`

कोरोना भाइरसविरुद्ध सचेतना : सडकैभरि, नेकपाका कार्यकर्ता !

  • जनता भन्छन : ‘पर्चा होइन, माक्स नै चाहियो’
  • पोखरा, २ चैत – चैते सक्रान्ति, शनिवारको दिन । त्यसो त शनिवारलाई सवैले आफ्नो साताभरीको विश्राम गर्ने दिनको रुपमा पनि लिने गर्दछन् । हुन पनि हो, हामी नेपालीलाई कहाँ सधै विश्राम गरिरहन मिल्छ र ! जस्तो सुकै काम होस सधै ब्यस्त भइरहने हाम्रो आफ्नै संस्कार पनि छ । यसैलाई नै विदेशीहरुले ‘ब्यस्त नेपाली कल्चर’ भनेर पनि टिप्पणी गर्ने गर्दछन बेलावखतमा । अझ समाजका अगुवा, राजनैतिक ब्यक्तित्व र सत्ताका वरपर रहेकालाई भेट्न त शनिवार झनै मुश्किल पर्ने गर्दछ । उनीहरुका महिनौदेखिका सेड्युल हुने गर्दछन । उनीहरुलाई भेट्न ‘उनीहरुकै सेड्युलमा’ कुद्नु पर्दछ सर्वसाधारण ! उनीहरुले नै बोलाएको ठाँउमा ।
    तर यसपटकको चैते सक्रान्तिको शनिवार भने फरक रुपमा आयो । प्रदेशका मुख्यमन्त्री, सांसद, स्थानीय सरकारका प्रमुख र जनप्रतिनिधीदेखि स्थानीय अगुवालाई सहजै रुपमा भेट्न पाए सवैले । त्यो पनि उनीहरुले बोलाएको ठाउँमा होइन, बजारका प्रमुख सडकमा ! उनीहरुलाई नमस्कार गर्दै होइन, उनीहरुले नै सर्वसाधारणलाई नमस्कार भन्दै सडकमा आए । सडकमा मात्रै आएका होइनन्, अहिले विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध कसरी लड्ने भनेर आममानिसलाई सुझाए । राष्ट्रिय समस्यामा कसरी एकतावद्ध भएर जुद्ने ? उपाय पनि सम्झाए, करिव करिव निर्वाचनको समयमा भोट माग्ने शैलीमा नै । स्थानीय पनि आफ्नै मन्त्री र नेतादेखि कार्यकर्तासम्मलाई बजारका चोकचोकमा सहजै भेट्न पाएपछि मख्खै ! उनीहरुका कुरा उत्साहका साथ सुने । सर्वसाधारण नागरिकले उनीहरुका कुरा उत्साहपूर्वक नसुनुन् पनि किन ? मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिसंग अघिपछि जस्तो कुनै राजनैतिक कुरा थिएनन् यसपटक । नत, चुनावको वेला जस्तो कुनै राजनैतिक पार्टीका मात्रै कुरा थिए । बजारका चोक चोकमा भेटिने सवैसंग थिए त बरु अहिले सवैतिर चर्चा पाएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण र यसबाट वच्ने उपायका कुरा । सवैका हातहातमा यसैका वारेमा लेखिएका पर्चा थिए । यसबाट बच्न उपाय सुझाइएका थिए । ज्वरो, रुघाखोकी, श्वासप्रश्वासका समस्या, यसबाट आफु र अरुलाई बचाउन ध्यान दिनुपर्ने कुराहरु सविस्तार गरिएको थियो । झट्टा हेर्दा बजारका सवै चोक र सडकहरु नेकपाका कार्यकर्ताले कब्जा गरेजस्तो लाग्थ्यो, सुनसान सडकमा कोरना भाइरस विरुद्धको सचेतना अभियान ।
    चैते सक्रान्तिको विहानै नेपाल कम्युनिष्ट (नेकपा) बागलुङले बजारको सडकबाट सुरु गरेको यो अयिभान दिउसोसम्म आइपुग्दा गण्डकी प्रदेशभित्रका सवै जिल्ला सदरमुकामका मुख्य बजार र सडकका गल्ली गल्लीमा पुगिसकेको थियो । अभियानमा प्रदेश राजधानी पोखराको मुख्य सडकमा थिए पार्टीका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । उनलाई साथ दिइरहेका थिए प्रदेश कमिटी सदस्य तथा सांसद राजिव पहारी र कास्की पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले ।
    उता, बागलुङ बजारका सडकमा नेतृत्व गर्दै थिइन, पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्माले । त्यसको अगुवाई पार्टीका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद इन्द्रलाल सापकोटाले नै गरेका थिए । साथमा थिए, नगरप्रमुख जनकराज पौडेल, प्रदेश कमिटीका सदस्य हिरावहादुर खत्री, जिल्ला सचिव ज्ञामनाथ गैरै लगायतका पार्टी नेता तथा कार्यकर्ताहरु ।
    पर्वतको कुश्मा बजारमा संघिय सांसद तथा पार्टी अध्यक्ष पदम गिरीको अगुवाईमा जुलुसै निस्क्यो । उनीहरुले वस्तीवस्ती र घरघरमा पुगेर नागरिकसंग भलाकुसारी मात्रै गरेनन्, सडकमा गुडीरहेका वस, गाडीलाई रोकेर भित्रै पुगी सीटमा रहेका यात्रु समेतलाई सचेतनाका कुराहरु सुनाए र पर्चा वितरण गरे । नेकपाले यो अभियानलाई ‘समृद्व नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ को नारालाई अगाडि सारेको छ ।
    यो सवैको मेसो मिलाएको थियो नेकपाले सञ्चालन गर्न लागेको ‘पार्टी एकता सुदृढीकरण तथा जनसमबन्ध विस्तार अभियान’ ले । ‘जनतासंगको समबन्धलाई अझ मजवुद बनाउने हाम्रो अभियान हो, बागलुङका पार्टी अध्यक्ष सापकोटाले भने, यसले हामीलाई जनतासंग झन निकटता बढाएको छ ।’ पार्टीका सवै नेता, कार्यकर्ता र सरकारका प्रमुखहरु नै सडकमा एकैसाथ आउदा कोरोना विरुद्धको सचेतना अभियानले पनि सार्थकता प्राप्त गरेको छ । आमसमस्यालाई हल गर्न पार्टी एकतावद्ध भएर लाग्नु पर्दछ भन्ने सन्देश दिन पनि यो अभियान सुरु गरिएको महिला नेतृ वलावती शर्माले वताइन । ‘यसलाई हामीले सरकारका कामसंग पनि जोडेका छौ’, शर्माले थपिन्, ‘कोरोना भाइरसविरुद्धको सचेतना अभियान र पार्टीसंगको जनसमबन्ध कायम गर्दै सुदृढ पार्टी निर्माणमा लाग्नेछौ ।’ सडकमा छ्यापछ्याप्ती भेटिएका नेतासंग जनताले पनि आफ्ना गुनासा खुलेरै राखे । कतै माक्स मागे त कतै जनतासंगको समबन्धलाई निरन्त्तरता दिन भने । कतिपय नागरिकले त तीनै तहका सरकारले आफ्नो ठाउँबाट राम्रो काम गरे वेलावेलामा आइपर्ने समस्या आफै हल हुने सल्लाह समेत सुझाए । बागलुङ बजारका ब्यवसायी कृष्ण प्रसाद पौडेलले भने, ‘जनचाहना अनुसार तिनै तहका सरकारले काम गर्नुपर्यो । यति सामान्य कुरा नेताहरुले किन नवुझेका होलान् ?’ नेताहरुप्रति उनको यो गुनासो थियो । पोखराका ब्यवसायी राम सुवेदीले त पर्चा होइन, माक्स नै वाढ्नु पर्ने वताए । उनले भने, ‘यी हाम्रा स्थानीय सरकार हुन्, यिनीहरुले त हामीलाई पर्चा होइन, माक्स नै बाढ्नु पर्दछ नि !’

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology