`

बोल्न सिक्दै आमाहरु

बागलुङ,२ फागुन – बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी हिरा थापा गाउँपालिकाको कार्यालय धाउन थालेको तीन दिन भयो । उनी दैनिक २ घण्टाको बाटो हिँडेर बिहान गाउँ कार्यपालिकाको कार्यालय रहेको सुदाला पुग्छीन भने बेलुका सोही बाटो घर फर्किन्छिन् । अझै एक÷दुई दिन उनको यो दैनिकी चल्ने छ । हिरा स्थानीय आमा समुहको नेतृत्वमा छिन् ।
आमा समुहको नेता हिराले यतिबेला गाउँपालिका कार्यालय धाउनु परेको हो । नेतृत्व विकास र बोल्ने कलाको सीप सिक्नकै लागि उनी गाउँपालिका कार्यालय धाईरहेकी छन् । कार्यालयको काममा ढिलाई भएर वा दिनदिनै काम परेर उनी त्यहाँ पुग्नु परेको होईन् । हिरा जस्तै बरेङ गाउँपालिकाका पाँच वडाका झण्डै ५० महिला केही दिन यता गाउँकार्यपालिकाको कार्यालयमा जम्मा भएर बोल्ने कला सिकिरहेका छन् ।
गाउँकार्यपालिकाले महिलामा नेतृत्व बिकास गराउने भन्दै उनीहरुलाई अनुशिक्षणको व्यवस्था मिलाएको छ । समुहमा होस अथवा सार्वजनिक कार्यक्रममा किन नहोस उठेपछि बोल्न नसक्ने समस्या झेल्दै आएका महिलाहरु बोल्ने कला सिकिरहेका छन् । ‘बोल्न मन लाउँछ तर उठेपछि बोल्छु भनेका सबै कुरा बिर्सिने रहेछ’ थापाले भनिन् ‘आफ्ना दिदीबहिनीको बीचमा बोल्दा समेत कठिन हुने भएकाले तालिम लिन आएकी हुँ ।’ उनीहरुले गाउँपालिकाले लगानी गरेर अनुशिक्षण गराएकोमा खुसी व्यक्त गर्दै प्रयोगात्मक अभ्यासका लागि समय धेरै दिनुपर्ने माग गरे ।
‘हामी यहाँ बोल्न सिकिरहेका छौं’ सहभागी बिष्णु खत्रीले भनिन् ‘यहाँबाट फर्केपछि बोल्न सजिलो बनाउन प्रयोगात्मक धेरै गराए हुने हो ।’ महिलाहरुको माग र चाहना अनुसारनै सबै वडामा गठित महिला तथा आमा समुहको सहभागिता हुने गरी गाउँपालिकाले अनुशिक्षणको व्यवस्था मिलाएको हो । समुहको नेतृत्वमा रहेका महिलाहरुले आँफैले गर्ने गरेका क्रियाकलाप र भावी योजनाका विषयमा छलफल गरिरहेका छन् । यो अनुशिक्षणमा सहभागि हुनका लागि घर परिवारको प्रबन्ध मिलाउनेदेखि आफ्ना दैनिक क्रियाकलापको व्यवस्थापन गरेर महिलाहरु तालिममा सहभागी भएका छन् ।
‘छोराछोरी विद्यालय पठाउनेदेखि घरको काममै दिन जान्थे, एक दुई दिन भएपनि बोल्न सिकम भनेर सबै मिलाएर यहाँआएका छौं’ थापाले भनिन् ‘नेता हुने काम कठिन त्यो भन्दा कठिन त नेता भएर बोल्न पो रहेछ ।’ उनीहरुले सधैं गर्ने गरेको काम भएपनि आधाभुत ज्ञानको अभावमा काम बिग्रिने गरेको भन्दै काममा सुधारका लागि तालिम उपयोगी भएको बताए ।
‘हामीले महिलाका लागि तालिम चलाईरहेका छौं, यो फलदायी हुन्छ’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्छन् ‘अब युवाका लागि पनि यस्तै तालिमको तयारीमा छौं ।’ मानव विकासको लागि समुह वा संगठन मजबुद हुनुपर्ने भन्दै सामाजिक विकासमा ध्यान दिएको उनले बताए । पूर्वाधार निर्माणका अलवा शैक्षिक र सामाजिक विकासको काम पनि सँगसँगै लैजानु पर्ने थापाको धारणा थियो ।
‘बोल्नकै लागि त किन सिक्नै पथ्र्यो र, आफ्ना कुरा राम्ररी राख्न नजानेर सिक्न परो’ सहभागी मिना थापाले भनिन् ‘बोल्न त सिक्नै पर्ने बिषय रहेछ ।’ अनुशिक्षणमा रेडियो परिवर्तन बुर्तिबाङका स्टेशन म्यानेजर रामनारायण सुवेदी, ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य र बिहानी एफएम बरेङका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology