`

शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा परिवर्तन: उपाध्यक्ष गौतम

काठमाडौं, १ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताएका छन्। उनले अहिलेका सम्पूर्ण उपलब्धिको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दाबी गरे। जनआन्दोलन तथा जनयुद्धका सहिदको स्मृतिमा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन्।
उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीन सय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताए। जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उनले स्मरण गरे। ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए। सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो।’
उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार अनुचित भएको उनले प्रष्ट पारे। उनले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गरे।
‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो’, उनले भने, ‘वर्ग शत्रु खत्तम पार्ने लाइन गलत छ।’ २०३८÷०३९ सालमा पुगेर तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीले झापा विद्रोहमा ल्याएको वर्गशत्रु खत्तम पार्ने लाइन गलत थियो भनेर सच्याएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology