`

उहिलेको पोखरा !

  • ‘उहिलेको पोखरा कस्तो थियो ?’ यहाँ पुगेपछि उत्तर पाइन्छ ।
  • पोखरा,१ फागुन – उहिलेको पोखरा कस्तो थियो ? ‘पोखरा’ शब्द सुन्ने वित्तिकै जो कोहीको मनमा उब्जिने प्रश्न हो यो ।उहिलेको पोखरा अहिलेजस्तो सुविधासम्पन्न थिएन । दैनिक प्रयोजनका सामान गोरुगाडामा ओसारपसार हुन्थे । बस हेर्नै भनेर घन्टौँ कुरि बस्थे मान्छेहरु । दिनमा एक, दुई वटामात्र बस आउँथे, त्यो पनि कहिलेकाहिँ ।
    मान्छेहरु बसकै पछि कुद्थे । अहिलेजस्तो सवारी छ्यापछ्याप्ती कहाँ पाउनु ! अहिलेजस्तो चिल्ला सडक कहाँ हुनु ? पछि, ९ नम्बरे ढ्वाङ चल्तीमा आयो । त्यसैमा मान्छेहरु आउजाउ गर्न थाले ।

    पर्वत, म्याग्दी, बेनी, मुस्ताङसम्मको ब्यापार ट्रान्जिट थिए । भैरव टोल र गणेश टोल । जुन अहिले शून्य–शून्य छन् । अहिलेको व्यस्त बजारमध्येको नयाँबजार, महेन्द्रपुल, न्यूरोड, पृथ्वीचोकमा त बस्ती नै थिएन ।

    आजभन्दा ५० वर्ष पहिले पोखराको मुटु भनिने महेन्द्रपुलमा बाँसको पुल भएर वारपार गर्थे मान्छेहरु । फेवातालबीचको तालबाराही मन्दिर त हिँडेरै पुगिन्थ्यो । अहिले डुंगा चढेरै पनि करिब १० मिनेट लाग्छ ।

    दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको जहाज त्यतिबेला तेस्रो मुलकलाई उपहारमा थिइएको थियो । नेपालले पनि पाएको थियो । उपहारमा पाएको त्यही विमान ‘रोयल नेपाल एअर’ले पोखरादेखि चितवनसम्म उडान भथ्र्यो । झ्यालतिर सिट भएको विमानको बीचको खाली ठाउँ हुन्थ्यो । जहाँ सामान राखिन्थ्यो । पोखराका व्यापारी चितवनसम्म झर्थे व्यापार गर्न ।

    पोखराको भैरव टोलमा अवस्थित ‘उहिलेको पोखरा’ फोटो ग्यालरीभित्र छिरिसकेपछि देखिने दृश्य हुन् यी । झट्ट हेर्दा पत्याउँनै गाह्रो पर्ने खालका छन् यी श्यामश्वेत तस्बिर । उहिलेको पोखराका यस्ता थुप्रै इतिहास छन् ग्यालरीमा । ग्यालरीले उहिलेको पोखराको स्वरुप जिवितै राखेको छ । ‘उहिलेको पोखरा कस्तो थियो ?’ यहाँ पुगेपछि उत्तर पाइन्छ ।

    यसरी उहिलेको पोखरालाई जिवन्त राख्ने अभियन्ता हुन् सुनिल उलक । जसले उहिलेको पोखरा कस्तो थियो ? भन्ने अहिले देखाउँछन् । पुरानो पोखराको स्वरुपलाई समेटेर उनैले फोटो ग्यालरी खोलेका हुन् ।

    ०००
    ‘बुबा पोखराको पहिलो फोटोग्राफर । बुबाले खिचेको फोटो टेबलभरी– कोठाभरी जताततै हुन्थे’ चस्मा फुकाल्दै सुनिलले आफ्ना बुबा सम्झिए । सुनिलमा फोटोको रहन सानैदेखि थियो । सुनिलका बुबा जगन्नाथ उलक पोखराको पहिलो व्यवसायिक फोटोग्राफरको रुपमा चिनिन्छन् । सुनिलका बुबाले २०१३ मा पोखराको भैरव टोलमा पहिलो पटक ‘नवीन फोटो स्टुडियो’ खोलेर व्यवसायिक फोटोग्राफी सुरु गरेका थिए । सुनिलले पनि कालान्तरमा बुबाकै सिको गरे । बुबा झै व्यवसायिक फोटाग्राफर त होइनन् सुनिल । तर, आफू पुग्न भ्याएका ठाउँलाई क्यामेरामा कैद गर्न भने छाड्दैनन् ।

    ‘त्यही फोटोसँग खेल्दा खेल्दै हुक्यौँ’ सुनिलले थप्दै गए । कमसेकम बुबाले खिचेका फोटो सम्हाल्नुपर्छ है भन्ने सोच आयो । बुबाका फोटो सम्हालेर राख्यौं । सुनिल भन्दै थिए, ‘यही क्रममा बुबाको फोटोसँगै अरु फोटो पनि थप्ने अवसर पायौँ, विदेशी साथीहरुले पनि फोटो पठाउन थाल्नु भयो ।’

    फोटो बढ्दै गएपछि घरमा राखेर मात्रै भएन, कहिँ न कहिँ डिस्प्ले गनुपर्छ भन्ने सोच आयो । पब्लिकलाई देखाउनुपर्छ भन्ने सोच आयो । उनी भन्छन्, ‘यसरी ग्यालरी खोल्यौँ ।’

    ग्यालरी खोल्न धेरैसँग सल्लाह गर्यौ । ‘पोखरा म्युजियम’मा राख्ने कि भनेर पनि सोच्यौं । ‘माउन्टेन म्युजियम’मा राख्ने कि भनेर पनि सोच्यौं । सुनिलले ग्यालरी खोल्दाका सुरुवाती दिन सम्झिए ।

    ‘सबैले स्पेसको कमी भएको, सबै जिम्मा मैले नै लिनुपर्ने जस्ता कुरा सुनाउँनु भयो’ उनले भने, ‘पछि सबै जिम्मा आफैँले लिनुपर्ने खर्च पनि आफैं व्यहोर्नुपर्ने भएपछि आफैँले ग्यालरी किन नखोलौ भन्ने सोचाइ आयो । आफ्नै ठाउँमा किन नखोलौं भन्ने सोचाइ आयो ।’

    सोचाई त आयो । तर, पूरा गर्ने कसरी ?
    सुनिल धरमरमा थिए । अचानक उनलाई पोखराका प्रतिष्ठित व्यक्ति आनन्दराज मुल्मीको फोन आयो । मुल्मीले ग्यालरी खोल्नका लागि ठाउँ दिने सुनाए ।

    सुनिललाई ढुंगा खोज्दा देउतै मिलेजस्तो भयो । ‘मलाई आँट चाहिएको थियो । त्यो उहाँले दिनुभयो, स्पेस उपलब्ध गर्नासाथ मलाई ठूलो हौसला मिल्यो’, यसो भनिरहँदा सुनिलको मुहार चम्कियो ।

    ग्यालरी खोलेको अहिले १ वर्ष पुगिसक्यो । योजना भने दशौँ वर्ष पहिलेको । सुनिलका बुबाले वर्षौँ व्यवसायिक फोटोग्राफी गरे । सुनिल भने त्यो पेशामा लागेनन् । तर, बुबाले खिचेका फोटो जोगाएर राखेका छन् । फोटो मात्रै होइन बुबाले प्रयोग गरेका सबै चिज जोगाएर राखेका छन् । बुबाले खिच्ने गरेका पुराना क्यामेरा, रिल अझै सुरक्षित छन् ।

    ०००

    फोटो कथा हो । आज खिचेका फोटो भोलि कथा बन्छन् । कथा मात्र बन्दैनन् । कालान्तरमा इतिहासै बन्छन् । तर, फोटोको महत्व नेपालीहरुले खासै नबुझेको उनको बुझाइ छ । अहिले पनि ग्यालरीमा पुग्ने धेरै विदेशी नै छन् । नेपालीले भन्दा विदेशीले नै बढी फोटो चाख दिएर हेर्छन् ।

    ग्यालरीले उहिलेको पोखराको बाल्यकाल, जीवनस्तर, यातायात, स्कुल, मुख्य–मुख्य ठाउँलाई समेटेको छ । श्यामश्वेत चौपारीमा इशारा गर्दै सुनिल भन्छन्, ‘पहिला पहिला यसरी मान्छेहरु चौपारीमा बसेर गफ गर्थे । अहिले कति घरले खाए । कति नगरपालिकाले । दुःख लाग्छ ।’

    ग्यालरीमा सयौं श्यामश्वेत फोटो छन् । ती सबै फोटो जगन्नाथले खिचेका मात्रै होइनन् । ग्यालरीमा सन् १९६२ मा नेपाल आउँने अमेरिकन समाजसेवी र सन् १९६८ मा जापानबाट आएका वैज्ञानिकहरुले दिएका फोटो पनि समावेश छन् ।

    फोटो लिन चाहनेले फोटो पनि किन्न पाउँछन् ग्यालरीबाट । फोटो व्यापारिक प्रयोजनका लागि भने बिक्री नगर्ने सुनिल सुनाउँछन् । पुराना दुर्लभ भिडियो पनि डकुमेन्ट्री बनाएर ग्यालरीमा देखाइन्छ ।
    ०००

    विभिन्न विदेशी संघ संस्थासँग सम्पर्क पनि भइरहन्छ सुनिलको । उनलाई सम्पर्क गरेरै पनि ग्यालरी हेर्न आइपुग्छन् कति त । ‘विदेशीसँग सिधा सम्पर्क भइसकेपछि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न खोजेको पनि थियौँ’, सुनिल भन्छन्, ‘अनुरोध पनि ग¥यौँ । लेकसाइडका पर्यटक व्यवसायी र टुरिजमसँग सम्बन्धित व्यक्तिलाई एक पटक अवलोकन गराऔँ भनेका थियाँ । यसलाई कसरी अघि लैजान सकिन्छ भनेर पर्यटन व्यवसायीसँग छलफल पनि गर्न खोज्यौँ ।’

    ‘उहाँहरुको बेफुर्सदी नै होला ! अहिलेसम्म समय मिलिरहेको छैन’, सुनिल अगाडि सुनाउँदै थिए, ‘अझै पनि म अनुरोध गर्न चाहन्छु । मिनिस्टर लेभलदेखि सबै मिलेर अघि लैजानु आवश्यक छ ।’ ग्यालरीलाई प्रवर्द्धन गर्दै लैजान सके पर्यटन विस्तारमा पनि थप टेवा पुग्ने सुनिलको मत छ ।

    केही समय अघि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ ग्यालरी अवलोकन गर्न पुगेका थिए । त्यतिबेला सहयोग गर्ने प्रतिबद्धता पनि दिए । तर, अहिले अनदेखा गरेको सुनिल गुनासो गर्छन् ।

    पोखरा महानगरका मेयर मानबहादुर जीसीले त संग्रहालय नै बनाएर लैजाने बताएका थिए । ग्यालरीको उद्घाटन गर्दा । अहिले भने सामसुम छन् ।

    ग्यालरी स्थापना गर्न १० लाखको लगानी लागेको सुनिल सुनाउँछन् । ग्यालरी अवलोकन गर्न चाहने विदेशीलाई रु १ सय लाग्छ भने नेपालीलाई रु ५० । सुनिलका बुबा जगन्नाथ उलकको स्मृति कोषबाट ग्यालरी सञ्चालन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology