरुस्तै प्रस्तुत गर्न उपन्यासकारले धेरै नै मेहनत गरेको देखिन्छ । मिहीन सन्दर्भ र प्रसङ्गहरूलाई पनि सविस्तार उपन्यासमा समावेश गरेर पाठकलाई अधिकभन्दा अधिक जानकारी दिने उद्देश्य लेखकको रहेजस्तो लाग्छ ।
पर्वत दरबारको राजगद्दीमा आफ्नो हक कायमै राख्न राजकुमारी विश्वप्रभालाई मोहरामात्रै बनाएका भद्रिवमले पर्वत दरवारमा आक्रमण गर्ने योजना बनाउँछन् । चतुर राजकुमारी विश्वप्रभाले यो योजनाको गन्ध पाउँछिन् । सिकार खेल्ने बहानामा भद्रिवम पर्वतमाथि आक्रमण गर्ने योजनामा लागिपरेको थाहा पाएर विश्वप्रभा चिन्तित हुन्छिन् । भद्रिवमले पर्वतमाथि आक्रमणको योजना बनाएको सन्देश विश्वप्रभाले पर्वत दरबारमा पठाउँछिन् । त्यसपछि पर्वत दरवारले पनि सम्भावित युद्धको तयारी गर्छ ।
मङ्सिरमा पर्वत दरबार सधैंझैं बेनीमा झर्नासाथ तीनतिरबाट आक्रमण गर्ने योजना बनाएका भद्रिवमको योजना पर्वत दरबार बेनीमा नझरेपछि असफल हुन्छ । बरु पर्वत दरबारले भद्रिवमको निवास ज्यामरुकमा आक्रमण गर्छ । जसमा भद्रिवम र कमल जैसी मारिन्छन् । उता भद्रिवमबाट पर्वत दरबारका दुई सेना पनि मारिन्छन् । विश्वप्रभा र उनकी सेविका रम्भा भने सुरक्षित पर्वत दरबारमा पु¥याइन्छन् ।
ज्यामरुक मिसन सफल भएको सूचना ढोलठाना दरबारमा पुग्छ । राज्यविस्तारका लागि आफ्नो भाइको हत्या गर्नुपर्ने परिस्थिति उपस्थित हुनेछ भन्ने कल्पना नगरेका महाराज मलेवमलाई अपराधबोध हुन्छ । उनले राजकुमारी विश्वप्रभासँग क्षमा माग्छन् । राजकुमारीले क्षमा पनि दिन्छिन् । तर अनिच्छित बिहे, पतिको मृत्यु, आफ्नो इच्छा, आकाङ्क्षा र प्रेमको वलिदानबाट निकै दुःखी भएकी विश्वप्रभामा थप निराशा उत्पन्न हुन थाल्छ । अन्ततः उनी मोह, मायाको सांसारिक बन्धनबाट मुक्त भएर सन्यासिनी जीवन बिताउने मनसाय राख्छिन् । यो अवस्थाको वर्णन निकै संवेदनशील छ । राजकुमारी विश्वप्रभा र उनकी सेविका रम्भाबीचको संवादले पाठकलाई द्रवित बनाउँछ, संवेदित बनाउँछ । आँखामा आँसु आउँछ ।
अन्ततः विश्वप्रभासँग सन्यासिनी बनेर बाबा योगेश्वर र गान्धारीमाताको पछि लागेर वृन्दावनतिर प्रस्थान गर्छिन् । तर यो कुराको पत्तो रम्भाबाहेक अरू कसैलाई हुँदैन । रम्भाले पनि हीरा निलेर आत्महत्या गर्छिन् ।
महारानी विश्वप्रभा बेपत्ता भएको दुई शताब्दीपछि कुरिलाखर्कस्थित राजभवन रहेको जमिन बेनीका तुलेबाँडा भनिने तुलबहादुर शाक्यको स्वामित्वमा आएपछि उनले उधौली र उभौलीमा गरिने गोठधूपको तिथिमा महारानीलाई पनि धूपधजा दिन थाले । गाइगोठको सुरक्षाको निमित्त महारानीको नाममा धूपधजा दिन सुरु गरेको त्यही चलनले महारानीलाई ‘देउती’ बनायो भन्ने लेखकको कथन छ । कालान्तरमा देउतीले ‘देवी भगवती’ को मान्यता पाउन थालिन् । पर्वत राज्यको अखण्डताको निमित्त सारा सर्वस्व बलिदान गर्ने धीरोदात्त विराङ्गना विश्वप्रभाले लोकबाट ‘देवी’ को सम्मान पाइन् । पुजिन थालिन् । आजयपर्यन्त पुजिँदैछिन् भनेर उपन्यासको अन्त्य गरिएको छ ।
अध्याय २३ देखि उपन्यासले नयाँ मोड लिन्छ । भद्रिवमलाई पर्वत दरवारको उत्तराधिकारी बनाउने खेलको सुरुवात यही अध्यायबाट हुन्छ । कमल जैसीले सुनाएको सन्देशले पर्वतलाई जरैदेखि हल्लाइदिन्छ । गद्दीका लागि दरबारमा हुने परम्परागत घात–प्रतिघातका खेलहरूको आभास यहीबाट हुन्छ । सबैभन्दा महत्वपूर्णचाहिँ अध्याय २८ लाग्छ । ‘आज पर्वत राज्यको सम्भावित राजा र भविष्यमा काजीको जिम्मेवारी लिनु पन्र्या तीनजना भलादमीहरूसँग एकै ठाउँमा भेला भइकन भलाकुसारी गन्र्या अवसर पाउँदा अत्यन्तै खुसी लाग्याको छ । यो दुर्लभ अवसरले भविष्यको कुनै महत्वपूर्ण कुराको सङ्केत ग¥याको पो हो कि जस्तो लाग्याको पनि छ । भोलि हुन्या कुराको अनुमान कसले आजै गर्न सक्छ र ?’ (पृष्ठ २०५)
लेखक स्वयम्ले स्वीकारेको सत्य के हो भने यो ऐतिहासिक उपन्यास हो । यो उपन्यासको पृष्ठभूमि इतिहास हो । तर कथानक सम्पूर्ण इतिहास भने होइन । समाजमा भनिँदै, सुनिँदै आएका लोककथन र किंवदन्तीहरूको तथ्यगत विश्लेषणको कोसिस यो उपन्यासमा गरिएको छ । सम्भावित सत्यतथ्यमा आधारित भएर गरिएको इतिहास पुनर्लेखनको अभ्यास पनि भनिएको छ यो उपन्यासलाई । उपन्यासको आधार इतिहास हो, तर कथा काल्पनिक हो । तैपनि अधिकांश घटनावली, पात्र र भाषा इतिहासबाट लिने कोसिस गरिएको छ । त्यसैले उपन्यासको कथानक पूर्ण इतिहास होइन र पूर्ण काल्पनिक पनि होइन ।
उपन्यासमा इतिहासको डिटेलिङ छ । तर त्यो डिटेलिङ झर्कोलाग्दो होइन, चाखलाग्दो छ । ऐतिहासिक उपन्यास भनिए पनि इतिहासको वर्चश्व होइन, औपन्यासिकताको सघनता छ । लेखकको बौद्धिक र कलात्मक क्षमता यो उपन्यासभरि पोखिएको छ । पाठकका लागि यो उपन्यास एउटा गतिलो खुराक हुनेछ । उपन्यास लेखनमा बहुतै मेहनत परेको देखिन्छ । इतिहासको गहन अध्ययन, खोजी र अनुसन्धानपछि मात्रै यो उपन्यास लेखिएको देखिन्छ । इतिहास र साहित्यको संयुक्त दस्तावेज बनेको छ यो उपन्यास । तत्कालीन अवस्थाको स्थानीय लवजसहितको भाषाको प्रयोगले उपन्यासलाई अझ रोचक, मीठासपूर्ण र ओजपूर्ण बनाएको छ ।
हामीले इतिहासका पानाहरूमा पढेका दरबारभित्रको घात–प्रतिघात, दाउपेच र छलकपटको आभास यो उपन्यासभित्र पनि हुन्छ । यहीँबाट उपन्यास अझै चाखलाग्दो बन्दै जान्छ । यति लामो उपन्यासलाई कतै पनि अत्यास नलाग्ने गरी शृङ्खलावद्धरूपमा वर्णन गरिएकाले पाठकहरू कतै पनि अलमलिने छैनन् ।
ऐतिहासिक उपन्यासमा साहित्यिक वर्णन लोभलाग्दो छ, जस्तैः ‘चिसोमा उन्मत्त बैंस चढेको थियो ।’ (पृष्ठ ८४) ‘मेरा घर रित्तो, उनको मन रित्तो ।’ (पृष्ठ ११८) कतिपय स्थानीय शब्दहरू भने सर्वसाधारण पाठकलाई बुझ्न कठिन हुने खालका छन् । जस्तैः लोस, सिर्तो, घोक, कल्लियो, पुँडो, रोचे, जारीखत, चास, टङ्चिनु, तेर्पाएँ, राजयक्ष्मा, पिताम, छेलो, पैडो, खुइनो, राम्यरुम्मे, विज्र्या, ढोटे, मर्लक्क, साखुम, खतुकी आदि । इतिहासलाई साहित्य बनाउनसक्नु उपन्यासकार चन्द्रप्रकाश बानियाँको खुबी हो । उपन्यासहरूको भीडमा मिसिन आएको यो एउटा अलग्गै कृति लाग्छ ।
० ० ०
पुस्तक    ः महारानी
विधा    ः उपन्यास
लेखक    ः चन्द्रप्रकाश बानियाँ
प्रकाशक    ः शिखा बुक्स
संस्करण    ः पहिलो, २०७६ पुस
पृष्ठ    ः ३६७
मूल्य    ः रु. ४५० – (व्यक्तिगत)
रु. ७५० ÷– (संस्थागत)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology