`

अन्तर जिल्ला क्रिकेट लिगमा कास्कीको विजयी सुरुवात

पोखरा,१ माघ – पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा कास्की ‘ए’ ले स्याङ्जामाथि ७ रनले विजयी भएको हो । टस जितेर व्याटिङ्ग रोजेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ३६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सिबेन श्रेष्ठले ३० रन, आदित्य थापाले २४ र सुवास पौडेलले १३ बनाए । स्याङजाको बलिङमा सन्दिप पराजुलीले ४, किरण भट्टराईले ३ तथा सुजन गौतम र जनम भट्टराईले समान एक एक विकेट लिए ।
जितका लागि १ सय २८ को लक्ष्य सहित मैदान उत्रिएको स्याङजा ३४.३ ओभरमा १ सय २० रनमै समेटियो । स्याङजाको तर्फबाट सौजन्य रेग्मीले ३५, सुजन गौतमले २० तथा संदेश पंगेनी र राम खनालले १०÷१० रन जोडे । कास्कीको बलिङमा आदित्य थापाले ४, रोशनकान्त न्यौपानेले ३ तथा किरण पौडेलले २ विकेट लिए । खेलमा कास्कीका आदिप्य थापा म्यान अफ द म्याच भएका थिए । प्रतियोगिता अन्तर्गत बिहीबार बागलुङ र स्याङजाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहेको छ । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शीर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्नेछ । च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफी प्रदान गरिने छ ।
यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि प्रजुले नेपालमा क्रिकेट छोटो समयमै लोकप्रिय बनेको उल्लेख गरे आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका उपाध्यक्ष सन्तोष श्रेष्ठ, कास्की जिल्ला क्रिकेट संघका सदस्य कृष्ण चन्द, प्रतियोगिता संयोजक चन्द्र गुरुङ, प्रशिक्षक रिजन प्रजु, गण्डकी प्रदेश क्रिकेट टिमका कप्तान गोविन्द प्रधान, पिच क्युरेटर प्रदिप राउत लगायतले यहाँको क्रिकेट अवस्थाका बारेमा प्रकास पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology