`

कोरोना भाइरसको पोखरा प्रभाव : होटलदेखि सडकमा विदेशी रित्तिए

पोखरा,२९ माघ – ‘गोरा देखे पनि अहिले त रहरै लाग्न थालि सक्यो, अस्ति १५ जना आएका थिए हाम्रोमा’, बिजिबी रिसोर्टका सञ्चालक ज्याक तामाङले भने,‘ग्रुपमा आएका थिए हेरिरम् जस्तो लाग्यो ।’
छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि पोखरा यतिबेला सुनसान छ । अरु बेला विदेशी पर्यटकको आवागमनले सधँै भरिभराउ देखिने लेकसाइड यतिबेला खालि देखिन्छ ।
आन्तरिक पर्यटकको आवागमनमा कमी नआए पनि विदेशी पर्यटकहरुको ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन् । फाट्टफुट्ट बाहेक विदेशी पर्यटहरु आउन छाडेको पर्यटन व्यवसायीहरु गुनासो गर्छन् ।‘गोराहरु आउँन त ठप्प भयो’, पर्यटन व्यवसायी तामाङले भने,‘२÷३ जनाको ग्रुप देख्यो भने रहरै लागेर आउँछ ।’
चिनियाँहरुको मुख्य चाड ‘लोहार फेस्टिभल’को मुखैमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको व्यवसायीहरु बताउँछन् ।
पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार यतिबेला चिनियाँ पर्यटकको आवागमन ठप्प छ । फेस्टिभलको छेको पारेर नेपाल आउने पर्यटकको संख्या कोरोना भाइरसको कारण रोकिएका छन् । ‘चिनियाँहरुको जुन फेटिभल थियो लोहार फेस्टिभल’ उनले भने’,यो सिजन अलि लो नै हो उनीहरुको चाडमा नेपाल आउँने पर्यटक बढ्दै थिए । भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरुको बुकिङ बढ्दै थियो ।’
नेपाल आउँने चिनियाँ पर्यटकको संख्या लगभग डेढ लाख प्रति वर्षको हाराहारीमा रहेको उनले सुनाए । नेपाल आउन चिनियाँ पर्यटकले गराएका धेरै जसो बुकिङ रद्ध भइसकेको उनले बताए ।‘यो सिजनमा पोखरामा ३५ देखि ४० प्रतिशत पर्यटक हुनुपर्ने हो,’ उनले भने, ‘त्यसमा पनि २५ प्रतिशत चिनियाँ हुनुपर्ने हो । अहिले एकदमै न्युन छ ।’
यता, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल कोरोना भाइरसका कारण पोखरामा आत्तिन पर्ने अवस्था नभएको बताउँछन् ।‘विश्वव्यापी रुपमा प्रभाव नेपालमा नपर्ने भन्ने होइन’, उनले भने, ‘तर, कोरोना भाइरसको कारण हामी आत्तिनु पर्ने । कोरोनाको संक्रमण भएको व्यक्ति कोही पनि पोखरा र नेपालमै भेटिएको छैन ।’
कोरोना भाइरसको संक्रमणबाट पोखरा सुरक्षित ठाउँ रहेको समेत उनले जिकिर गरे । पोखरा घुम्न आउँने पर्यटकको लागि ढुक्क भएर आउँन समेत उनले आग्रह गरेका छन् ।
‘आजसम्म पोखरामा कोरोना भाइरसबाट इफेक्टेड मान्छे कोही पनि भेटिएको छैन’,उनले भने,‘कोही आइहाल्यो, भेटिइहाल्यो भने पनि त्यसको जोगिनको लागि नीजि क्षेत्र र सरकारी तवरबाट पनि आवश्यक समन्वय र अन्य तयारीहरु अगाडि बढाई रहेका छौं ।’प्रकोपको रुपमा विश्वव्यापी रुपमा फेलिई रहेको कोरोना भाइरसका कारण चिनमा मात्रै ३ सय बढीले ज्यान गुमाई सकेका छन् ।
चीनमा देखिएको नोबल कोरोना भाइरसको प्रभाव निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा पनि परेको छ । कोरोना भाइरसका कारण चीनबाट आउनु पर्ने १ सय कामदार चीनमै रोकिएको विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार नयाँ वर्ष मनाउँन गएका ४० कामदारमध्ये २० जना फर्कि सकेका छन् । बाँकी २० को कार्यअवधि सकिए पनि आउनु पर्ने २० र थप सय जना कामदार कोरोना भाइरसकै कारण रोकिएको उनले जानकारी दिए ।
यद्यपि, कोरोना भाइरसको कारण निर्माण कार्यमा कुनै प्रभाव नपरेको उनी दाबी गर्छन् । तामझामका साथ भ्रमण वर्ष– २०२० को उद्घाटन गरी २० लाख पर्यटक मिœयाउने महत्वकाक्षीं योजना पनि सफल हुने नहुनेमा कोरोना भाइरसको कारण संशय उत्पन्न गराएको छ । यद्यपि, पर्यटन व्यवसायमा कोरोना भाइरसको प्रभाव परे पनि भ्रमण वर्ष २०२० नै असफल हुन्छ भन्ने पक्षमा सरोकारवाला निकाय छैन ।
भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सह—संयोजक अग्नि कँडेलले कोरोना भाइरसको कारण पर्यटन व्यवसायमा केही असर परे पनि भ्रमण वर्ष नै असफल भयो भनेर भन्न नमिल्ने बताउँछन् । ‘थोरै असर त परेको छ’, उनले भने,‘‘तर, भिजिट २०२० नै असफल भयो भनेर भन्न मिल्दैन । किनभने यो राष्ट्रिय कार्यक्रम हो, विपत्तिहरु त अननोइङलि आइरहन्छन् । तर, यसलाई आधार बनाएर भिजिट २०२० असफल भयो भनेर भन्न मिल्दैन, यो सत्य पनि होइन ।’
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पछिल्लो ५ दिनमा दिनमा पोखराबाट भित्रिनेभन्दा बाहिरीने पर्यटकको संख्या बढेको छ । उनका अनुसार सन् २०१९ को जनवरी महिनामा हवाई रुटको प्रयोग गरेर पोखरा भित्रिने विदेशी पर्यटकको संख्या ५ हजार २ सय ७१ र बाहिरीनेको संख्या ७ हजार ६ सय ८४ रहेको थियो भने सन् २०२० को जनवरीमा ४ हजार ८ सय ३५ पर्यटक हवाई रुटको प्रयोग गरेर पोखरा भित्रिएका छन् । यस्तै ८ हजार ४ सय २१ जना पर्यटक पोखराबाट बाहिरिएका छन् ।
‘यसरी तुलना गरेरहेर्दा जाने बढेको आउँने घटेको देखिन्छ’, उनले भने । पछिल्लो पाँच दिन अघिसम्म पोखराबाट हवाई रुट प्रयोग गरेर बाहिरीने १ हजार ११ यात्रुमध्ये ३ सय २५ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । जनवारी ३१ सम्मको तथ्यांक अनुसार विमानस्थलबाट बाहिरीने विदेशी यात्रु बढेर ४० प्रतिशत पुगेको उनले बताए ।
हवाई रुट प्रयोग गरेर पोखराबाट बाहिरीने पर्यटकको मात्रा हेर्दा ३५ प्रतिशत पुगे पनि पछिल्लो पाँच दिनमा भित्रिनेको संख्या औसतमा १७ प्रतिशतमा झरेको छ । ‘यसले पनि के देखाउँछ भने बाहिरिने पर्यटकको संख्या बढी रहेको छ, आउँनेको घटेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology