`

दिल्लीका जनताको सन्देश

साथी फेर्न सकिन्छ, छिमेकी सकिँदैन । नेपालको लागि मित्रराष्ट्र भारत र चीन फेर्न नसक्ने छिमेकी हुन् । यी दुबै देशमा हुने घटनाक्रमले नेपालमा थोरबहुत प्रभाव पारेकै हु्न्छ । अझ, भाषा, संस्कृति, रोजगार तथा व्यापारको दृष्टिले पनि नेपालमा भारतीय प्रभाव बढी नै छ । लाखौँ नेपाली भारतमा रोजगारी गर्छन् । मधेशसँग भारतको रोटीबेटीको सम्बन्ध छ । भारतीय सेनामा होस् कि औपचारिक र अनौपचारिक श्रमबजार,भारतसँग आश्रित हुनेको संख्या ठूलो छ । र, यही भारतको राजधानी दिल्लीमा यतिबेला ‘वैकल्पिक शक्ति’को रुपमा उदाएको आम आदमी पार्टीले पुनः सरकार बनाउने भएको छ । दिल्ली विधानसभाको चुनावमा सो पार्टीले ७० मध्ये ६२ सिटमा जित हाँसिल गरेको छ । केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टीले ८ सिटमा चित्त बुझाउनु परेको छ भने प्रम्ख प्रतिपक्षी कांग्रेस आइलाई जनताले वहिष्कृत गरिदिएका छन् । अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सरिक भएका अरविन्द केजरीवालले सन् २०१२ मा आम आदमी पार्टी स्थापना गरेका थिए । भ्रष्टाचारलाई निर्मूल पार्न संस्थापन नै बन्नुपर्ने र सत्ताबाटै त्यो सम्भव हुनेभन्दै केजरीवालले पार्टी गठन गरे । पार्टीले यसअघिको चुनावमा पनि प्रचण्ड बहुमत हाँसिल ग¥यो । सन् २०१५ को चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । दिल्लीका गरीब जनतालाई लक्षित गर्दै ल्याएका कार्यक्रमहरुकै कारण अरविन्द केजरीवाल नेतृत्वको पार्टीले दोस्रो पटक पनि सत्तामा जाने अवसर प्राप्त गरेको हो । बिजुली, पानी, शिक्षा, फोहर व्यवस्थापनजस्ता साना तर जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु ल्याएकै कारण आम आदमी पार्टीलाई जनताले पत्याएका हुन् । भारतीय जनता पार्टीले अपनाएको ‘घृणाको राजनीति’ लाई जनताले अस्वीकार गरेको भनिए पनि मूलतः दिल्लीको यो जीत असल कामको जित नै हो । जनता विकास चाहन्छन् । उनीहरुलाई ठूला सपना देखाउनेभन्दा पनि साना कामले प्रभावित गर्न सकिन्छ । दिल्लीमा भएको त्यही हो । केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टीले चुनावमा सपना देखाएको थियो । जनताले सपना अस्वीकृत गरिदिए ।उनीहरुले कामलाई मत दिए ।
भारतमा वैकल्पिक शक्तिको रुपमा उदाएको आम आदमी पार्टीबाट नेपालसहित विश्वका अन्य राजनीतिक दलहरुले पनि पाठ सिक्नुपर्छ । अझ, नेपालमा त वैकल्पिक शक्तिभन्दै, केजरीवालको सिकोगर्दै पार्टीहरु गठन भएका छन् । उनीहरुले परिवर्तनको नारा दिएका छन् । ती दलहरुले आम आदमीसँग सिक्नुपर्छ । मुख्य राजनीतिक दल भनिएकाहरुले त अझ बढी सिक्न जरुरी छ । जनता सानो कुरामा खुसी हु्न्छन् । आधारभूत आवश्यकता मानिएको शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीको व्यवस्थापन मात्रै भयो भने पनि जनता खुसी हुन्छन् । नेपालमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा व्यापारीकरण भएको छ । गरीबका छोराछोरी मेधावी नै भए पनि डाक्टर, इञ्जिनियर बन्ने बाटो रोकिएको छ । यसले आम मानिसमा निराशा उत्पन्न गराएको छ । नेपालका राजनीतिक दलहरुले यो विकृति अन्त्यको लागि तत्काल पहल थाल्नुपर्छ । जनता जनार्दन हुन् । उनीहरुलाई केही समय ढाँट्न सकिएला तर सधैँ आँखामा पट्टी लगाउन सम्भव छैन । उनीहरु जागेको दिन भ्रमहरु आफै खुल्दै जान्छन् । अहिले मूलधारका भनिएका राजनीतिक दलहरुलाई उनीहरुले नै पाखा लगाउँछन् । दिल्लीमा आम आदमी पार्टीको जितको सन्देश नै यही हो । दिल्लीबासीले दिएको ‘सपना नेदेखाऊ, काम गर’ भन्ने सन्देश कुनै दिन नेपालको लागि पनि लागू हुनसक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology