`

जेठोबूढोलाई अनुदान र रैथाने बाली संरक्षण

पोखरा महानगरपालिकाले जेठोबूढो धान उत्पादक किसानहरुलाई अनुदान दिएको छ । महानगरले एक रोपनीमा ५० किलोग्राम धान उत्पादन गर्नेलाई ९० रुपैयाँका दरले अनुदान दिएको हो । पोखराको चिनारी बनेको मगमग बास्ना आउने जेठोबूढो धानको प्रवद्र्धन र संरक्षणको लागि यो कदम चालिएको हो । महानगरले यो वर्ष ५ लाख ४० हजार ४ सय ३० रुपैयाँ अनुदान दिइएको जनाएको छ । १ हजार ८ सय २९ रोपनी क्षेत्रफलमा जेठोबूढो धान लगाइएको आधारमा यो अनुदान दिइएको हो । पोखरामा करिब ११ हजार २ सय हेक्टरमा धान खेती गरिन्छ । तर, पछिल्लो समय बढी उत्पादन दिने हाइब्रिड धान लगाउने प्रचलनले गर्दा पोखरेली जेठोबूढो नासिँदै गएको छ । जेठोबूढोमा अन्य जातको बीउ मिसिँदा यसको गुणस्तरमा पनि ह्रास आएको छ । केही समयअघिसम्म जेठोबूढोको भात पकाउँदा टोलभर मगमग बास्ना आउँथ्यो । तर, अहिले त्यस्तो छैन । यद्यपी, जेठोबूढोप्रतिको मोह भने अझैसम्म मरेको छैन ।
पछिल्ला दिनहरुमा पोखरामा खेतीयोग्य जमिन मासिँदै गएको छ । हेर्दाहेर्दै लहलह जेठोबूढो फल्ने फाँटहरु क्रंक्रिटको जंगल बनेका छन् । जमिन नासिँदा यसको असर उत्पादनमा पर्ने नै भयो । जेठोबूढोले कम उत्पादन हुनुको प्रमुख कारण यही हो । अर्कोतर्फ बढी उत्पादन दिने हाइब्रिण्ड धानहरुले पनि यसलाई बिस्थापित गर्दै लगेको छ । यस्तो अवस्थामा पोखरेली नाम जोडिएको जेठोबूढोको संरक्षणमा महानगरले देखाएको तदारुकता सह्रानीय छ । महानगरले धानलाई अनुदान दिएर मात्रै पुग्दैन,गुणस्तरीय बीउ उत्पादन तथा शुद्धिकरणतर्फ पनि ध्यान दिनुपर्छ । बजारमा अत्यधिक माग भएको यो धानबाट बढी लाभ लिन सकिन्छ भन्ने सन्देश फैलाउनुपर्छ । आवश्यक परे किसानबाट उचित मूल्यमा धान किन्नुपर्छ । विश्वरभर नै रैथाने बाली संरक्षण चुनौति बनेको बेला पोखरा र धानको ब्राण्डिङको अभियान प्रभावकारी बनाउन किसानहरुसँग हातेमालो गर्नुपर्छ ।
विज्ञान र प्रविधिको विकासले रैथाने बालीहरु संकटमा परेका छन् । हाम्रै पुस्ताले देखेका र खाएका केही खाद्यान्नहरु अहिले रोप्न नै छाडिएको छ । स्वास्थ्यको लागि लाभदायक ती रैथानै बालीको बीउ नै मासिने अवस्था सृजना भएको छ । रैथाने बालीहरुले त्यहाँको हावापानी सहन सक्छन् । रोग प्रतिरोधात्मक क्षमता पनि ती बालीहरुका बढी हुन्छ । तर, बाहिरबाट ल्याइएका हाइब्रिड बालीमा त्यो क्षमता रहँदैन । अर्कोतर्फ हरेक वर्ष बीउमा पनि परनिर्भर बन्नुपर्छ । गएको वर्षमात्रै हाइब्रिड धान लगाएका किसानहरुले बाला नै नलाग्ने समस्या भोगे । मकैमा पनि त्यो रोग देखिएकै हो । बीउमा पनि परनिर्भर बनाउने र आफ्नो व्यापार बढाउने अन्तर्राष्ट्रिय कम्पनीहरुको चपेटामा नेपाल पनि परिसकेको छ । विरोधका बाबजुद पनि ती कम्पनीहरुले नेपाली रैथाने बीउ नष्टगरि आफ्नो प्रभुत्व स्थापनाको पहल गरिसकेका छन् । नेपालमा उत्पादन हुने धेरै अन्नको प्रतिलिपी अधिकार उनीहरुको हातमा गइसकेको छ । अब यो क्रम रोकिनुपर्छ । आफ्नै देशका रैथाने बालीको संरक्षण गर्दै ती बालीहरुको प्रतिलिपी अधिकार संरक्षणमा पनि जोड दिनुपर्ने भएको छ । कृषि अनुसन्धानमा बढी लगानी गर्दै उत्पादकत्व बढाउनुपर्ने भएको छ । उत्पादकत्व बढेमात्र देश आत्मनिर्भर बन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology